काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ दार्चुलाको व्याँस गाउँपालिका वार्ड नं. १ स्थित छयाँलेक तिंकरमा बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरेको छ । बिओपीको सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले उद्घाटन गरेका छन् । सशस्त्र प्रहरी बल, नेपाल नं. ५० गुल्म छाङ्गरु दार्चुलाको मातहतमा स्थापना भएको बिओपी गुल्मबाट करीव ११ किलोमिटरको दुरीमा रहेको छ ।
यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङ्गको ओलाङचुङगोला सहित ८ ठाउँमा बिओपी स्थापना गरी सकेको छ । तिंकरमा स्थापना भएको बिओपी सहित चीनतर्फ ९ वटा र भारततर्फ २ सय ४३ गरी बिओपीको संख्या २ सय ५२ वटा पुगेको छ ।
तिंकरमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा रहने बिओपी स्थापनाको लागि हेलिकप्टरमा आवश्यक बन्दोबस्ती र जनशक्ति भाद्र १३ गते त्यसतर्फ पु¥याईएको थियो । सो बिओपीका लागि एउटा भवन निर्माण गरिएको छ । नयाँ स्थापना भएको बिओपीबाट छिमेकी मुलुकहरु भारतको नाभिडाङ्ग र चीनको ताक्लाकोट बजार नजिकै पर्दछ ।