- आइसियूमा राखेर उपचार थालिएको लमजुङकी ५७ वर्षीया सुकमाया दुराको मृत्यु भएपछि पोखरास्थित मणिपालका चिकित्सकमाथि आक्रमण भएको हो
- भीड नियन्त्रण गर्ने क्रममा चिकित्सकले प्रहरीको लाठीसमेत खानुपरेको थियो
- बिरामीको मृत्युको विषयमै भदौ २८ गते हेटौंडामा रहेको सञ्चो अस्पतालका डाक्टर प्रशान्त थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो
काठमाडौं– मकवानपुरको सञ्चो अस्पतालका डाक्टर कुटिएको केही दिन नबित्दै पोखराको मणिपाल अस्पतालमा पनि चिकित्सक कुटिएका छन् । गत भदौ २८ गते आफ्नो आफन्तको मृत्यु भएको भन्दै हेटौंडामा रहेको सञ्चो अस्पतालका डाक्टर प्रशान्त थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो ।
लगत्तै चिकित्सकहरु भदौ ३१ गते सडकमा आएका थिए । सोही दिन साँझ सरकार र चिकित्सकबीच छ बुँदे सहमति भएको थियो । उक्त सहमति भएको हप्तादिनमै पोखरामा चिकित्सकमाथि आक्रमण भएको छ । आइसियूमा राखेर उपचार थालिएको लमजुङकी ५७ वर्षीया सुकमाया दुराको मृत्यु भएपछि पोखरास्थित मणिपालका चिकित्सकमाथि आक्रमण भएको हो ।
लमजुङ सुन्दरबजार नगरपालिका–६ की दुरालाई सोमबार बिहानै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । सोमबार दिउँसो १ बजे दुराको मृत्यु भयो । त्यसपछि उनका आफन्त आक्रोशित बने । बिरामीका आफन्तले डाक्टर अनिल शाहमाथि कुटपिट गरेको चिकित्सकको आरोप छ । बिरामीका आफन्तले भने चिकित्सकले अभद्र व्यवहार गरेका कारण घटनाले अर्कै मोड लिएको आरोप लगाएका छन् । कस्तो औषधि दिइएको थियो, अप्रेसनबारे किन जानकारी नदिएको भन्दै प्रश्न गर्दा आफन्तलाई चिकित्सकले अभद्र व्यवहार गरेको उनका आफन्तहरुको आरोप छ । त्यसपछि मृतकका आफन्त पनि अस्पतालमा जम्मा भएको र अनियन्त्रित भिडले चिकित्सकमाथि आक्रमण गरेको बताइएको छ । भेला भएका आफन्तले नाराबाजी गर्दा चिकित्सक पनि नारामा उत्रिए । भीड साम्य पार्न प्रहरी अस्पताल पुगेको थियो ।
चिकित्सकमाथि प्रहरीको पनि लाठी
भीड नियन्त्रणमा पुगेका प्रहरीबाट चिकित्सकमाथिसमेत कुटपिट भएको छ । भुइँतलामा जम्मा भएको आफन्त र आक्रोशित भीडलाई माथिल्लो तलाबाट चिकित्सक समूहबाट बोतल प्रहार तथा गालीगलौचमा उत्रिएपछि प्रहरीले चिकित्सकलाई लाठीचार्ज गरेको बताइएको छ । सुरक्षाका लागि खटिएका प्रहरीलाई ‘सुरक्षा चाहिँदैन’ भन्दै चिकित्सकले थर्काएको प्रहरीको आरोप रहेको छ ।
त्यसपछि प्रहरीले नै चिकित्सकमाथि कुटपिट गरेका थिए । चिकित्सकलाई कुटपिट गरेको विषयमा प्रहरी निरीक्षक मदन श्रेष्ठले बोलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । ‘मैले साफ चुटेर आएको छु, रगतै रगत बनाएर,’ श्रेष्ठले अश्लील शब्द प्रयोग गर्दै बोलेका छन् ।
चिकित्सक दिनेशकुमार विकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डा.मीनबहादुर गुरुङको रोहबरमा डा. गिरिधारी शर्माको जिम्मा लगाएर पठाइएको प्रहरीले जनाएको छ । चिकित्सक कुटपिटमा संलग्न विजय गुरुङलाई प्रहरीले नियन्त्रण लिएको छ । उनलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिएका छन् ।
सुकमायालाई भएको के थियो ?
उपचारमा संलग्न चिकित्सका अनुसार बिरामीको अवस्था नाजुक थियो । स्थानीय स्वास्थ्य संस्थाबाट रिफर गरिएका उनका अवस्थाबारे अस्पताल प्रशासनले भनेको छ, ‘शरीरमा ब्लड प्रेसर अत्यन्तै न्यून रहेको अवस्थामा स्थानीय क्षेत्रका स्वास्थ्य संस्थाहरुबाट रिफर भई आएका बिरामीको स्वास्थ्य अवस्था नाजुक रहेको र उहाँलाई बचाउन चिकित्सकले सक्दो प्रयास गर्ने चिकित्सकको परामर्श स्वीकार गरी उपचार गराउन मञ्जुर हुने तर उपचारको क्रममा बिरामीको मृत्यु भएपछि अन्य कुनै कुण्ठित उद्देश्य लिएर चिकित्सकमाथि आक्रमण गर्ने कार्य निन्दनीय छ ।’
उनका अनुसार बिरामीको अवस्था नाजुक हुँदै गएपछि चिकित्सकले सिपिआर प्रोसेस चालु गरेका थिए । सिपिआर प्रोसेस चालु भइसकेपछि चिकित्सकले बिरामीका आफन्तलाई उनको नाजुक अवस्थाबारे जानकारी दिइसकेको थियो ।
‘उहाँको उपचारका लागि डाक्टर र अस्पतालले लिनुपर्ने अनुमति कबुलियतनामा लिएको थियो । निजलाई उपचारका क्रममा कुनै शल्यक्रिया वा भेन्टिलेटरमा राख्ने र सघन उपचार कक्षमा राखी उपचार गर्ने लिखितरुपमा निजका आफन्त, अभिभावकसँग अनुमति र स्वीकृति लिएर नै उपचार गरिएको हो,’ अस्पतालले भनेको छ, ‘उपचारको क्रममा कुनै कमजोरी वा त्रुटि अस्पताल वा डाक्टरलगायत संलग्न कुनै व्यक्ति वा पक्षबाट भएको÷गरिएको छैन ।’
अस्पतालले चिकित्सकमाथि भएको आक्रमणप्रति आपत्ति जनाएको छ । ‘अस्पतालमा बिरामीको उपचारमा संलग्न भइरहेको अवस्थामा भएको सांघातिक आक्रमणप्रति हाम्रो गम्भीर आपत्ति छ,’ अस्पतालको विज्ञप्तिमा भनिएको छ, ‘यसरी अस्पतालमा बिना कुनै कसूर चिकित्सकमाथि भौतिक आक्रमण गरी गम्भीर रुपमा घाइते बनाउने पक्ष र व्यक्तिमाथि कडा कारबाही गर्न माग गर्दछ ।’
अस्पतालमा उपलब्ध सबै सेवा सुविधा प्रयोग गर्दै चिकित्सकले अथक प्रयत्न गर्दा पनि सवा एक बजे मृत्यु भएको घटनालाई अनावश्यक मुद्दा बनाएर डाक्टरमाथि कुटपिट गरिएको अस्पतालले जनाएको छ ।
चिकित्सक कुट्नेलाई कारबाही हुन्छ ः गृहमन्त्री
काठमाडौं (प्रस)– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुव्र्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघलगायत स्वास्थ्यकर्मीसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिसँगको छलफलमा श्रेष्ठले स्वास्थ्यकर्मीलाई दुव्र्यवहार र कुटपिट हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘चिकित्सकको चासो र चिन्ता पूरा गर्न सरकार प्रतिबद्ध छ, मुलुकमा विधिको शासन लागू हुन्छ, चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था सरकारले मिलाउँछ,’ उनले भने । चिकित्सकमाथि दुव्र्यवहार र आक्रमण गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उनले आन्दोलनरत चिकित्सकलाई बिरामीको सेवामा फर्कन आग्रह गरे ।
‘चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि शारीरिक आक्रमणको घटना भएका छन् । त्यसमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही अगाडि बढ्छ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘त्यसमा कुनै प्रकारको द्विविधा नराख्न र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन मातहतको निकायलाई कडा निर्देशन जारी भइसकेको छ ।’
छलफलमा स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सकमाथि दुव्र्यवहार र आक्रमणको घटना बढ्दै जाँदा अराजक स्थिति सिर्जना हुने भएकाले बेलैमा सावधानी अपनाउन आवश्यक रहेको बताए । उनले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा सरोकारवालासँग छलफल गरिएको बताए । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले सरकारले चिकित्सकको अभिभावकत्व ग्रहण गर्नुपर्नेमा जोड दिँदै ढुक्क भएर काम गर्ने वातावरण बनाइदिनुपर्ने बताए ।
कार्कीले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्न आग्रह गरे । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले कुनै पनि बहानामा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार तथा स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्ने बताए ।
छलफलको निष्कर्ष
छलफलले देशभरका विभिन्न स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण गर्नेलाई कडा कारबाही गर्ने निष्कर्ष निकालेको छ । बैठकले स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील पेसामा रहेका व्यक्तिमाथि कुटपिट गर्नेलाई चिकित्सक तथा स्वास्थ्यकर्मी एवं स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्ने र त्यसका लागि मातहतका निकायमा सर्कुलर जारी गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले देशभरका अस्पताल र स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा भौतिक आक्रमण गरेको अवस्था तथा चिकित्सक र स्वास्थ्यकर्मीबाट उपचारका क्रममा कमजोरी गरेको भए कारबाही गर्ने ऐनको प्रावधानका बारेमा सबै स्वास्थ्य संस्थामा जानकारीमूलक सूचना पाटी राख्ने निष्कर्ष निकालेको छ । यसको समन्वय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्नेछ ।
‘कुनै उपचाररत बिरामीको पक्षलाई ठीक ढंगले उपचार नभएको वा कमजोरी भएको भन्ने लाग्यो भने त्यसबारेमा अनुसन्धान गर्ने ठाउँ छ, बिरामीपक्षका तर्फबाट उजुरी ग¥यो भने अनुसन्धान हुन्छ, चिकित्सक तथा स्वास्थ्यकर्मीबाट गल्ती भएमा कारबाही हुने प्रावधान सोही ऐनमा छ,’ उपप्रधानमन्त्री श्रेष्ठ भने, ‘त्यसो नगरी स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण वा स्वास्थ्य संस्थामाथि आक्रमण ग¥यो भने त्यही ऐनको प्रावधानअनुसार कारबाही र सजाय हुनसक्ने छ भन्ने व्यहोराको जानकारी छिट्टै स्वास्थ्य मन्त्रालयले राख्नेछ ।’