नयाँदिल्ली, २९ फागुन (एजेन्सी) । प्राणघातक कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न भारत सरकारले कडा कदम चालेको छ । भारतले कोरोना भाइरस नियन्त्रणका लागि भन्दै विश्वका सबै देशसँग भारत आवत–जावतमा रोक घोषणा गरेको छ ।
भारतले भोली शुत्रबारदेखि लागू हुनेगरी यस्तो कडा नियम घोषणा गरेको हो । जसअनुसार भारतीय नागरिकले समेत आफ्नो मुलुक छिर्न पाउने छैनन् । कोरोना भाइरस प्रकोपले महामारी रुप लिएपछि उक्त कठोर कदम उठाइएको भारत सरकारले जनाएको छ ।
भारतले कोरोना भाइरसको संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ को संक्रमण फैलिन रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो ।
१५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्रा्ष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसाबाहेक अन्य भिसा १५ अप्रिलसम्म निलम्बन गर्ने निर्णय गरेको हो ।
यस्तै, भारत सरकारले ओसीआई कार्ड भएका (प्रवासी भारतीय नागरिक)लाई मुक्त यात्राको सुविधामा पनि १५ अप्रिल २०२० सम्म रोकिएको छ । यस्तै, १५ फेबु्रअरीपछि चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन, जर्मनीलगायतका मुलुकबाट भारत आउने सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय युरोपमा तिव्ररुपमा फैलिरहेको छ । चीनपछि इटली, दक्षिण कोरिया र जापानमा बढी कोरोना संक्रमित देखापरेका छन् । यस्तै भारतमा समेत यो संक्रमण फैलिँदोक्रममा रहेकाले त्यसको रोकथाम तथा नियन्त्रण गर्न भारत सरकारले कडा कदम चालेको हो ।
पछिल्लो समय कोरोना भाइरस विश्वका ११४ मुलुकमा फैलिएको भने एक लाख १८ हजार मानिसमा संक्रमण देखिएको छ । त्यसमध्ये चार हजारभन्दा बढीको ज्यान गइसकेको छ । भाइरस संक्रमण तिव्र रुपमा फैलिँदै गएपछि विश्व स्वाथ्य संगठन (डब्ल्यूएचओ) ‘महामारी’को संज्ञा दिएका छन् । तर, यसमा संक्रमण रोक्न देशहरुले के–कस्ता उपाय अपनाउँछन् भन्नेमा महामारीको स्तर निर्धारण हुने डब्ल्यूएचओले जनाएको छ ।