

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नियमित काममा फर्किएका छन् । मिर्गौला प्रत्यारोपणपछि १२ दिन लामो अस्पताल बसाइपछि शुक्रबार डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले शनिबारदेखि राजनीतिक भेटवार्ता सुरु गरेका हुन् ।
प्रधानमन्त्री ओली डिस्चार्ज भएपछि अनेक किसिमका तर्क–विर्तक भइरहेका बेला उनले राजनीति भेटघाट सुरु गरेका छन् । शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज हुँदा प्रधानमन्त्री खासै स्वस्थ्य देखिएका थिएनन् । त्यसैले पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अस्पतालबाट प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न हतार गरिएको जस्ता गुनासो गरेका छन् । तर, यसैबेला प्रधानमन्त्री ओलीले शनिबार सरकारी निवास बालुवाटारमा राजनीतिक भेटघाट गरेका छन् ।
अस्पतालबाट डिस्चार्ज भएपछि बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री ओलीले शनिबार बिहानैबाट राजनीति भेटघाट सुरु गरेका थिए । उनले शनिबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल, महासचिव विष्णु पौडेल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत नेतासँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका ओलीले अन्य नेता तथा सल्लाहकारसँग संयुक्त भेट गरेका थिए । शनिबार बिहान सबैभन्दा पहिले प्रधानमन्त्री निवास वालुवाटार अध्यक्ष दाहाल पुगेका थिए । त्यसपछि नेता नेपालले प्रधानमन्त्रीसँग भेट गरेका थिए । बालुवाटार स्रोतका अनुसार दुवै नेताले भेटमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।
अध्यक्ष दाहालको सचिवालयका अनुसार दाहालले मिर्गौला पुनः प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्रीलाई बधाई दिएका थिए । त्यस्तै, नेता नेपालले समेत ओलीको स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेका छन् । अध्यक्ष दाहाल र नेता नेपाल दुवै नेताले प्रधानमन्त्रीलाई समसामायिक राजनीतिक गतिविधिबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि गत १९ फागुनमा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भई शुक्रबार डिस्चार्ज भएर बालुवाटार फर्किएका हुन् । शिक्षण अस्पतालमा २१ फागुनमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भाञ्जी नाताकी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् । समीक्षा भने २८ फागुनमै डिस्चार्ज भएको थिइन् ।
अध्यक्ष दाहाललले यसअघि २० फागुनमा अस्पताल पुगेर प्रधानमन्त्रीलाई भेट गरेका थिए । दाहाल आफैपनि सामान्य रुघाखोकीका कारण घरमै आराम गरिरहेका थिए । शनिबार ओली र दाहाल करिब आधा घण्टा छलफल भएको दाहालको सचिवालयले जनाएको छ । नेता नेपाल भने प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएकै दिन पनि अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिएर फर्केका थिए ।
शनिबार नेताहरूसँग भेट गरेपछि प्रधानमन्त्री ओलीले आफू ठीक भइरहेको र चाँडै नियमित काममा फर्किने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर, चिकित्सकले प्रधानमन्त्री ओली सामान्य अवस्था आउन करिब ६ महिना लाग्ने बताएका छन् ।