काठमाडाैं - नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन बोल्ने नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि भइरहेको आलोचनामाथि प्रश्न उठाएका छन् । बैठकमा बोल्ने क्रममा केही केन्द्रीय सदस्यले भण्डारीमाथि नेताहरूले लगाएको लाञ्छनामाथि प्रश्न उठाएका हुन् ।
एमालेको नवौँ केन्द्रीय कमिटी बैठकको दोस्रो दिन मंगलबार कोशी प्रदेशबाट नेतृत्व गर्ने केन्द्रीय सदस्यले धारणा राखेका थिए । कोशी प्रदेशका १९ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको बताइएको छ । अहिले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यले धारणा राखिरहेका छन् ।
केन्द्रीय कमिटी स्रोतका अनुसार नेताहरूले एमालेमा निषेधको राजनीति मौलाएको टिप्पणी पनि गरेका थिए । केन्द्रीय सदस्य युवराज बाँस्कोटाले एमालेले २०८४ मा राष्ट्रिय शक्ति हुने अपेक्षा राखे पनि नेताहरूमा निषेधको प्रवृत्ति मौलाएको भन्दै आलोचना गरे ।
बाँस्कोटाले पूर्वराष्ट्रपति विद्या भण्डारीप्रति लक्षित गर्दै उक्त धारणा राखेको एमाले स्रोतको भनाइ छ । उनले भण्डारीको आलोचना गर्ने नाममा उनीमाथि हिलो छयाप्ने र दुर्वाच्य बोल्नु गलत भएको धारणा राखेका थिए ।
भण्डारीले विगतमा अध्यक्ष र राष्ट्रपति मिलेर नै निर्णय लिने गरेकोले अब पनि मिलेर नै जानुपर्ने तर्क गरेकी थिइन् ।