

काठमाडौं– तीन महिनादेखि काठमाडौंको जोरपाटीमा रहेको नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा ताला लाग्दै आएको छ । अपांगता भएका व्यक्तिका नाममा आएको सहयोगको दुरूपयोग गरिरहरको र यहि दुरूपयोगलाई वैधानिकता दिनका लागि अवैधानिक रूपमा भएको निर्वाचन खारेज गरी नयाँ निर्वाचन गर्न माग गर्दै अपांगता भएका व्यक्तिहरूले तीन महिनादेखि तालाबन्दी गर्दे आएका हुन् ।
केन्द्रका वर्तमान पदाधिकारीहरू जनकपुरमा सम्पन्न निर्वाचनबाट निर्वाचित भएका थिए । तर, यसलाई भने केन्द्रका केही पदाधिकारीहरूले विरोध गर्दै आएका छन् । उनीहरूले यसलाई अवैधानिक भन्दै अहिले पनि केन्द्रमा आन्दोलन गरिरहेका छन् । तीन महिनादेखिको आन्दोलन अहिले पनि साम्य भएको छैन ।
नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र संघर्ष समितिकी संयोजक नरकुमारी कार्कीले अबैधानिक निर्वाचन खारेज नगरी नयाँ निर्वाचन नगरेसम्म आन्दोलन जारी रहने बताएकी छन् । अपांग केन्द्रको निर्वाचन काठमाडौंमा नगरी जनकपुरमा गरिएको र आफूखुसी गरिएकाले यसले वैधानिकता पाउन नहुने माग गर्दै आएकी छन् ।
संघर्ष समितिकी सदस्यहरू टीका ढुंगाना, रामप्रसाद कोइराला, सूर्यकुमारी गुरुङ, गायत्री दाहालले अपांगता भएका व्यक्तिहरूको जायज मागलाई बेवास्ता गरेको भन्दै आफूहरूको आन्दोलन अझै जारी रहने बताएका छन् । उनीहरूका अनुसार केन्द्रभित्र भ्रष्टाचार र अनियमितता हुँदै आएको र यहि गलत कामलाई ढाकछोप गर्न अवैध बाटोबाट निर्वाचन सम्पन्न गरिएको हो ।
आन्दोलनकर्ताहरूले केन्द्रले केही वर्षयता अपांगता भएका व्यक्तिहरूको सेवा कार्य शून्य अवस्थामा ल्याई बोर्ड र आफ्ना केही मतियारहरूलाई प्रयोग गरी केन्द्रको भौतिक संररचना भाडामा दिने, सरकारी अनुदान बजेट अपांगता भएका व्यक्तिका नाममा दुरूपयोग गर्ने, अपांगता भएकाहरूलाई हेला गर्ने, उनीहरूलाई सेवा नदिने, दैनिक कार्यालयमा आएर संघको आर्थिक हिनामिना गर्ने काम भइरहेको बताएका छन् ।
अवैधानिक निर्वाचन खारेज गर्ने र नयाँ निर्वाचन गर्ने जिम्मेवारी पाएको स्थानीय तह गोकर्णेश्वर नगरपालिकाले हेलचेक्र्याइँ गर्दा केन्द्रको समस्या सुल्झन सकेको छैन । गोकर्णेश्वर नगरपालिकाले समेत आफूसँग समन्वय नगरी काठमाडौंबाहिर जनकपुरमा आफूखुसी गरेको निर्वाचन अवैधानिक भन्दै आएको छ ।
अवैधानिक पनि भन्ने र निर्वाचन गर्ने तदरुकता पनि नदेखाउँदा अपांगता भएका व्यक्तिहरूले नगरपालिकाममाथि नै शंका गर्न थालेका छन् । संघले संघर्ष समिति बनाएर निर्वाचन गर्नका लागि केन्द्रमा तालबन्दी गरी धर्ना दिँदै आएका छन् । नगरपालिकाले अदातलको निर्णयसमेत लत्याएर आफूखुसी गरेको निर्वाचन वैधानिक नभएकाले नयाँ निर्वाचन गरी संस्थालाई गति दिने बताउँदै आएका छन् । केन्द्रले २२ पुस ०७६ मा नगरपालिकामा नयाँ निर्वाचन गराउन निवेदन दिएका छन् । नगरपालिकाले निवेदन मनासिब नै देखिएकाले निर्वाचन गर्ने वचनसमेत दिएको थियो । सोहि अनुरूप नगरपालिकाका मेयर सन्तोष चालिसेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्र लेखी निर्वाचन अवैधानिक भएकाले नयाँ निर्वाचन आवश्यक रहेको व्यहोराको पत्रसमेत पठाएका थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले समेत नगरपालिकालाई पत्र लेखी समन्वय गरी निर्वाचन गर्नका लागि बाटो खुलाइदिएको छ । तर, नगरपालिकाले अहिलेसम्म निर्वाचन गर्ने वातावरण नबनाउँदा अपांगता भएका व्यक्तिहरूले नगरपालिकामाथि नै शंका गरेका छन् ।
उनीहरूले आवश्यक परे गोकर्णेश्वर नगरपालिका घेर्नेसमेत बताएका छन् । लामो समयसम्म तालबन्दी हुँदा अपांगता भएका व्यक्तिहरूको दैनिकी कष्टकर बन्दै गएको बताइन्छ । तलब र अपांगता भएका व्यक्तिले पाउने पारिश्रमिकसमेत बन्द हुँदा अपांग केन्द्रभित्र फोहोरमैलाको व्यवस्थापन हुन सकेको छैन भने उनीहरू राख्ने कोठासमेत दुर्गन्धित बन्दै गएको छ ।
उनीहरूले अपांगता भएका व्यक्तिलाई स्थानीय सरकारले हेप्ने र उल्टै दुःख दिने नियत राखे त्यसको परिणाम नराम्रो हुने चेतावनीसमेत दिएका छन् । उनीहरूले अपांगता भएका व्यक्तिहरूको बाँच्ने अधिकारमाथि नगरपालिकाले वास्ता गरेको भन्दै आएका छन् । केन्द्रका मोहन महर्जनले गराएको अवैधानिक निर्वाचनबाट आएका धनजुजु श्रेष्ठले पनि केन्द्रमा काम गर्न सकेका छैनन् ।