- सेयर धितो कर्जामा रहेको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम
- बैंक वित्तीय संस्थाले दैनिक ९० प्रतिशत अनिवार्य नगद मौज्दात राख्नुपर्ने
- नीतिगत दर, निक्षेप संकलन दर र बैंकदर यथावत्
- बैंक तथा वित्तीय संस्थाको निस्क्रिय कर्जा अनुपात बढ्यो
काठमाडौं– नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । आइतबार चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले जोखिम भार घटाएको हो ।
हाल सेयर धितो कर्जामा रहेको कर्जाको जोखिम भार १२५ प्रतिशत रहेको छ । यसलाई घटाएर १०० प्रतिशत कायम गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको यो व्यवस्थाले सेयर लगानीकर्ताहरु लाभान्वित हुने देखिएका छन् । यसैगरी बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत न्यूनतम मौज्दात राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले नीतिगत दर, निक्षेप संकलन दर र बैंकदर भने यथावत् राखेको छ ।
‘आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखिएको छ । नीतिगत दरलाई विद्यमान पाँच प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई तीन प्रतिशत र ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई साढे छ प्रतिशतमा यथावत् राखिएको छ,’ राष्ट्र बैंकको समीक्षामा उल्लेख छ, ‘वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय खुला बजार कारोबार उपकरणमा गरेको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरुले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिने छ ।’
कानुनी सुधारतर्फ पनि राष्ट्र बैंकले केही नयाँ व्यवस्था ल्याउन लागिएको छ । लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थालाई समावेश गरी ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ जारी गरिने जनाइएको छ । त्यस्तै, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गर्ने राष्ट्र बैंकले जनाएको छ ।
निस्क्रिय कर्जा अनुपात बढ्यो
बैंक तथा वित्तीय संस्थाको निस्क्रिय कर्जा अनुपात उल्लेख्य रुपमा बढेएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु आवमा निस्क्रिय कर्जा अनुपातमा बढेको देखिएको हो ।
‘बैंक तथा वित्तीय संस्थाहरुको निस्क्रिय कर्जा अनुपात २०८० चैतमा ३.९८ प्रतिशत रहेकोमा २०८१ चैतमा ५.२४ प्रतिशत पुगेको छ,’ राष्ट्र बैंकले भनेको छ । निस्क्रिय कर्जा अनुपात गत चैतमा वाणिज्य बैंकहरुको ५.०५, विकास बैंकको ५.५६ र वित्त कम्पनीको १३.०४ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यो अनुपात वाणिज्य बैंकको ३.८९, विकास बैंकको ३.६३ र वित्त कम्पनीको १०.४० प्रतिशत थियो ।
गत आवको तुलनामा चालु अवामा कर्जा प्रवाह बढेको छ । निक्षेप संकलन भने घटेको राष्ट्र बैंकले जनाएको छ । चालु आवको गत चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ तीन खर्ब ६१ अर्ब तीन करोड रुपैयाँबराबर कर्जा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फ दुई खर्ब २२ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । त्यसैगरी, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप तीन खर्ब ६८ अर्ब ४७ करोड रुपैयाँले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप चार खर्ब नौ अर्ब चार करोड रुपैयाँले वृद्धि भएको थियो ।
बैंक तथा वित्तीय संस्थाको औसत आधार दर र निक्षेप तथा कर्जाको भारित औसत ब्याजदर घटेको छ । राष्ट्र बैंकका अनुसार २०८० चैतमा ८.५१ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औसत आधार दर २०८१ चैतमा ६.२९ प्रतिशतमा झरेको छ । त्यसैगरी, २०८० चैतमा ६.५३ प्रतिशत रहेको वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर २०८१ चैतमा ४.४५ प्रतिशतमा झरेको छ । त्यसैगरी २०८० चैतमा १०.५५ प्रतिशत रहेको वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर २०८१ चैतमा घटेर ८.२२ प्रतिशत कायम भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबीचको भारित औसत अन्तरबैंक दर पनि घटेको छ । राष्ट्र बैंकका अनुसार २०८१ चैतमा तीन प्रतिशत रहेको छ । अघिल्लो वर्षको चैतमा भारित औसत अन्तरबैंक दर ३.१० प्रतिशत थियो ।डिजिटल माध्यमबाट हुने कारोबार विस्तारको क्रममा रहेको पनि राष्ट्र बैंकले जनाएको छ । ‘मोबाइल बैंकिङ, क्युआर, डिजिटल वालेटलगायतका शीघ्र भुक्तानीका उपकरणहरुको दायरा फराकिलो हुँदै गएको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘समीक्षा अवधिमा ‘रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम’ (आरटिजिएस) मार्फत भएको कारोबार रकम बढेको छ ।’
अघिल्लो वर्षको चैत मसान्तसम्ममा आरटिजिएसमार्फत दुई खर्ब ५० खर्ब २७ अर्ब ७५ करोड रपैयाँबराबरको पाँच लाख ८२ हजार वटा कारोबार भएको थियो । त्यसको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा यस्तो कारोबार ११३.०९ प्रतिशतले वृद्धि भई पाँच खर्ब ३३ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँबराबरका छ लाख आठ हजार वटा कारोबार भएका छन् ।