कञ्चनपुर- कैलाली–कञ्चनपुरका राना थारु समुदायका महिलाहरूले आज तीज पर्व मनाउँदैछन् । यसै अवसरमा अवसरमा कञ्चनपुरका छ पालिकाले आज सार्वजनिक बिदा समेत दिइएको छ ।
शुक्ल पक्षको तृतीया तिथिका दिन आज पर्ने राना थारू समुदायको तीज पर्वका लागि कृष्णपुर, बेलौरी, पुर्नवास, शुक्लाफाँटा नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकाले बिदा दिएका छन् । पालिका मातहतका कार्यालय र शैक्षिक संस्थामा बिदा दिइएको हो ।
तीज पर्वलाई राना थारु समुदायका महिलाहरूले धार्मिक आस्था, पारिवारिक समर्पण र सांस्कृतिक पहिचानका रूपमा विशेष रूपमा मनाउने गर्दछन् । विशेषतः दिदीबहिनीहरूले आफ्ना दाजुभाइ, भतिजा र परिवारजनको दीर्घायु र कल्याणको कामना गर्दै निराहार व्रत बस्ने यो पर्व नारी–शक्ति र परम्परागत श्रद्धाको प्रतीक मानिन्छ ।
यस अवसरमा दाजुभाइले गाउँको बीच भागमा राखिएको सावनको डोला (पिङ) मच्चिँदै थारू महिलाहरूले परम्परागत धार्मिक भावनाले ओतप्रोत माङ्गलिक गीतहरू गाउने गर्छन् । उनीहरूको हौसला बढाउन दाजुभाइले पनि साथ दिन्छन् । साँझपख परम्परागत विधिमा आधारित पूजा गरेर नदीमा पूजा सामग्री विर्सजन गर्दै दाजुभाइको पानीको धारजस्तै लामो आयुको कामना दिदीबहिनीले गर्दछन् ।
राना थारू समुदायमा तीजले दाजुभाइ–बहिनीबीचको आत्मिक सम्बन्ध झन् प्रगाढ बनाउन बल प्रदान गर्दछ । कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती राना रानाथारू समुदायको तीज जस्तै प्रत्येक जात, धर्म, समुदायका पर्वले धार्मिक सहिष्णुता र सामाजिक मेलमिलापलाई प्रवर्द्धन गर्ने बताउनुहुन्छ । उहाँका अनुसार, नगरपालिकाले राना थारू समुदायको धार्मिक स्वतन्त्रता र सांस्कृतिक पहिचानको सम्मान गर्दै बिदा दिने निर्णय गरेको छ ।
लालझाडी गाउँपालिकाले साउन ११ गते तीज र साउन १३ गते गुरही पर्व र नाग पञ्चमी गरी दुई दिन बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष निर्मल रानाले बताए। शुक्लाफाँटा नगरपालिकामा भने राना थारू कर्मचारीलाई मात्रै बिदा दिइएको छ ।