काठमाडौं। मकवानपुरमा क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै महिला संघका नेतृहरु धर्ना बसेका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबारबाट मकवानपुर कांग्रेसकी सहसचिव इन्दिरा न्यौपानेको नेतृत्वमा धर्ना शुरु गरेका हुन्।
हजारभन्दा बढी क्रियाशील सदस्य रहेको मकवानपुर महिला संघमा थाहै नदिई ३ सयभन्दा कमकोमात्र नवीकरण गरेको भन्दै आफूहरु धर्ना बस्न बाध्य भएको न्यौपानेले बताइन्। '१४४२ पुराना क्रियाशील महिला संघमा
दुई तीन सय पनि नवीकरण गरिएको छैन,' मकवानपुर कांग्रेसको क्रियाशील छानबिन समिति संयोजक रहेकी न्यौपानेले भनिन्, 'महिला संघकी जिल्ला सभापति लक्ष्मी श्रेष्ठ पार्टीभन्दा माथि सर्वेसर्वो बनेर निर्णय गर्दा यस्तो भएको हो।'
उनले आइतबार हुन लागेको महिला संघको वडा अधिवेशनसमेत रोक्न माग गरिन्। 'क्षेत्रीय सभापति तारा कार्कीको रिन्यु गरेको छैन। नगर सभापति लक्ष्मी गौतमको पनि रिन्यु गरेको छैन। पार्टी विधि र पद्धतिमा चलेन,' न्यौपानेले भने, 'त्यसैले २२ गते वडाको चुनाव हुने भनेको छ। त्यो रोकियोस्।'
पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालेसमेत अवैधानिक कार्यमा साथ दिएको उनको आरोप रह्यो। 'कोटरी एउटा सहकारी छ। उहाँको कोटरीमा बसेर भरेको मात्र भरेका छन्। हामीलाई रोडमै पुर्याए,' उनले भनिन्।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मकवानपुर महिला संघको क्रियाशील सदस्यता विवाद चाँडै टुंगिने बताए। 'हामी चाहेजति क्रियाशील सदस्यता मिलाउँछौ। उहाँहरुले धर्ना छाड्नु भनिसकेका छौ,' पौडेलले भने। माग पुरा नभए सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठसमेत धर्ना बस्न जाने न्यौपानेले चेतावनी दिइन्।