काठमाडौं – ‘हेलो सरकार’को सेवा अब २४ सै घण्टा उपलब्ध हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको हेलो सरकार सेवालाई दैनिक तीन सत्रमा विस्तार गरेर २४सै घण्टा सञ्चालन प्रक्रियाको शुभारम्भ गरे ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको कार्यक्रम शुभारम्भ गरेका हुन् ।
समारोहमा नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृत, हेलो सरकार कक्षमा कार्यरत कर्मचारी सहभागी थिए ।यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकामा विस्तारित गरिएको कार्यक्रममा आइतबारबाट एनसेलको नेटवर्कबाटसमेत गुनासो राख्न सकिनेछ । गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्सएपलगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ । हेलो सरकारको डेस्कले प्राप्त गुनासो तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ ।
हेलो सरकार २४सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ । त्यसका लागि नेपाल सरकारका तीन जना उपसचिवसहित २५ जना कर्मचारी खटाइएको छ ।हेलो सरकारमा आएका गुनासोहरू गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था मिलाइएको छ । साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित गुनासोहरू सीधै सम्बोधन पनि हुनेछ ।
गुनासोहरू सम्बोधनका निम्ति ‘¥यापिड रेस्पोन्स टिम’समेत गठन गरी कार्यान्वयनमा ल्याइएको मुख्यसचिव डा. वैकुण्ठ अर्यालले जानकारी दिए । उक्त टिमले सम्बन्धित निकायमा पठाइएका गुनासोहरू कार्यान्वयन भए वा नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ । सो अवसरमा प्रधानमन्त्री दाहालले जनताका समस्यालाई गम्भीरतापूर्वक लिई समाधान गर्न निर्देशन दिएका छन् । उनले जनताका गुनासो जति गम्भीरतापूर्वक सम्बोधन हुने बताए ।
‘जनताको गुनासो सुनिएन भन्ने मत पनि छ । यसलाई तीन सिफ्टको कार्यक्रमले पूर्णतः सम्बोधन गर्ने विश्वास लिएको छु । मैले हेलो सरकारको निरीक्षण गरेँ । कार्यकक्ष हेरे । त्यहाँ आएको गुनासोमध्ये दोलखाको एउटा गुनासो सुनेँ र त्यसलाई सम्बोधन गर्ने निर्देशनसमेत दिइसकेको छु,’ प्रधानमन्त्री दाहालले भने ।‘सरकार र नागरिकबीचको सम्बन्धलाई अझै घनिभूत गराउन र शासकीय प्रणालीमा जनताको सहभागितालाई सक्रिय तथा सशक्त बनाउने अवधारणाका साथ १२ वर्ष अघि सुरू भएको हेलो सरकारलाई आजदेखि २४सै घण्टा सञ्चालन गरिँदै छ । सरकार र जनताबीचका सम्बन्ध थप सुदृढ तुल्याउँदै जनसेवा सवलीकरणका निम्ति यो सेवा बिस्तार कार्यक्रमले महŒवपूर्ण योगदान गर्ने विश्वास लिएको छु,’ प्रधानमन्त्री दाहालले भने ।
सार्वजनिक निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्राप्त जनगुनासोलाई शीघ्र सम्बोधन गर्न तथा जनताको जिज्ञासा समाधान गर्ने र सुझाव लिने कार्यमा सरकार सदैव क्रियाशील रहनुपर्ने उनको भनाइ छ ।
आधुनिक राज्यमा खुला सरकारको अवधारणाअनुरूप सार्वजनिक निकायप्रति जनताको भरोसा दिलाउन सरकारले जनतालाई सुन्नुपर्छ भन्ने सैद्धान्तिक मान्यताका आधारमा नै नेपालका सन्दर्भमा हेलो सरकारको अवधारणा विकास गरी सुरु गरिएको प्रधानमन्त्री दाहालले स्मरण गरे ।
हेलो सरकार सञ्चालनका लागि विश्वविद्यालयसँग सम्झौता गरी इन्टर्नमा विद्यार्थी लिनसक्ने व्यवस्थासमेत गरिएको छ । नेपाल टेलिकम र एनसेलबाट गुनासो, जिज्ञासा वा सुझाव दिने र कल रेकर्डिङ प्रणालीको विकास गरिएको छ ।हेलो सरकारलाई केन्द्रीयस्तरमा मात्र सीमित नगरी प्रदेश र स्थानीय तहमासमेत यसको सञ्जाल विस्तार गर्नुपर्ने आवश्यकता छ । यस संयन्त्रलाई सरकारी नीति निर्माणमा नागरिक पृष्ठपोषण हुने प्रणालीका रूपमा विकास गर्ने तयारी गरिएको जनाइएको छ ।