
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गएको छ । बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले बिहीबारदेखि कालो चियालगायत झोलिलो खानेकुरा खान थालेका छन् ।
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा त्रमिकरूपमा सुधार भइरहेको अस्पतालले जनाएको हो ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा. प्रेमकृष्ण खड्गाले स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको जानकारी दिएका हुन् ।
प्रा डा. खड्गाले भने, ‘सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूको मिर्गौला प्रत्यारोपण गरिएको आज दोस्रो दिन, उहाँको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिएको छ ।’ उनले प्रत्यारोपित मिर्गौलाले पनि सामान्य रूपमा काम गर्न थालिसकेको जानकारी दिए ।
प्रधानमन्त्रीको सबै ‘भाइटल’ र ‘ल्याब’ सूचक सामान्य अवस्थामा रहेको समेत उनले बताए । ‘उहाँका सबै भाइटल तथा ल्याब सूचकहरू सामान्य अवस्थामा रहेका छन् । उहाँलाई आजदेखि तरल तथा नरम आहार दिन सुरु गरिएको छ’ उनले भने । यस्तै प्रधानमन्त्रीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।