
जनकपुरधाम– होलीको अवसरमा रमझम गर्नेक्रममा घरेलु मदिरा खाँदा ११ जनाले ज्यान गमाएको धनुषामा पुन पाँच जनाको ज्यान गएको छ ।
अवैध मदिरा सेवनकै कारण फेरि ५ जनाको मृत्यु भएको जनाएको छ । जिल्लाको लक्ष्मीनिया गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिकामा अवैध मदिरा सेवनका कारण ५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ५ बस्ने विश्वनाथ यादव र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बस्ने जितेन्द्र सदा भएको जिप्रका धनुषाले जनाएको छ ।
त्यस्तै, जनकपुरधाम वडा नम्बर ७ स्थित मुसहर वस्तिका मिथिला सदा, बनारसीदेवी सदा र झगरु सदाको पनि मृत्यु भएको जनाइएको छ ।
मृत्यु हुनेहरूको कारण खुल्न नसके पनि प्रादेशिक अस्पताल जनकपुरमा पोष्टमार्टमका लागि शव राखिएको अस्पतालले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिएका छन् ।
धनुषा प्रहरीले जनकपुरस्थित मुसहरी बस्तीबाट करिब २२ जनालाई प्रादेशिक अस्पताल जनकपुर लगिएको जनाएको छ । घटना शंकास्पद रहेको भन्दै प्रहरीको सहयोगमा थप अनुसन्धान गर्नका लागि २२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । धनुषामा एक सातामा योसहित १९ जनाको मृत्यु भइसकेको छ ।
केही दिनअघि मात्र अवैध मदिरा खाएर मृत्यु भएकाहरूको परिवारजनलाई एक नेताले काजकिरियाका लागि आर्थिक सहयोग गरेका छन् । आइतबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ र २ रमदैया भवाडीमा अवैध घरेलु मदिरा सेवन गरी ज्यान गुमाएका १४ जनाका परिवारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री रघुवीर महासेठले किरिया खर्चबापत जनही २० हजार रूपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
पूर्वमन्त्रीसमेत रहेका महासेठले मृतकहरूको घरमै पुगेर किरिया खर्चबापत सो रकम प्रदान गरिएको जानकारी दिएका छन् । अवैध घरेलु मदिरा सेवन गर्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित रमदैया भवाडी वडा नम्बर २ बस्ने ३५ वर्षीय ब्रम्ह्देव यादव, ४० वर्षीय रामविलास मण्डल, ६५ वर्षीय गुदर महरा, ५५ वर्षीय रामसखी सदा, ६० वर्षीय श्रीदेव यादव, ३० वर्षीय इन्द्रजित महरा, ४५ वर्षीय शत्रुधन मण्डल र वडा नम्बर १ बस्ने ३५ वर्षीय रामनारायण महरा, ३० वर्षीय राजु महरा, ४८ वर्षीय रामबहादुर यादव, भुटकुन सदा, विजय सदा, दशैंया महरा र निरस यादवको मृत्यु भएको थियो ।