

मोदीले भने, “हम साथसाथ है”
नयाँदिल्ली– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणमा सोमबार बिहानै भारत ओर्लिए । आफ्नो नीजि विमानमा ओर्र्लिएका ट्रम्पलाई भारतमा भव्य स्वागत गरिएको थियो ।
भारतको गुजरातबाट भारतको भ्रमण पहिलो भ्रमण सुरु गरेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमानबाट ओर्लिनेवित्तिकै अँगालो हालेका थिए । गुजरात मोदीको गृहनगर पनि हो । सोमबार गुजरातको अहमदाबादको सरदार वल्लभभाइ पटेल विमानस्थल उत्रिएका ट्रम्प दम्पतिलाई स्वागत गर्न प्रधानमन्त्री नरेन्द्र मोदी प्रोटोकल तोडेर विमानस्थल नै पुगेका थिए ।
प्रधानमन्त्री मोदी निर्धारित कार्यक्रमअनुरुप राष्ट्रपति ट्रम्पलाई अहमदाबादको सावरमती आश्रमको अवलोकन गराएर मोटेरा क्रिकेट स्टेडियममा ‘नमस्ते ट्रम्प’ कार्यक्रममा सम्बोधन गर्न पुगेका थिए ।
गत वर्ष जुनमा अमेरिका भ्रमणमा पुगेका मोदीको सम्मानमा प्रवासी भारतीय अमेरिकीहरुले आयोजना गरेको ‘हाउडी मोदी’ कार्यक्रममा ट्रम्प र मोदीले त्यहाँ सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा ट्रम्पको उपस्थितिलाई उनको प्रवासी भारतीय अमेरिकी समुदायको ‘भोट बैंक रणनीति’ भन्दै टिप्पणी गरिएको थियो ।
चीनको बीआरआई र अमेरिकाको इण्डो प्यासिफिक रणनीतिअनुरुप विश्वको धार विभाजित हुँदा अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँगको तनावग्रस्त व्यापारिक सम्बन्धको विकल्पको रुपमा भारतलाई हेरिएको छ । भारतको टाउको दुखाई बनेको आतंकवादविरुद्ध अमेरिकाको साथ र समर्थन भारतको प्राथमिक आवश्यकतामा छ । त्यसबाहेक बीआरआईमा समर्थन नजनाएको भारत चीनतर्फबाट पनि सधैं दबाबमा रहेको छ । यसैबेला ट्रम्पले भारत भ्रमण गरेका छन् ।
दुवैको चासोलाई नमस्ते ट्रम्पको मञ्चबाट ट्रम्पले सम्बोधन गरेका थिए । दक्षिण एशियाको उदाउँदो शक्ति राष्ट्र भारतबाट विश्व समुदायलाई सम्बोधन गर्दै ट्रम्पले आतंकवादविरुद्ध भारतको सहकार्यको प्रशंशा गरे । उनले भने, ‘हरेक राष्ट्रसँग सुरक्षा र सीमा नियन्त्रणको हक हुन्छ । अमेरिका र भारतले आतंकवाद रोक्न त्यसविरुद्ध लडिरहेका छन् ।’ ट्रम्पको यो भनाइबाट आतंकबादविरुद्ध भारतले चालेका कदमलाई थप बल मिल्ने विश्लेषकहरुको अनुमान छ । सोही मञ्चमा राष्ट्रपति ट्रम्पले भारत, भारतीय जनता र भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा गर्दै लामो मन्तव्य दिएका थिए ।