
राष्ट्रिय प्रसारणमा थपियो ७.५ मेगावाट
तेह्रथुम– प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँको खोरुंगाखोला साना जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् । तेह्रथुम पावर कम्पनीले निर्माण गरेको कूल ७ दशमलव ५ मेगावाट क्षमताको सो आयोजना शनिबार उनले आफ्नै निवास बालुवाटारमा रहेको ‘एक्सन रुम’बाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए ।
उद्घाटनलगत्तै तेह्रथुमको खोरुंगामा निर्माण भएको सो आयोजनाले शनिबारदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ । प्रधानमन्त्रीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्नका लागि सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढिरहेको बताए । नेपालको जलविद्युत् उत्पादनको इतिहासमा निजी क्षेत्रले गरेको योगदान महत्वपूर्ण भएको भन्दै उनले समयभन्दा अगावै आयोजना सम्पन्न गरेकामा प्रवद्र्धक कम्पनीलाई धन्यवाद दिए ।
सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाई राखेको उल्लेख गर्दै सबैको सार्थक प्रयासबाट मात्रै सफलता हासिल हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले आयोजना समयमै सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेकामा कम्पनीका प्रबन्ध सञ्चालक मोहन डाँगीलगायत सम्पूर्ण लगानीकर्ता तथा तेह्रथुमवासीलाई आभार व्यक्त गरे ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायतको उपस्थिति थियो । गत २६ माघदेखि सो आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो ।
कम्पनीका प्रबन्ध सञ्चालक डाँगीका अनुसार आयोजनाबाट उत्पादन भएको विद्युत् विद्युतगृहदेखि ४ दशमलव ७ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको जिरी–खिम्ती सबस्टेशनमार्फत राष्ट्रिय प्रणालीमा जोडिएको छ । सबस्टेशनसम्म आवश्यक पर्ने ३३ केभी क्षमताको प्रसारण लाइन प्रवद्र्धक कम्पनी आफैँले निर्माण गरेको प्रबन्ध सञ्चालक डाँगीको भनाइ छ ।
समयमा काम नगरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खारेज गरेका आयोजनामध्ये खोरुंगाखोला आयोजना एक हो । उनले भने, ‘ठूलो मेहनत गरेर आयोजना निर्माण सम्पन्न गरी उद्घाटन गराउन पाउँदा मलाई असाध्यै खुशी लागेको छ, काम शुरु भइसकेको आयोजनालाई काम नभएको भन्दै आयोगले अनुमतिपत्र नै खारेज गरिदिएको थियो । तीन वर्षका अवधिमा विद्युत् खरिदबिक्री सम्झौता, वित्तीय व्यवस्थापन गरी आयोजना नै सम्पन्न गर्यौँ ।’
२०७३ माघदेखि निर्माण सुरु भएको आयोजनाको गत पुस पहिलो साता नै सम्पन्न गरिएको थियो । विद्युत् प्राधिकरणले आवश्यक परीक्षण गरी १५ दिन परीक्षण उत्पादन गरेको थियो । आवश्यक तयारी तथा अन्य प्राविधिक परीक्षणपछि आजदेखि व्यावसायिक उत्पादन शुरु भएको हो ।
स्थानीय खोरुंगाखोलाको पानी इवाखोलामा झारेर विद्युत्गृहमा पठाई विद्युत् उत्पादन गर्ने गरी डिजाइन गरिएको छ । आयोजनाको शुरुमा कूल लागत रु एक अर्ब ३७ करोड अनुमान गरिए पनि रु एक अर्ब ३२ करोड मात्रै खर्च भएको छ । आयोजनाको प्रतिमेगावाट लागत करिब रु १७ करोड ६० लाख छ । आयोजनामा स्वपूँजी २७ प्रतिशत र बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ७३ प्रतिशत छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा नेपाल बंगलादेश बैंक र साविकको जनता बैंकले ऋण लगानी गरेका छन् ।