काठमाडौं - अखिल नेपाल महिला सङ्घ (समाजवादी)को सातौँ राष्ट्रिय सम्मेलनबाट मुनु सिग्देल अध्यक्षमा निर्वाचित भएकी छन् । सङ्घको महासचिवमा राजेन्द्र लक्ष्मी गैरे सर्वसम्मत निर्वाचित भएका छन् अन्य पदाधिकारी तथा सदस्यहरुका लागि निर्वाचनको प्रक्रियामा रहेको जनाइएको छ ।
सम्मेलनमा सङ्गठन मातहतका प्रदेश, जिल्ला सम्बन्धित कमिटीबाट प्राप्त सुझावअनुसार आन्तरिक विवाद समाधान साथै राजनीतिक, साङ्गठनिक, आर्थिक तथा अन्य समसामयिक प्रस्ताव पारित गरिएको छ ।
‘समाजवाद निर्माणको आधार तय गरौँ, सम्पूर्ण क्षेत्रमा समानुपातिक महिला सहभागिता सुनिश्चित गरौँ’ भन्ने नारा तय गरिएको सम्मेलनले केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयनका विषयमा रणनीति पारित गरेको छ ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले सुशासन, रोजगारी, समृद्धिलगायत सामाजिक रूपान्तरणका लागि सुरु गर्न लागेको समाजवादी अभियानलाई अनुमोदन गराउन यही जेठ ५ गते बैठक आह्वान गरेको महासचिव घनश्याम भुसालले जानकारी दिए ।