

काठमाडौं– प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक स्वदेशमै मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । बुधबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा करिब पाँच घण्टा लगाएर प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको हो । प्रधानमन्त्री ओलीलाई नाताले भान्जी पर्ने समीक्षा संग्रौला कोइरालाले मिर्गौला दान गरेकी हुन् ।
मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । मिर्गौला प्रत्यारोपण सम्पन्न भएको अस्पतालले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य स्थिर अवस्थामा रहेको छ । ‘उहाँको सबै मुख्य सूचकांकहरू राम्रो अवस्थामा रहेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न सुरु गरिसकेको छ र उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइने छ ।’
प्रधानमन्त्रीको शल्यक्रियामा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा अनन्त कुमारलगायत नौ जना चिकित्सक सहभागी थिए । अनन्तकुमार प्रधानमन्त्री ओलीको पहिलो मिर्गौला प्रत्यारोपणमा संलग्न भारतीय चिकित्सक हुन् । यसअघि प्रधानमन्त्री ओलीले पहिलोपटक २०६४ सालमा मिर्गौला प्रत्यारोपण गरेका थिए ।
दोस्रोपटक ओलीको मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रधानमन्त्रीकी निजी चिकित्सकसमेत रहेकी प्रा.डा दिव्या सिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपालीलगायतको टोली रहेको विज्ञप्तिमा जनाइएको छ । त्यस्तै, एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ र प्रा.डा. सुवा आचार्यलगायतको टोली सहभागी भएको कार्यकारी निर्देशक खड्काले बताएका छन् ।
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली यही गत सोमबार नै अस्पताल भर्ना भएका थिए । उनलाई मंगलबार शल्यक्रिया गर्नुअगाडि गरिने सबै तयारी गरेर बुधबार बिहान सबा १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो । चिकित्सकले शल्यक्रिया सम्पन्न गर्न ४ देखि ५ घण्टासम्म लाग्ने बताएका थिए । मिर्गौला प्रत्यारोपण टिममा शिक्षण अस्पतालका अनुभवी चिकित्सकसँगै पहिलो प्रत्यारोपणमा सहभागी तीन भारतीय चिकित्सकसमेत रहेका थिए ।
ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण भएको थियो । त्यसपछि अहिले प्रधानमन्त्री ओलीकै इच्छाले स्वेदेशमै उनको मिर्गौला प्रत्यारोपण गरिएको हो ।
शल्यक्रियाका लागि डा.प्रेम ज्ञवालीको टोली र डा. उत्तम शर्माको टोली खटिएको थियो । एक टोलीले दाताको शल्यक्रिया र अर्को टोलीले प्रधानमन्त्रीको शल्यक्रिया गरेका थिए । शल्यक्रियापछि कम्तीमा दश दिन अस्पतालमै आराम गर्नुपर्ने प्रारम्भिक सल्लाह चिकित्सकले दिएका छन् ।
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली र मिर्गौला दाता भान्जी पर्ने समीक्षा दुवै सोमबार नै अस्पताल भर्ना भएका थिए । सोमबारदेखि मंगलबार बेलुकासम्म पनि प्रधानमन्त्री ओलीको विभिन्न परीक्षण गरेर शरीरलाई प्रत्यारोपणका लागि अनुकुल बनाइएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौमा सिंगापुर गएका थिए । त्यहाँ उनको ‘प्लाज्माफेरेसिस’ गरिएको थियो । त्यहाँ १५ दिनको बसाइपछि प्रधानमन्त्री स्वदेश फर्केका थिए । त्यसपछि उनले नियमित मिर्गौलाको डायलासिस गर्दै आएका थिए ।
यसैबीच मिर्गौला दान गर्ने समीक्षाको पनि स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । ३२ वर्षीया समीक्षाले मिर्गौला दिएपछि प्रधानमन्त्री ओलीको दोस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको हो ।
समीक्षाका बुवा मेदनी संग्रौला र आमा मुना संग्रौला छोरीको आँट देखेर खुसीले भएका छन् । उनीहरूले छोरीलाई एकदम राम्रो काम गरेको भन्दै धन्यवाद दिएका छन् । उनले आँट गरेर प्रधानमन्त्रीलाई मिर्गौला दिएको भन्दै समीक्षाकी आमा मुनाले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेकी छन् । ‘राम्रो होस्, हामी पशुपतिनाथसँग प्रार्थना गर्छौँ’ उनले भनिन् ।
समीक्षाका बुवा मेदनीले प्रधानमन्त्री र छोरीको स्वास्थ्य लाभको कामना गर्दै छोरीको आँटले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न सफल भएको बताए । प्रधानमन्त्री ओलीको परिवारसँग समीक्षाको परिवारको राम्रो सम्बन्ध छ । पाल्पाका कमल ज्ञवालीसँग विवाह गरेकी समीक्षाको माइती झापाको चारआलीमा हो । समीक्षाका श्रीमान् भने नेपाली सेनामा कार्यरत छन् । उनले समेत आफ्नी पत्नीले प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने निर्णय गर्दा खुसी भएको बताएका छन् ।