काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबारमात्र एक हप्ताभित्रै आफ्नो कार्यालयको पुनसंरचना गर्ने घोषणा गरेका थिए । उक्त घोषणा दुई दिन नबित्दै दाहालले फास्ट ट्र्याक शैलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको संरचना परिवर्तनको निर्णय नै गरेका छन् ।
बिहीबारको मन्त्रिपरिषद्ले प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी कटौती गर्ने निर्णय गरेको हो । ‘प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीका नाममा गत मंलबार गर्नुभएको सम्बोधनबमोजिम प्रधानमन्त्री कार्यालयको पुनःसंरचना गरिएको छ, ६८ वटा दरबन्दी कटौती भएका छन्,’ मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् ।
प्रधानमन्त्री दाहालले आफ्नो कार्यालयको परिवर्तनलाई संकेतको रुपमा लिन सकिनेसमेत बताएका थिए । ‘यही साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दै छु । सिंगो राज्यका लागि त्यो एउटा संकेत र सन्देश हुने छ,’ मंगलबार सम्बोधनको क्रममा भनेका थिए ।
कति छन् प्रधानमन्त्री कार्यालयमा दरबन्दी ?
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा १ जना मुख्य सचिव, ५ जना सचिव, ११ जना सहसचिव, ३० जना उपसचिव,४६ जना शाखा अधिकृत, २ जना लेखा अधिकृत, शाखा अधिकृतअन्तर्गत ३ जना कम्प्युटर अधिकृत, १ जना कम्प्युटर इन्जिनियर, १ जना तथ्यांक अधिकृत, १ जना पुस्तकालय अधिकृत र १ जना छाविकार अधिकृतको दरबन्दी थियो । साबिकमा ५ जना दरबन्दी भए पनि अहिले ७ जना सचिवको दरबन्दी रहेको छ ।
प्रधानमन्त्री कार्यालयमा अहिले एकनारायण अर्याल, अर्जुनप्रसाद पोखरेल, लीलादेवी गड्तौला, मणिराम गेलाल, गणेशप्रसाद पाण्डे र खगेन्द्रप्रसाद नेपाल सचिव छन् । यसैगरी एक सचिव रिक्त रहेको छ । खगेन्द्र नेपाल विशेष दरबन्दीको भएकोले उनको कार्यकालपछि उक्त पद सजिलै रिक्त हुने बताइएको छ । यसैगरी उपसचिवको साबिक दरबन्दी ११ भए पनि १५ जना सहसचिव प्रधानमन्त्रीको कार्यालयमा छन् ।
त्यसैगरी २० जना नायब सुब्बा, १ जना लेखापाल, ३४ जना कम्प्युटर अपरेटर, १ जना पुस्तकालय सहायक, १ जना मेकानिकल सुपरभाइजर, ५ जना खरिदार, सवारी चालक, कार्यालय सहयोगी गरी ५१ जना श्रेणीविहीनसहित कुल २३९ जना कर्मचारीहरूको दरबन्दी थियो ।
प्रधानमन्त्रीले ६८ कर्मचारीमध्ये २ जना सचिव कटौती गरी ३ जनामात्र सचिव राख्ने तयारी गरेको छ । यसको विस्तृत विवरण भने केही दिनमा आउने प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । ‘दुई सचिवसहित केही सहसचिव र कर्मचारीको दरबन्दी हटाउने निर्णय भएको छ,’ आचार्यले भने, ‘विस्तृत विवरण सदर भएरमात्र प्रकाशित हुनेछ ।’ प्रधानमन्त्री कार्यालयबाट कटौति गरेका कर्मचारीलाई अन्यत्रै पदस्थापन गरिने मन्त्री शर्माले बताएकी छिन् । अब प्रधानमन्त्री कार्यालयमा १७० जनाको हाराहारीमा सरकारी कर्मचारी हुनेछन् ।
कार्यशैलीमा भने आएन परिवर्तन
दाहालले आफ्नो कार्यशैली पनि परिवर्तन गर्ने उद्घोष गरेका थिए । यद्यपि घोषणाको भोलिपल्टै गोरखास्थित नातिनीको घर पुगेर उनी आलोचित बनेका छन् । गण्डकी गाउँपालिकास्थित घ्यालचोक ज्यामिरघाटमा उनी नातिनी प्रतिभा र नातिनी ज्वाइँको घर पुगेका थिए । सेनाको हेलिकप्टरमा नातिनीका घर हेर्न पुगेपछि दाहाल आलोचित बनेका हुन् ।
जनताको नाममा गरिएको सम्बोधनमा दाहालले आफू अपरिहार्यबाहेक बाहिरका कुनै कार्यक्रममा नजाने बताएका थिए । ‘देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु । यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिने छ,’ दाहालले भनेका थिए, ‘केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक म बाहिरका कुनै पनि कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु ।
सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानबिन्दु हुने छ ।’ आज पनि दाहाल दोलखा महोत्सव उद्घाटन गर्न चरिकोट पुग्दैछन् । फोटो– बुधबार गोरखोको घ्यालचोकमा नातिनी, नातिनी ज्वाइँसँग फोटो खिचाउँदै प्रधानमन्त्री दाहाल ।