

काठमाडौं– प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ । मिर्गौला प्रत्यारोपणको चौथो दिन शनिबार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सोचेभन्दा राम्रो सुधार भइरहेको अस्पतालले जनाएको हो । मिर्गौला प्रत्यारोपण गरेपछि पहिलोपटक शनिबार प्रधानमन्त्री ओलीलाई नर्मल खाना दिइएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाका अनुसार शनिबारबाट उनलाई नर्मल खान दिन थालिएको छ । उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मिर्गौला प्रत्यारोपण गरिएको आज चौथो दिन, उहाँको स्वास्थ्यस्थितिमा राम्रो सुधार भइरहेको छ । उहाँलाई नर्मल खाना दिन थालिएको छ ।’
प्रधानमन्त्री ओलीले सामान्य हिँडडुल गर्न समेत थालेका छन् । साथै, फिजियोथेरापीलाई समेत निरन्तरता दिइएको छ भने उनका भाइटल तथा ल्याब सूचक सामान्य अवस्थामा रहेको प्रा.डा. खड्गाको भनाइ छ ।
यस्तै, प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने उनकी भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्यमा सुधार भइरहेको प्रा.डा खड्गाले जानकारी दिए । उनको पनि सबै भाइटल र ल्याबसूचक सामान्य अवस्थामा रहेको जनाए । समीक्षालाईसमेत नर्मल खाना दिइएको छ भने हिँडडुल गर्न थालिसकेकी छन् ।
अस्पतालले हरेक दिन दिउँसो ४ बजे विज्ञप्तिमार्फत् प्रधानमन्त्री र मिर्गौलादाता समीक्षाको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै आएको छ । प्रधानमन्त्री ओलीको २१ फागुनमा दोस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको थियो । प्रत्यारोपणपछि ओली सीसीयूमा स्वास्थ्यलाभ गरिरहेका छन् । प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
यसैबीच चीनका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई शनिबार सन्देशमार्फत हालै मिर्गौला प्रत्यारोपण गरेको जानकारी प्राप्त भएको उल्लेख गर्दै चीन सरकार, त्यहाँका जनता र स्वयम् आफ्नातर्फबाट प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।
यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, भूटानका प्रधानमन्त्री डा लोट्टी छिरिङ र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गाैला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।