झापा– मेचीनगर वडा नं-६ का ५१ वर्षीय कोइला व्यवसायी दुर्गाप्रसाद दाहाल विगत अढाइ महिनादेखि सम्पर्कविहीन भएका छन । परिवारका सदस्यले खोजीका लागि प्रहरीलाई अनुरोध गरेका छन ।
भारतबाट कोइला आयात गरेर नेपालमा रहेका इँटा उद्योगमा आपूर्ति गर्ने व्यवसाय सञ्चालन गर्दै आएका दुर्गाप्रसादसँग गत असार २ गते अन्तिम पटक फोनमा सम्पर्क भएको उनकी पत्नी शोभा दाहालले बताइन् ।
उनले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा खोजीका लागि निवेदन दिएको जनाइन् ।
प्रहरीले सचित्र हुलिया विभिन्न प्रहरी इकाइमा पठाएर र फोनमा भएको कल विवरण विश्लेषण गरेर खोजीकार्य गरिरहेको इप्रका काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।
दाहालका चार वर्षीय एक छोरा र १८ वर्षीया छोरी छन । उनकी पत्नी शोभाले नातागोता, साथी र प्रहरीको सहयोगमा खोजीकार्य जारी रहेता पनि पत्ता लाग्न नसकेकामा चिन्ता व्यक्त गरिन् ।
‘प्रहरी, नातागोता र साथीभाइ सबै गुहारिसक्यौँ, भेटिनुभएको छैन’, श्रीमतीले भनिन्, ‘कहिल्यै घर झगडा पनि भएको थिएन, आर्थिक व्यवहारको पनि तनाब थिएन । उनहाँको खोजीमा सघाइदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु ।’