

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को त्रास देखाउँदै व्यापारीहरूले कृत्रिम अभावको सिर्जना गरेपछि जनता मारेमा परेका छन् । सरकारले बजारमा कुनै पनि वस्तुको अभाव नरहेको बारम्बार बताउँदै आएको छ । तर, जनताले न माक्स पाएको छ, न त भनेको समयमा खाना पकाउने ग्यास नै । सरकार बोल्छ तर कारबाही नगरेपछि कालोबजारी झनै बढ्दै गएको छ ।
चीनबाट फैलिएको कोरोना भाइरसले विश्वका अधिकांश मुलुकलाई नराम्ररी प्रभावित तुल्याइरहेको अवस्थामा नेपाली व्यापारीहरूले भने जनतालाई राहत दिनेको सट्टा उल्टै फाइदा उठाइरहेका छन् । दिनदिनै कालोबजारी सल्बलाउन थालेपछि सरकारले आपूर्ति व्यवस्थामा पर्न सक्ने प्रभावप्रति सचेत रहेको जनाएको छ । तर, प्रभावकारी अनुगमन नहुँदा व्यापारीले फाइदा उठाइरहेका छन् । शनिबार, आइतबार र सोमबार प्रहरीले कालोबजारी गर्न लुकाइएको लाखौँ थान मेडिकल माक्स बरामद गरेको छ । त्यसपछि केही कालोबजारी हच्किएको प्रहरीको बुझाइ छ ।
यसैक्रममा कोरोनाका कारण दैनिक उपभोग्य, औषधिलगायत अत्यावश्यक सामग्रीको अभाव र सहज आपूर्तिमा देखिएको समस्याका सम्बन्धमा छलफल गर्न मंगलबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आपूर्ति व्यवस्थालाई प्रतिकूल अवस्था आउन नदिइने कटिबद्धता व्यक्त गरेका छन् ।
दैनिक उपभोग्य वस्तुको कुनै अभाव नहोस् भन्नेमा सरकार सचेत रहेको र आपूर्ति व्यवस्थालाई सन्तुलित बनाउन सरकार लागि परेको उनको भनाइ छ । उपभोक्तालाई उपभोग्य वस्तुको उपलब्धतालाई सहज बनाउन सरकारी संयन्त्रको परिचालन गरेर सुपथ मूल्यको पसल सञ्चालन गर्ने तयारी गरिएको उनले बताए । ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट सुपथ मूल्यको पसल चलाउने तयारी गरिएको छ’ मन्त्री भट्टले भने, ‘मोबाइल भ्यानमार्फत पनि जनतालाई सहज रूपमा खाद्यवस्तु उपलब्ध गराइने छ ।’
कालोबजारी, कृत्रिम अभाव नियन्त्रण गर्न सरकार गम्भीर ढंगबाट अगाडि बढेको बताउँदै उनले गृहमन्त्रालयसँगको समन्वयमा ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजार अनुगमनलाई व्यापक बनाइने जानकारी गराए । उनले भने, ‘आपूर्ति मन्त्रालय सुतेको छैन । जनताको सेवामा २४सै घन्टा तयार हुनुपर्छ भनेर मैले कर्मचारीलाई निर्देशन दिएको छु ।’
कोरोनाका कारण उपभोग्य वस्तुको अभाव हुने त्रासले उपभोक्ताले सामान ‘होल्ड’ गर्ने प्रवृत्तिले गर्दा बजारमा चाप परेको बताउँदै उनले अत्यावश्यकीय सामग्रीको आपूर्तिमा कुनै समस्या नभएकाले अनावश्यक भण्डारण नगर्न आग्रह गरे ।
उपभोक्ता आफैँ अनुगमनकर्ता भइदिन समेत आग्रह गर्दै उनले कालोबजारी तथा कृत्रिम अभाव भएमा सरकारलाई सूचना दिन पनि अनुरोध गरेका छन् । जनताको गुनासो सुन्न मन्त्रालयले ११३७ नम्बरको हटलाइन पनि सञ्चालनमा ल्याएको उनको भनाइ थियो ।
छलफलमा आपूर्ति सचिव डा बैकुण्ठ अर्यालले दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जानकारी दिएका थिए । उत्पादन भइसकेका, बिक्री वितरणका लागि डिष्ट्रिब्युटरमा पुगेका र उत्पादन हुने अवस्थामा रहेको औषधिले नेपालको आठ महिनाको माग धान्ने अवस्थामा रहेको जानकारी दिँदै उनले बुधबारदेखि दैनिक एक लाख मास्कको उत्पादन थालिने बताए ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उपभोग्यवस्तुको कृत्रिम अभाव र कालोबजारी हुन नदिन सम्बन्धित निकायसँग समन्वय गरेर संयुक्तरूपमा बजार अनुगमन गर्ने गरिएको बताए । कार्यक्रममा सांसदहरूले आपूर्तिमा कुनै समस्या नहुँदा पनि बजारमा अभाव सिर्जना हुनु गम्भीर भएको भन्दै जनप्रतिनिधिसँगको समन्वयमा बजार अनुगमनलाई प्रभाकारी ढंगबाट सञ्चालन गर्न सरकारलाई सुझाव दिएका थिए ।
सांसद देवेन्द्र पौडेलले प्राकृतिक प्रकोप र भैपरी आउने समस्याविरुद्ध एकताबद्ध भएर लड्नुपर्नेमा जोड दिए । उनले कोरोनाका सम्बन्धमा जनतामा रहेको भ्रम अन्त्य गर्नुपर्ने बताए ।