

तेह्रथुम– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औँ जन्मोत्सव अवसरमा आठराई क्षेत्रका चार सयभन्दा बढी ज्येष्ठ नागरिकलाई कपडा र दुई हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
प्रधानमन्त्री ओली आइतबार आफ्नो जन्मस्थान आठराई गाउँपालिका–४ ईवामा रहेको जन्मघर आएका थिए । उनले आइबतार नै आफ्नो घरबाट जननेता मदन भण्डारीको जन्मघर ताप्लेजुङको ढुंगे साँघु जोढ्ने ६५ किलोमिटर सडकको पनि शिलान्यास गरेका छन् ।
आफ्नो ६९औँ जन्मदिन मनाउन आठराई–४ ईवामा रहेको जन्मघर आइपुगेका प्रधानमन्त्री ओलीले सो सडकखण्डको शिलान्यस गर्दै सरकार विकास निर्माणको काममा आक्रमक रूपले लागेको बताए ।
आफ्नै जन्मघरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले घरमै आएर जन्मोत्सव मनाउन पाउँदा खुशी लागेको बताए । ओलीले आफ्नै जग्गामा अनुसन्धानको प्राविधिक शिक्षालय सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि आवश्यक जग्गा आफैँले उपलब्ध गराइदिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
उनले प्राविधिक शिक्षालय सञ्चालनका लागि जग्गाको अन्य कानूनी प्रक्रिया सबै पूरा भइसकेकाले चालू आर्थिक वर्षभित्रै काम अघि बढ्ने बताए । उनले कृषि शिक्षाका लागि चाहिने आवश्यक जग्गा आफैँले व्यवस्थापन गरी दिएको बताउँदै भने, ‘यही घरमुनीको टारबारीमा कृषि शिक्षालय खोल्ने हो, त्यसका लागि मैले नै जग्गा दिने हो ।’
सबै युवालाई सस्तो ब्याजदरमा कृषि कर्जा दिएर भए पनि सरकार कृषि अभियानमा लागेको प्रधानमन्त्री ओलीको भनाइ थियो । भारी नपुगेर कृषि उत्पादनले बजार नपाएको भन्दै ओलीले प्रर्याप्त मात्रामा स्कुस, बेमौषमी तरकारी, फलफल लगायतका कृषि उपज उत्पादन गर्न गाउँलेलाई आह्वान गरे । स्कुसका लागि आफ्नो जन्म घरको गाउँको हावापानी राम्रो रहेको भन्दै प्रधानमन्त्री ओलीले स्कुस बढीभन्दा बढी उत्पादन गरेर विदेश निर्यात गर्न आह्वान गरे ।