

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को संक्रमण त्रासमा कालोबजारी बढेको भन्दै सरकारले चासो देखाएको छ । कोभिड–१९ को विश्वव्यापी संक्रमणले विश्वलाई नै आक्रान्त बनाइरहेका बेला नेपालमा भने व्यापारीहरू त्यसको लाभ उठाउन तल्लिन देखिएका छन् । व्यापारीको कालोबजारी र संक्रमणको त्रासमा रहेका जनतालाई सरकारले अभावबाट त्रसित नहुन आग्रह गरेको छ ।
सरकारले कोरोना भाइरसको जोखिम भएपनि त्रसित भएर घरमा खाद्यान्न र अत्यावश्यक वस्तु सञ्चित गर्नु नपर्ने स्पष्ट पारेको हो । नियमित बजार अनुमगनसहित कृत्रिम अभाव र भ्रम सिर्जना गर्नेलाई कारबाही प्रारम्भ गरेको भन्दै सरकारले आगामी चारदेखि ६ महिनासम्म पुग्ने खाद्यान्न भण्डारण रहेको बताए । अभाव हुने आशंकाले चाहिनेभन्दा बढी सामान खरिद नगर्न सरकारले सबैमा आग्रह गरेको हो ।
(कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले नियमित बैठक र विश्लेषण गरी क्षेत्रगत आधारमा कार्यान्वयन र परिचालन गरिरहेको सन्दर्भमा सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा प्रविधिमन्त्री डा. युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पछिल्लो वस्तुस्थितिबारे जानकारी दिई कोरोना भाइरसप्रति सचेत भई आम जनतालाई सुसूचित गर्न आग्रह गरेका छन् ।
यस्तै, आपूर्तिमन्त्री भट्टका अनुसार आगामी ८ महिनासम्मका लागि पुग्ने औषधि, १० महिनालाई पुग्ने नून, तीन महिनालाई पुग्ने चिनी बजारमा पर्याप्त रहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले काठमाडौं उपत्यकाका पाँच स्थानमा विशेष पसल खोल्ने पनि उनले जानकारी दिए ।
करिब दुई महिनाअघि चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसबाट विश्वका १६५ मुलुक प्रभावित भएका छन् । तर, नेपालमा हालसम्म यसको संक्रमित भेटिएका छैनन् । तर, विश्व स्वास्थ्य संगठन र अन्य निकायको विश्लेषणमा दक्षिण एशियामा संक्रमणको जोखिम हुनसक्ने जनाएपछि सरकारले विशेष सतर्कताका अपनाउन तयारी गरिरहेको छ ।
यसैबीच बजारमा कृतिम अभाव सिर्जना गरे व्यापारी कालोबजारी धन्दा बढाएपछि मन्त्री त्यसमा आफ्नो ध्यान आकृष्ट भएको बताए । मन्त्री भट्टले पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेको जनाउँदै केही ग्यास उद्यमीमा देखिएको समस्यालाई ध्यान दिएर सरकारले आयात सहज नबनाए उद्यमीलाई कारबाही गर्न चेतावनी दिएका छन् । उनले गत २०७६ माघ महिनादेखि हालसम्म विभिन्न उद्यमी र व्यवसायीलाई कालोबजारी र अन्य कसूरमा कारबाही गरी ५६ लाख जरिवाना असुल गरिएको जानकारी गराए । मन्त्री भट्टले ग्यास र पेट्रोलियम पदार्थ आवश्यकताभन्दा बढी खरिद गरेर घरमा भण्डारण गर्दा दुर्घटनासमेत हुन सक्नेतर्फ सचेत गराए ।
साथै, औषधि पसलहरूले जति माग्यो त्यति मात्रामा दिने प्रक्रियाका कारण सिटामोलको माग बढेको उल्लेख गर्दै आवश्यकतानुसार माक्स र सेनेटाइजरको आपूर्ति बढाइएको जानकारी दिए ।
यस्तै, अर्थमन्त्री डा. खतिवडाले कोरोना भाइरसको जोखिमका कारण हवाई, यातायात, होटेल व्यवसाय, ट्राभल र ट्रेकिङ तथा हस्तकला जस्ता क्षेत्र बढी प्रभावित भएको भन्दै जोखिमबाट मुक्तिपछि छिमेकी मुलुकबाट अफसिजनमा पनि पर्यटक ल्याएर क्षतिपूर्ति गराउन गृहकार्य भइरहेको जानकारी दिए । उनले पर्यटन उद्योगमा ऋण सहयोग वा यसबीचको अवधिको कर छुट दिने विषयमा पनि गृहकार्य भइरहेको स्पष्ट गरे ।
मन्त्री डा. खतिवडाले भाइरसको जोखिममा मानिसको ज्यान बचाउनुपर्ने भएकाले विश्व श्रम बजारमा जान रोक लगाइएका नेपाली श्रमिकलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत हुन आएमा रोजगारी दिने बताए । उनले वैदेशिक रोजगारीबाट आउने विप्रेषणमा कमीका कारण तत्काल बैंकिङ क्षेत्रमा नकारात्मक असर नपर्ने पनि दावी गरे ।