Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #ओभरपास
  • #हुलाकी_राजमार्ग
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #आइसिसी महिला टी–ट्वान्टी
Search Here
समाचार
  • Home
  • समाचार
  • मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालका हिउँ र ताल
मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालका हिउँ र ताल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २२, २०८०
RBB RBB

मनाङ - हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ७५ वर्षीय याङदुङ गुरुङ आफ्ना उमेरसँगै यहाँको वातावरण फेरिएको देखेर अचम्मित भएको बताए । उनले भने, “विगतमा मानिस र जङ्गलका बोटबिरुवा फरक भएको देखिन्थ्यो । तर, अहिले त हिमाल र तालमा आएको फरकपनले अचम्मित बनाएको छ ।”

उनी भन्छन्, “हामी सानो छँदादेखि नै माथिल्लो मनाङको गङ्गापूर्ण तालको क्षेत्रफल निकै ठूलो रहेको थियो । अहिले बगर बनेको छ । ताल नै छैन । त्यही तालदेखि गङ्गापूर्ण हिमालसम्म मनमोहक हिउँ थियो, त्यो पनि अहिले छैन । आँखै अगाडि ताल सुक्यो, हिमाल हरायो ।” पहिले पहिले हिमालका हिउँ तलसम्मै आउने गरेको र अहिले माथि मात्रै देखिने गरेको याङदुङ बताए । 

उनी भन्छन्, “किन हो आजकल त हिमपातसमेत बेमौसममा हुन्छ । समयमा हिमपात हुनै छाड्यो । यसले यहाँ धेरै असर गरेको छ । समयमा हिउँ नपर्दा नै होला हिमाल नाङ्गिन थालेका छन् । हिउँ पनि माथि माथि सरेको जस्तो लाग्छ ।” उनलाई विस्तारै मनाङको स्थानीय स्तरको व्यवसाय पूर्ण रुपमा लोप नै हुन्छ कि भन्ने त्रास बढेको उहाँ बताए । याङदुङ भन्नुहुन्छ, “हिमाली भेगमा पानी भनेकै हिउँ हो । हिउँ नै नपरेपछि खेतीपाती र पशुपालन गर्न के सकिएला र खै ! हिमपात समयमा नहुँदा नै होला कहीँ ताल हराउने त कहीँ नयाँ ताल देखापर्ने भएको छ ।” 

जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा हिमाली जिल्लामा देखिइसकेको छ । जलवायु परिवर्तनका असरलाई समयमा नै न्यूनीकरण गर्न नसकिएमा नेपाललाई विश्वव्यापी रुपमा परिचित गराउने यी प्राकृतिक हिमालको स्वरुप कालापत्थर बन्नेछन् । नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ ४७ वर्ष अघिदेखिका प्राकृतिक संरचनामा धेरै परिवर्तन आएको बताए । उनी भन्छन्, “पहिले पहिले पर्यटकले मनास्लु हिमाल नजिकैको लार्के पिक आरोहण गरेको थाहा पाएका थियौँ । अहिले लार्के पिक हराएको छ ।” 

“मनास्लु हिमालको छेउको लार्के पिक देखाएर सरकारले आरोहणका लागि अनुमति दिएको छ । तर त्यो लार्के पिक अहिले छैन”, गुरुङले थपे “२०४३ सालसम्म लार्के पिक थियो । अहिले त्यो नाङ्गो डाँडा भइसकेको छ । यसबारे सरकारले अध्ययन नै गरेको छैन । यस्ता विषयलाई सरकारले गम्भीर रुपमा लिन सक्नुपर्ने हो ।” पथप्रदर्शकले लार्के पिक भनेर लार्के हिमाल आरोहण गराउन थालेको वर्षौं भइसक्यो । “

हिजो देखेको ताल आज देख्न नपाउने, हिजो देखेको हिमाल आज देख्न नपाउने । हाम्रै जीवनभरिमा ठूलो फेरबदल आएको छ”, गुरुङ भन्नुहुन्छ, “उच्च हिमाली क्षेत्रमा हामीले नजानिँदो हिसाबले जलवायु परिवर्तनको असर भोगिरहेका छौँ । बेलाबेलामा विपद खेप्नुपरेको छ । तर रोक्ने उपाय हामीसँग छैन र न्यूनीकरण गर्न समेत सकिरहेका छैनौँ ।”

पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङ आफ्नो उमेर बढेसँगै मौसममा आएको परिवर्तनले विश्व नै फेरबदल भएको लाग्न थालेको बताए । अरु क्षेत्रमा भन्दा जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा बढी देखिने गरेको उहाँको भनाइ छ । उनी भन्छन्, “यहीँको गङ्गापूर्ण ताल हेर्दाहेर्दै विलीन भयो । हामीले देखेका यी हिमनदी (ग्लेसियर) माथि सरेका छन् । यसलाई नियन्त्रण, न्यूनीकरण गर्नेतर्फ कसले सोचेको छ ?” नासों गाउँपालिकाका निवर्तमान अध्यक्ष चन्द्र घले भन्नुहुन्छ, “ताचै गाउँको डाँडामा असारसम्मै हिउँको थुप्रो हुन्थ्यो । कुनै वर्ष त बाहुनडाँडा (लमजुङ) सम्म परेको हिउँ लामो समय रहन्थ्यो । आजभोलि आरीघोप्टे पानी पो पर्छ । गएको वर्ष त हिउँ देख्न पनि पाइन्न भन्दा भन्दै बेमौसममा हिउँ पर्‍यो । त्यो पनि पर्याप्त परेन ।” 

खेतबारीमा पहिले भएका जीव किरा हराएको र नयाँ प्रजातिका किरा देखिन थालेका उनले बताए । “यहाँका डाँडाहरुमा भेटिने हाब्रे पनि लोप भएका छन् । डोना तालको बाटोबाट गोठमा जाँदा ४०–५० वटा हाब्रे भेट्थ्यौँ । एउटै रुखमा ५–७ वटा हुन्थ्यो । १० वर्ष अगाडि त हाब्रेको दिसासम्म देखिन्थ्यो । आजभोलि खोज्दा पनि देखिदैन”, उनले भने । 

हिमाली जिल्लामा विपद् 

विसं २०७८ मा मनसुनको सुरुआतमै विपद आइलाग्यो । मनाङमा बाढीले अधिकांश पूर्वाधारमा क्षति पुर्‍यायो । मस्र्याङ्दी किनारका बस्ती खण्डहर भए । विसं २०७८ जेठ १४ र असार १ गते अनावृष्टि भयो । अनावृष्टिले मनाङको भौतिक तथा प्राकृतिक क्षेत्रमा अधिक क्षति पुग्यो । जसबाट हालसम्म पनि मनाङ उठ्न सकेको छैन । मस्र्याङ्दी नदी किनार भएर यहाँका बस्ती बसेका छन् । विगतमा हिउँ पर्ने स्थानमा नै अहिले वर्षा हुन थालेको छ । यसले पनि यहाँका स्थानीयमा त्रास छ । 

मस्र्याङ्दीमा यस्तो ठूलो र क्षति पुर्‍याउने गरी बाढी कहिल्यै थाहा नपाएको यहाँका स्थानीय बताउँछन् । “नदी किनारमै झुप्प परेर बसेको बस्ती सखाप पर्छ भनेर नै सोचिएन । एक्कासी बाढी आउँदा हाम्रा जिजुबाजेको पालादेखि बसेको बस्ती सखाप भयो । हामीभन्दा पनि ज्येष्ठ व्यक्तित्वले समेत यस्ता बाढी आएको कसैले नदेखेको र नभोगेको प्रलय तालगाउँबासीले भोग्यौँ”, नासों गाउँपालिका–१ का वडाध्यक्ष मिनराशी गुरुङले भने, “अलिअलि जानेका मान्छेले जलवायु परिवर्तनको असर भनिरहेका छन् । परम्परागत बुझाइ अनुसार कली बहुलाएको भन्ने पनि गरिन्छ ।”

उनले तालगाउँका खोलामा बिस्तारै माछा भेटिन थालेको बता    उनुभयो । “यहाँका खोला नदीमा माछा नै पाइँदैन थियो । अहिले देखिन थालेको छ । यति चिसो पानीमा माछा हुर्किने परको कुरा, बाँच्दै बाँच्दैनथ्यो । पहिला पहिला हामीले माछा पाल्न प्रयास गरेका हौँ । तर ल्याएर हालिएको भुरा नै मरे”, उनले भने, “आजभोलि खोलामा माछा मज्जासँग खेलिरहेको देखिन्छ । अनौठै लाग्छ ।”

चिसो पानीमा हुने ट्राउट माछा मनाङमा व्यावसायिक पालन हुन थालेको छ । तर, विगतमा ट्राउट माछा बाँच्नै नसक्ने भए पनि अहिले व्यावसायिक रुपमा पाल्न थालिएको उनले बताए । नासों गाउँपालिका–६ तिल्चेका होटल व्यवसायी गुणराज गुरुङ भन्नुहुन्छ, “हिउँ पर्ने सिजन नै फेरिएको छ । हामीले उत्पादनमा जलवायु परिवर्तनको अनुभव गरिरहेका छौँ ।” उनले भने “पुस–माघमा बेस्सरी हिउँ पथ्र्याे । आजकल वैशाख, जेठमा पर्छ । यसको कारण के हो ? झारपातमा पनि धेरै फरकपन आएको छ । नौलो नौलो झारपात देखिन थालेका छन् । हाम्रो ठाउँमा खुर्सानी र गोलभेँडा हुन्थेन । आजभोलि व्यावसायिक खेती हुन थालेको छ । भेडेखुर्सानी मजाले उत्पादन भइरहेको छ ।”

यहाँ उत्पादन नै नहुने फलफूल तथा तरकारीको उत्पादन हुन थालेको उहाँ बताए । “प्याज, काँक्रो पनि उत्पादन हुन थालेको छ,” उनले भने, “यहाँको तापक्रममा पनि परिवर्तन आएको छ । विगतमा बाक्लो ज्याकेट र स्वीटर लगाएर बस्ने हामी अहिले दिउँसोमा टिसर्ट लगाएर बस्छौँ ।” गुणराज भन्नुहुन्छ, “कारण के हो भन्ने त हामी गाउँलेलाई के थाहा ? तर वर्षैपिच्छे दैनिकीमा ठुलो अन्तर भोगिरहेका छौं ।” हिउँ पर्ने स्थानमा अहिले झरी पर्न थालेको उनले सुनाए । 

दुई वर्षअघि तल्लो मनाङमा मात्रै होइन, जिल्लाको सुदूर उत्तरमा रहेका नार र फूमा पनि झरी पर्‍यो । हिउँ मात्रै पर्ने ठाउँ भएर यहाँका नागरिकले तातोका लागि माटोको घरमा माटोकै छानाले छाउँथे । अघिल्लो वर्षामा पानी पर्दा माटोको छाना चुहिन थाल्यो । केही घर बगायो पनि । “आम्मामा पहिलो पटक फूमा यत्रो ठूलो झरी पर्‍यो । गाउँलेको भागदौड नै चल्यो नि,” नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेञ्जिङ लामाले भने, “ग्लेसियर पग्लेर जमिन मरुभूमि जस्तो हुन थालेको छ । गाउँलेको जीवनमा धेरै सङ्कट आइरहेको छ ।” उच्च हिमालमा नयाँ ताल देखिन थालेको र पुराना तालहरु हराएको उहाँ बताए । 

नासों गाउँपालिकाको टुप्पोमा रहेको डोना तालको आकार निकै बढेको छ । सन् १९९४ मा नाप्दा तालको लम्बाई एक हजार तीन सय मिटर थियो । सन् २०११ मा नाप्दा दुई हजार पाँच सय मिटर पुग्यो । अहिले नाप्यो भने अझै बढेको छ । “तालको लम्बाइ बढ्यो, चौडाई चाहिँ घटेको छ । कुन दिन के हुने हो भनेर चिन्ता बढेको छ,” नासों–५ का वडाध्यक्ष थुतेन लामा भन्नुहुन्छ । अचेलका अव्यवस्थित विकासका कारण भू–क्षयका घटना बढेका उहाँ बताए । 

हिमाली क्षेत्रमा लामो समय अनुभव बटुलेका नरेन्द्र लामा हिमाली जलवायुले अस्वाभाविक रुप देखाएको बताए । “हामी हिमाली क्षेत्रको भ्रमण गर्दा हिजो जस्तो अवस्था थियो, आज त्यस्तो कहाँ पाउनु ? माथिल्लो क्षेत्रको स्वभाव धेरै फेरिएको छ,” उनले भने, “जङ्गलमा पहिरो झर्ने, बाढी आउने भइरहेको छ । गर्मीमा अधिक गर्मी र जाडोमा अधिक जाडो हुन थालेको छ ।” सरकारले समयमै जलवायु परिवर्तनको नियन्त्रणको उपाय खोज्नुपर्ने उहाँको भनाई छ । 

पर्याप्त हिउँ परेन

गत वर्ष मनाङमा हिउँद सकिन लाग्दासम्म पनि पर्याप्त हिउँ पर्न सकेन । विगतका वर्षमा हिमपातले आवागमन घरबाट बाहिर निस्कन नसकिने मनाङमा आवश्यक मात्रामा नै हिउँ परेन । गत वर्षको फागुन महिनाको मध्यसम्म हिमपात नै भएन । सो समयमा आंशिकमात्र हिउँ परेको सहायक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरे बताए । “पहिले पहिलेको जस्तो गत वर्ष हिउँ नै पर्न सकेन”, उनले भन्नुभयो, “यस वर्ष सुरुआती हिमपात भयो । जाडो सुरु भएको छ । डाँडा माथिल्लो भागमा भने हिउँ परेको देखिन्छ, तर बजार क्षेत्रमा हिउँ पर्न सकेको छैन ।”

गत वर्ष हिमपात बढी हुने क्षेत्र माथिल्लो मनाङमा आंशिक रुपमा हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका ओमबहादुर गुरुङले बताए । “विगतका वर्षमा हिउँले डाँडाकाँडा, भिरपाखा सेताम्मे भएर ढाकिएको हुन्थ्यो, गत वर्ष आंशिक रुपमा देख्न पनि मुस्किल भयो,” उनले भने ।

हिमपात नहुँदा यसले विशेष गरी कृषि क्षेत्रमा असर पर्‍यो, मनाङका कृषक चिन्तित भए । हिमाली जिल्लामा नै हिमपात नभएपछि यहाँका मानिस के खाएर बाँच्ने भन्ने चिन्ताले सताएको ताचैका सोलबहादुर गुरुङले बताए । “मनाङको मुख्य उत्पादन भनेको फापर, करु, जौ, आलु, कोलो, स्याउ हो, हिमपात नहुँदा पानीको अभावले यी कृषि उपज उत्पादन हुन पर्याप्त पानीको मात्रा पुगेन र यस वर्ष उत्पादन राम्रो भएन”, उनले भने । 

मनाङमा कात्तिकको अन्तिम सातादेखि मङ्सिरको पहिलो साताबाट हिमपात हुनुपर्ने भए पनि गत वर्ष फागुन अन्तिम सातासम्म हिमपात भएन । वातावरणमा परिवर्तन आएकाले मनाङमा पर्याप्त हिउँ पर्न नसकेको स्थानीय बताउँछन् । यसरी हिउँको पानी सिञ्चित भएर खेतीपाती गरिने स्थानमा हिमपात नहुँदा मनाङ लगायत हिमाली तथा उच्च पहाडी क्षेत्रका कृषकको उत्पादन घट्ने क्रम बढ्दो छ । 

 हिउँ चितुवाको संरक्षण 

हिउँ चितुवालाई हिमालको रानी मानिन्छ । यसले हिमाली क्षेत्रको वातावरणको सूचक पनि हो हिउँ चितुवा । अहिले हिमाली क्षेत्रमा नै लोपोन्मुख अवस्थामा पुगेका छन् ।लोपोन्मुख हिउँ चितुवाले वातावरण सन्तुलनको भूमिका खेल्ने भएकाले संरक्षण गर्नु आवश्यक रहेको हिउँ चितुवा संरक्षण केन्द्र पाङ्ग्जे फाउन्डेशनका संयोजक नरेन्द्र लामाले बताए । उनले भन्नुभयो, “हिउँ चितुवाको भूमिकालाई मानवले बुझ्न आवश्यक रहेको छ ।”
    
उनका अनुसार लोपोन्मुख हिउँ चितुवाको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने अवस्था रहेको छ । उनले भन्नुभयो, “अब हिउँ चितुवा र संस्कृतिको प्रवद्र्धन गर्दै पर्यटक आगमनलाई बृद्धि गर्नुपर्छ । हाम्रो मुख्य आयस्तर नै पर्यटन भएकाले यसको पनि उपयोग गर्नुपर्छ ।” हिउँ चितुवा बृद्धिले वातावरण सन्तुलनको सन्देश जाने उनले बताए । हिउँ चितुवाको वृद्धिले वातावरण सन्तुलन छ भनेर बुझ्न सकिन्छ भने चितुवाको सङ्ख्या घट्नुले जलवायु परिवर्तन भएको स्पष्ट सन्देश दिएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । उनले चितुवाको सङ्ख्या घट्नुले जलवायु खलबलिएको बताए । विश्वमा नेपाललाई हिउँ चितुवाको बासस्थानका रुपमा परिचित रहेको विज्ञ बताउँछन् । 

अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेल भन्नुहुन्छ, “हिउँ चितुवालाई हिमालको रानी भनिन्छ । हिमाली वातावरणको सूचक हिउँ चितुवा हो । जुन हिमालमा हिउँ चितुवाको राम्रो बासस्थान छ । त्यो हिमाली क्षेत्रको वातावरण सफा छ, स्वच्छ छ, हिमाली वातावरण सन्चो छ भनेर बुझिन्छ ।” 

विश्वका १२ वटा देशमा मात्रै हिउँ चितुवा पाइन्छन् । तीमध्ये पनि १० प्रतिशत नेपालका विभिन्न हिमाली क्षेत्रमा रहने गरेको छ । मनाङमा करिब २५ रहेको आङ्कलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङले जनाएको छ । कार्यालयका अनुसार केही वर्षयता चितुवाको सङ्ख्या घटेको अनुमान गरिएको छ । यसले कम सङ्ख्या हुने भए पनि विश्वको वातावरण सन्तुलनमा भूमिका खेल्ने विज्ञहरुको भनाइ छ । 

हिमाल काला पत्थर

वर्षमा दुई पटक हिमपात हुने मनाङमा आजकल हिमपात मुस्किलले हुन्छ । हिमपात नभएपछि यहाँका हिमशृङ्खला कालापत्थरमा परिणत भएको देखिन्छ । पुसदेखि माघसम्म हिउँले ढाकिएर सेताम्मे देखिनुपर्ने हिमालमा हिउँ कम देखिन थालेको स्थानीय याङ्दुङ गुरुङ बताए । उनले भन्नुभयो, “पहिलेजस्तो हिमपात अहिले हुँदैन । हिमपात हुन नसक्दा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन् ।” 

मौसम फेरिएर पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने गरेको उनले बताए । हिउँ कम पर्दा अन्नपूर्ण दोस्रो, तेस्रो, चौथो, चलु फरेस्ट, हिम्लुङ, मनास्लु, निलगिरी, तिलिचो पिक, थोराङ पिकलगायत हिमालको रङ उडेझै फिक्का देखिन थालेका छन् । मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले बताए । उनले जङ्गली फूलहरूमा समेत त्यसको प्रभाव देखिएको बताए । 
    
फेरिँदै व्यवसाय 

हिमाली क्षेत्रका किसान पनि परम्परागत पशुपालन व्यवसायलाई फेर्न बाध्य हुन थालेका छन् । पशुपालनका लागि वातावरणमा आएको परिवर्तनले निकै महत्व राख्ने गरेका मनाङको नासों गाउँपालिका–४ का पशु व्यवसायी सुरेश थकाली बताए । व्यावसायिक रुपमा पशुपालनमा लाग्नुभएका थकाली मौसम फेरिँदा पशुपालन घट्न थालेको उहाँ बताए । “पहिला याक, चौँरी गन्न नसक्ने गरी पालिन्थ्यो, अहिले त कति छ भनेर आँखा अगाडि फ्याट्टै भन्न सकिन्छ, वातावरणमा आएको परिवर्तनले चरणका खर्क माथि सरेका छन्”, उनले भन्नुभयो । पहिले करिब एक सय याक, चाँैरी पालेर दूध, मासुका लागि बिक्री गरेर आम्दानी गरिए पनि अहिले घट्दो क्रममा रहेको थकालीले बताए । 

थकालीको गोठमा अहिले झोपा (चौँरी र गाईको क्रस) पालिएको छ । याक, चाँैरीको चरण क्षेत्र घट्ने क्रममा रहेकाले झोपा पाल्न थालेको उनले बताए । “पशुपालक किसान आजभोलि लेकका खर्कतर्फ जान चाहँदैनन् । खर्कमा याक, चाँैरी पाल्न सकिँदैन । पहिला ६०÷७० याक, चौँरी पालेको थिएँ, अहिले ४०÷५० झोपा पाल्न थालेको छु”, व्यवसायी थकालीले भने । 

ढुवानी र ऊनका कपडा लोप हुँदै

विकट तथा हिमाली जिल्लामा पशुपालनका रुपमा रहेको याक, चौँरी, घोडा, खच्चर ढुवानीका प्रमुख साधन हुन् । मोटरेबल सडक निर्माण भएसँगै ढुवानीका प्रमुख साधन नै फेरिएको छ । विगतमा जिल्लामा सामान ढुवानीका लागि नै याक, चौँरीको प्रयोग गरिन्थ्यो । गणना गर्न नसकिने याक चौँरीलाई भारी बोकाएर एक स्थानबाट अर्को स्थानमा सामान ल्याउने लैजाने गरिन्थ्यो । तर, अहिले मनाङमा यस्तो गरिन्थ्यो भन्ने कुरा कथा मात्रै बनेका छन् । 

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामा भन्नुहुन्छ, “हामीले मनाङमा स्थलमार्गको ट्रयाक नबन्दै गर्दा याक, चौँरीमार्फत सामग्री ढुवानी गरेको देखिन्थ्यो । तर, यो अहिले पूर्ण रुपमा हराएको छ । अहिले त हामीलाई पनि कथा भनेको जस्तो लाग्छ ।” “तल्लो मनाङबाट माथिल्लो मनाङ याकचौँरीमार्फत नै सामान ढुवानी हुन्थ्यो,” उनले भन्नुभयो । अहिले सडक र पशुपालनमा कसैको पनि चासो नहुँदा ढुवानी होइन आम्दानीका स्रोत नै फेरिँदै गएको उहाँको बुझाइ छ । याक चौरीँको माध्यमबाट नै मनाङमा कृषि व्यवसाय जोत्न र सामग्री ढुवानी गर्न प्रयोग गरिन्थ्यो । तर, अहिले यसको प्रयोग घटेको छ ।

हिमाली क्षेत्रमा भेडाच्याङ्ग्रा प्रशस्त पाल्ने र यिनैको ऊनबाट बनाइएका कपडा प्रयोगमा हुन्थे । बाह्य कपडा आयात गर्ने प्रचलन थिएन । तर, अहिले यसको प्रयोगमा पनि परिवर्तन आएको छ । याक, चौँरी, भेडाच्याङ्ग्राको ऊनबाट बनाइएको लुगा नै लगाइन्थ्यो । अहिले त कुन देशबाट आउँछ भन्ने भन्न सक्ने अवस्था नरहेको स्थानीय बताउँछन् । यहाँका पुराना मानिसले याक, चौँरी र भेडाच्याङ्ग्राको ऊनबाट बनेका भाङ््ग्रालगायत कपडा उत्पादन गर्न कम भएको छ । 

लामाले पशुपालन घटेसँगै ऊनका सामग्री बनाउन पनि कम भएको बताए । याक चौँरी कम पाल्न थालिएपछि सामग्री ढुवानी र यात्राको सहजताका लागि यस पालिकालाई सडक सञ्जालसँग जोड्न थालिएको अध्यक्ष लामाले बताए । पशुपालक किसानलाई आकर्षित र व्यवसायलाई निरन्तरता दिनका लागि स्थानीय सरकारले प्रोत्साहन गर्न उन्नत प्रजातिका याकका ब्याडमा ५० प्रतिशत अनुदान दिएको छ । पशुपालनलाई निरन्तरताका लागि ल्याइएको योजनाले यहाँका पशुपालक कृषकलाई प्रोत्साहन मिल्ने स्थानीय सरकारले अपेक्षा गरेको छ । 

हिमाली क्षेत्र मनाङमा हिउँदमा समेत आवश्यक हिउँ नपर्दा याक, चौँरी र भेडाच्याङ्ग्राको चरन क्षेत्रमा जलवायु प्रदूषणको प्रत्यक्ष प्रभाव देखिएको छ । कृषि र पशुपालन व्यवसायका लागि पानी अत्यावश्यक मानिन्छ । तर यहाँ सुक्खा र खडेरी भएर मरुभूमिको आभास हुन थालेको छ । हिउँ नपर्दा यहाँ पानीको अभावले कृषि र पुशपालनमा असहज भएको कृषकको भनाइ छ । पानीको अभावले चरन क्षेत्र घटेको किसान बताउँछन् । यसले गर्दा पशुपालन र कृषि क्षेत्र प्रभावित भएको उनीहरुको भनाइ छ । हिमपात समयमा भएको भए बिरुवा र पशुपक्षीले खानेपानीको जोहो हुने थियो । तर अहिले खोला, नदीको भर पर्नुपर्ने अवस्था रहेको उनीहरु बताउँछन् । पानी नै मुख्य आवश्यकता हो । मौसम प्रतिकूल हुँदा यहाँ पशुपालन घट्ने अवस्था देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मनाङले जनाएको छ । 

सङ्कटमा पदमार्ग

लामो समय हिमाली जिल्ला मनाङ पुग्न पदयात्राबाट मात्रै पुगिन्थ्यो । पदयात्रामार्फत नै यहाँको रमणीय स्थलमा रमाउन विदेशी पर्यटक आउने गर्दथे । स्थानीय पर्यटक कमै पुग्ने भए पनि विदेशी पर्यटक पदयात्रामा रमाउँदै मनाङका रमणीयस्थलमा पुग्थे । तर, मनाङ पुग्न सहज बनाउने उद्देश्यले ३१ वर्षअघि नेपाली सेनाले स्थलमार्गको ट्र्याक खोल्यो ।

नेपाली सेनाले २०६९ सालमा लमजुङ सदरमुकाम बेँसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्मको ६५ किलोमिटर सडकको ट्र्याक खोलेर यात्रा सहज बनाइयो । सेनाले सडक निर्माण गरेर सरकारलाई हस्तान्तरण गर्दा यस भेगका धेरै जनामा खुसियाली छाएको थियो । यस सडक सञ्जाल निर्माण भएपछि भने यहाँका स्थानीय, पर्यटक र भारी बोकेर दैनिकी चलाउने मजदुरलाई भने असर गरेको छ । यसले पदमार्ग नै प्रभावित भएको छ । 

केही स्थानमा पदमार्ग र सडक एउटै बनेका छन् । यसले स्थानीय, पर्यटक र ज्यालादरी मजदुरलाई प्रत्यक्ष प्रभाव परेको छ । सडक सञ्जाल जोड्ने क्रममा भारी बोकेर दैनिकी चलाउने मजदुरलाई पर्ने प्रभावका विषयमा कसैको चासो दिएन । यही कारण अहिले पदयात्रीले सकस भोगिरहेका छन् । साथै मनाङको माथिल्लो क्षेत्रमा पनि सडक सञ्जाल पुर्‍याइयो । मनाङ सदरमुकाम चामे पुगेको सडक विसंं २०७१ मा त्यहाँभन्दा २५ किलोमिटर टाढा सडक सञ्जालसँग जोडियो । यसको तीन वर्षपछि त्यहाँभन्दा ६ किलोमिटरमाथिको खाङ्सारसम्मै सडकले जोडिएको छ । 

लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्ग (अन्नपूर्ण सर्किट) को यात्रा मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ (पाँच हजार चार सय १६ मि.) पार हुँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम र म्याग्दीबाट पोखरासम्म पुगेर टुङ्गिन्छ । यस पदमार्गसम्मै सडक पुगेपछि कैयौँ पदमार्ग भत्किएका छन् । कैयौँ पदमार्गबाटै सडक त कैयौँ पदमार्ग नै मेटिएका छन् । पहाडी र उच्च हिमाली भेगको यातायातलाई सहज बनाउन निर्माण गरिएका सडक सञ्जालका कारण २१ दिनको पदमार्ग अहिले सातदेखि १० दिनमा पूरा गर्न सकिने भएको छ । यसको मारमा यहाँका भरिया मात्रै होइन, स्थानीय उद्यमी र पर्यटन व्यवसायी पनि परिरहेका छन् । 

मनाङमा विसं २०५० सम्म खासै होटल थिएनन् । चक्रीय अन्नपूर्ण पदमार्गको पनि प्रचारप्रसार थिएन । सन् १९९२ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) स्थापना भएपछि यसले संरक्षण र पर्यटन क्षेत्रको काम गर्न थालेको हो । सन् १९९६ देखि पदमार्गमा आउने पर्यटकको तथ्याङ्क लिने र यसको प्रचारप्रसार हुन थालेका बताइन्छ । त्यतिबेलासम्म पनि मनाङमा सामग्री ढुवानीमा अन्य कुनै पनि साधन प्रयोग हुँदैन थियो । भरियाले बँेसीसहरबाट पाँच÷६ दिन लगाएर भारी बोकेर सामग्री पुर्‍याउने गरिन्थ्यो । 

सडक सञ्जालको अभावमा पर्यटक र स्थानीय कतै–कतै डोरी र भर्‍याङमार्फत हिँड्थे । यही बेला धेरै भरियाले रोजगारी पाएको पर्यटन व्यवस्थापन समिति मनाङका अध्यक्ष विनोद गुरुङ बताए । उनका अनुसार अझै पनि सवारी नचलेको केही ठाउँमा पर्यटकका व्यक्तिगत सामान बोक्नलाई भरिया प्रयोग गरिन्छ । तर, कम मात्रामा प्रयोग गर्ने गरिन्छ । “गाडी चलेपछि खच्चड र भरिया विस्थापित हुने क्रममा छ, अहिले खच्चड र भरिया सडक सञ्जाल नै नजोडिएको नार्पाभूमिमा मात्रै प्रयोग हुन्छ”, उनले भने । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार सन् २०१३ अघिका वर्षमा यस पदमार्गमा बर्सेनि १९ हजारको हराहारीमा विदेशी पर्यटक आउने गर्दथे । सन् १९९९ मा आठ हजार बढी पर्यटकले यस पदमार्गको भ्रमण गरेका थिए । पर्यटकको तथ्याङ्क राखिए पनि कुनै पनि निकायले भरियाको तथ्याङ्क सङ्कलन गरेको छैन । बेँसीसहरसम्म मोटर चल्ने भएकाले पर्यटकहरू बेँसीसहर बास बस्न आइपुग्थे । बेँसीसहरबाटै भरियामार्फत सामग्री लैजाने गर्दथे । 

गाडी गुड्न थालेपछि यहाँको ग्रामीण अर्थतन्त्र फेरिएको छ । धान, मकै र कोदो खेती नहुने मनाङमा आलु र फापर राम्रो उत्पादन हुन्छ । मनाङको आलु धेरैजसो मनाङमै खपत हुन्छ । सडक सञ्जाल पुगेपछि यहाँको आलु देशका प्रख्यात सहरमा रहेका होटलमा खपत हुने गरेको पाइन्छ । पहिलेको तुलनामा खेती गर्न कम भए पनि माग भने बढेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जानकारी दिए । उनका अनुसार अहिले मनाङमा उत्पादित आलु, फापर बेँसीसहर हुँदै पोखरा–काठमाडौँसम्म पुग्छ । यहाँको यातायात चले पनि यहाँबाट सामग्री बजारसम्म पुर्‍याउन भने सहज छैन ।  

यहाँको रहनसहन, पहिरन, खानपान, पशुपालन, व्यावसायिक फेरिनुले नै जलवायु परिवर्तन भएको बुझ्न सकिन्छ । अहिले मनाङमा ऊनको कपडा बाहिरबाट आयात हुने गरेको छ । विगतमा भन्दा यहाँको तापक्रममा पनि परिवर्तन आएको छ । यहाँको वातावरणलाई सन्तुलनमा ल्याउन मनाङवासीले मात्र नभई सरकारले नै कदम चाल्नुपर्ने देखिन्छ । स्थानीयलाई प्रत्यक्ष प्रभाव पारिरहेका विषयलाई गम्भीर अध्ययन गरी बेलैमा ध्यान दिन मनाङवासीले अनुरोध गरेका छन् । 
 


प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
बुद्ध जयन्ती तीन दिनसम्म मनाउने
बुद्ध जयन्ती तीन दिनसम्म मनाउने आइतबार, वैशाख २८, २०८२
लागूऔषध दुर्व्यसनरहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम  सम्पन्न
लागूऔषध दुर्व्यसनरहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम  सम्पन्न आइतबार, वैशाख २८, २०८२
धर्म निरपेक्षता र समावेशी व्यवस्थाको विकल्प छैनः सञ्चारमन्त्री गुरुङ
धर्म निरपेक्षता र समावेशी व्यवस्थाको विकल्प छैनः सञ्चारमन्त्री गुरुङ आइतबार, वैशाख २८, २०८२
प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित
प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित आइतबार, वैशाख २८, २०८२
प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित आइतबार, वैशाख २८, २०८२
प्रधानमन्त्रीले  सारे १७ नयाँ नीति
प्रधानमन्त्रीले सारे १७ नयाँ नीति आइतबार, वैशाख २८, २०८२
 राजावादीका सपना पूरा नहुने : प्रधानमन्त्री
 राजावादीका सपना पूरा नहुने : प्रधानमन्त्री आइतबार, वैशाख २८, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP