
काठमाडौं– पछिल्लो समय नेपाली सेनामा अनियमितता र भ्रष्टाचार बढेको भन्दै सांसदहरूले त्यसप्रति ध्यानाकर्षण जनाएका छन् । उनीहरूले सेनामा भ्रष्टाचार बढ्दै गएको जनस्तरबाटै गुनासाहरू बढ्दै गएकाले त्यसको नियन्त्रणका लागि कदम चाल्नुपर्ने बताए । उनीहरूले गुनासालाई मध्येनजर गर्दै छानविन गर्नसमेत माग गरेका छन् ।
सेनाभित्रको भ्रष्टाचारबारे जवाफ दिन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापालाई बिहीबार राज्य समिति बैठकमा बोलाइएको थियो । तर, राज्य व्यवस्था समितिले बोलाएको बैठकमा रक्षामन्त्री पोखरेल र प्रधानसेनापति थापा नगएपछि बिहीबारको बैठक समेत स्थगित गरिएको थियो । उपप्रधानमन्त्री पोखरेल र प्रधानसेनापति थापा नै नगएपछि छलफलको औचित्य नभएको भन्दै बैठक स्थगित गरिएको हो ।
बैठकमा रक्षा मन्त्रालयको तर्फबाट सचिव रेश्मीराज पाण्डे र सेनाका रथी सरद गिरीको नेतृत्वमा सहभागी भएका थिए । तर, राज्य व्यवस्था समितिको बैठकमा तालुकदार मन्त्री पोखरेल र प्रधानसेनापति थापा नआएपछि बैठक स्थगित गरिएको सभापति शशी श्रेष्ठले जानकारी दिएकी थिइन् । सम्बन्धित व्यक्तिविना छलफलको औचित्य नहुने भन्दै बैठक स्थगित गर्न सांसदहरूले माग गरेपछि स्थगित गरिएको हो ।
नेपाली सेनाको जंगी अड्डा मुख्यालय निर्माणका क्रममा व्यापक भ्रष्टाचार भएको उजुरीपछि समितिले चासो देखाएको हो । राज्य व्यवस्था समितिले सेनाको भ्रष्टाचारबारे छानबिन गरी प्रतिवेदन तयार पार्न तीन सदस्यीय उजुरी सुनुवाई कार्यदल समेत गठन गरेको थियो । कार्यदलले आठ महिनाभन्दा बढी समय लगाएर गुनासो तथा उजुरी छानबिन गरेको हो ।
बैठकमा देवेन्द्रराज कँडेल, कृष्णगोपाल श्रेष्ठ, डिला संग्रौला, लालबाबु पण्डित, रेखा शर्मा, दिलेन्द्र बडु, अमरेशकुमार रसिंह, झपट रावललगायतले सेनाभित्रको भ्रष्टाचार र अनियमिततामाथि आवश्यक कानुन बनाउनुपर्ने बताए । उनीहरूले यस विषयमा रक्षामन्त्री र प्रधानसेनापतिसँग छलफल गर्न जरुरी बताएका छन् । साथै, फास्ट ट्रयाक, सेना मुख्यालय, गण र गुल्म बनाउँदामात्रै नभएर सरुवा–बढुवा गर्दासमेत सेनामा भ्रष्टाचार भएको कुरा सार्वजनिक हुनु दुःखद भएको सांसद डिला संग्रौलाले जनाइन् ।