

काठमाडौं– निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बुधबार बिहान भएको बम विष्फोटको जिम्मेवारी प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूह नेतृत्वको नेकपाले लिएको छ ।
पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरको लोकन्थलीस्थित मनोहरा फाँटमा रहेको निर्माणाधीन घरमा बुधबार बिहान करिब ७ः४० बजे प्रेसर कुकर बम विष्फोट भएको थियो । उक्त विष्फोटको प्रारम्भिक अनुसन्धानमा प्रतिबन्धित समूह संलग्न देखिएको प्रहरीले पनि निष्कर्ष निकालेको थियो ।
विष्फोटलगत्तै महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका डिआइजी विश्वराज पोखरेल घटनास्थलमा पुगेका थिए । उनीहरूले सञ्चारकर्मीसँग प्रतिबन्धित समूहलाई लक्षित गरेर अनुसन्धानको दायरालाई साँघुरो बनाएको बताइरहेकै बेला विप्लव समूहको उक्त विष्फोटको पर्चामार्फत जिम्मेवारी लिएको हो ।
प्रतिबन्धित नेकपाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदांगो पारेकाले कारबाही गरिएको पर्चामाफर्त जनाएको छ ।
‘भ्रष्टचारी गोकुल बाँस्कोटामाथि कारबाही किन ?’ शिर्षकमा सार्वजनिक गरिएको उक्त पर्चामा बुँदागत रूपमा विष्फोटकको कारण उल्लेख गरिएको छ । ‘२४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले, १९ अर्बको फोरजी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरूपयोग गरेकाले, १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कंगाल बनाउने भूमिका खेलेको’लगायत १० वटा बुँदा उल्लेख गरिएको छ ।
यसैबीच बम विष्फोट घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ घर भई हाल लोकन्थलीको सुकुम्बासी बस्तीमा बस्दै आएका ५८ वर्षीय देव भन्ने देवीबहादुर गुरुङलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।
पक्राउ परेका गुरुङ प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला सदस्य रहेको उनले जानकारी दिए । प्रहरीले गुरुङलाई सुकुम्वासी बस्तीबाट पक्राउ गरेको हो ।
सेक्युरिटी प्रिन्टर प्रेस खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग रु ७० करोड कमिसन काण्डमा मुछिएपछि उनले राजीनामा दिएका थिए । पूर्वमन्त्री बाँस्कोटा मन्त्री भएदेखि नै भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आएका छन् ।
प्रहरीले घटनास्थलबाट प्रेसर कुकर, तार, चन्दा रसिद, पर्चा र पम्प्लेट बरामद गरेको छ । घटनामा पूर्वमन्त्री बाँस्कोटाकोसहित अन्य तीन घरमा क्षति पुगेको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खालभित्र प्रेसर कुकर बम राखिएको र रिमोट कन्ट्रोलबाट बम विस्फोट गराएको प्रारम्भिक अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ । बाँस्कोटा निवासमा आक्रमण हुनसक्ने सुराकी प्रहरीमा पहिला नै आइसकेकाले त्यस क्षेत्रमा सुरक्षा सतर्कता बढाएर २४सै घन्टा प्रहरी तैनाथ गरिएको भए पनि बुधबार बिहान प्रहरी घरकै पछाडि रहेका बेलामा अगाडिबाट बम छाडेर विष्फोट गराएको थियो ।
बम विष्फोटबाट पूर्वमन्त्री बाँस्कोटा, स्थानीय कपिल घिमिरे, कुबेर केसी र निरसिंह खत्रीको घरमा समेत क्षति पुगेको छ । उनीहरूको घरको सिसा फुटेको, घरको झ्याल, खापामा क्षति पुगेको छ भने घरको प्लास्टर चर्किएको छ । उक्त विष्फोटले घर अगाडि पार्किङ गरेर राखिएको बा १९ च ४७८१ नम्बरको एउटा डेलिभरी भ्यान क्षतिग्रस्त भएको छ । घर क्षति भएका घिमिरेले विष्फोट हुँदा भूकम्प आएजस्तै कम्पन भएको र ठूलो आवाज आएको बताए । विष्फोटको समयमा बाँस्कोटा उक्त घरमा थिएनन् । उनी सञ्चारमन्त्री भएदेखि बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आएका छन् ।
यसैबीच बम विष्फोटको नेकपाले निन्दा गरेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बुधबार प्रेस विज्ञप्तिका जारी गर्दै पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरस्थित निजी निवासमा गरिएको प्रेसर कुकर बम प्रहारको घटनाको निन्दा गरेका हुन् ।
अध्यक्ष दाहालद्वारा जारी गरी विज्ञप्तिमा भएिको छ, ‘म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्दछु, घटनामा संलग्न अपराधीलाई नियन्त्रणमा लिन र कडा कानुनी कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’