- पहिरोमा परी ज्यान गुमाउने तीन जना कालिकोट खाडाचक्रका
- बेपत्ता भएका १३ जनामध्ये सात जना जुम्लास्थित पातारासी गाउँपालिका–३ चौर गाउँका एकै परिवारका
- बेपत्ताको खोजी तथा उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदद्वारा उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीलाई आग्रह
काठमाडौं– भारतको उत्तराखण्डस्थित गौरीकुण्डमा बिहीबार राति गएको पहिरोमा परी तीन जना नेपालीको मृत्यु भएको छ । गौरीकुण्डमा गएको पहिरोमा परी १६ जना नेपाली बेपत्ता भएकामा शनिबार तीन जनाको शव भेटिएको भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले जानकारी दिए । बाँकी १३ जनाको खोजी जारी रहेको राजदूत शर्माले बताए । ‘पहिरोमा परी १६ जना नेपाली नागरिक बेपत्ता भएकामा हालसम्म तीन जनाको शव भेटिएको, बाँकीको खोजतलास जारी छ,’ शर्माले भने ।
पहिरोमा परी ज्यान गुमाउनेहरु कालिकोट खाडाचक्र नगरपालिका वडा १ का एक जना र वडा २ का दुई जना भएको खुलेको छ । सुतिरहेको अवस्थामा पहिरो खस्दा कालिकोट खाडाचक्र १ मान्म कोइरेल गाउँका ३९ वर्षीय प्रकाश कामी, खाडाचक्र २ मान्म धैनेडीका ३२ वर्षीय टेक विश्वकर्मा र ३८ वर्षीया देवी विश्वकर्माको मृत्यु भएको खाडाचक्र–२ का वडाध्यक्ष कविन्द्रबहादुर शाहीले बताए । रोजगारीको सिलसिलामा गत वैशाखमा भारत पुगेकाहरु बास बसेको ठाउँ नै पहिरोमा परी छाप्रो नै लगेको आफूले खबर पाएको शाहीले बताए । ‘भारी वर्ष भएको रहेछ । खान खाएर सुतेको बेला पहिरो खसेछ,’ शाहीले प्रभावसँग भने, ‘यहाँका तीन जनाको शव भेटियो भन्ने खबर पाएका छौ ।’
एकै परिवारका सात जना बेपत्ता
पहिरोमा परी बेपत्ता भएका १३ जनामध्ये सात जना जुम्लास्थित पातारासी गाउँपालिका वडा ३ चौर गाउँका एकै परिवारका हुन् । चौर गाउँका २८ वर्षीया अमर बोहोरा, उनकी पत्नी २६ वर्षीया अनिता, १४ वर्षीया छोरी राधिका, आठ वर्षीया छोरी पिंकी, सात वर्षीय छोरा पृथ्वी, छ वर्षीय छोरा जटिल र तीन वर्षीय छोरा वकिल पहिरोमा परी बेपत्ता भएका हुन् । उनीहरुसँगै चौरगाउँकै सुखीराम रावत र बमबहादुर बोहोरा बेपत्ता भएका छन् ।
‘नौ जना चौरीगाउँका बासिन्दा हुन्,’ पातारासी वडा ३ का वडाध्यक्ष वृर्षराम बोहोराले प्रभावसँग टेलिफोनमा भने, ‘सबैजना पाँच महिनाअघि काम गर्न केदारनाथ गएका थिए ।’ अमरको परिवारले अघिल्लो वर्ष घर बनाएर तयार गरेर गएको बोहोराले बताए । ‘घर तयार पारेर राखेका थिए । फिनिसिङ गर्न बाँकी थियो,’ उनले भने । उनीहरु अझै नभेटिएको र खोजीमा सरकार लाग्नुपर्ने बोहोराले भाग गरे । केदारनाथ धामको पैदलयात्रा सुरु हुने स्थाननजिकै साउन १८ गते राति पहिरो गएको थियो । पातारासी–२ पेरे गाउँमा २२ वर्षीय चन्द्र नेपाली र धनराज बुढा पनि पहिरोमा परी बेपत्ता छन् ।
बेपत्ताको खोजी तीव्र पार्न परराष्ट्रमन्त्रीको आग्रह
परराष्ट्रमन्त्री एनपी साउदले पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय पक्षसँग आग्रह गरेका छन् । साउदले शनिबार उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीलाई टेलिफोन गरेर पहिरोमा बेपत्ता भएका नेपालीको खोज तथा उद्धारका लागि आग्रह गरेका हुन् । रुद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा परी नेपाली र भारतीयसहित १९ जना बेपत्ता भएका छन् ।
मुख्यमन्त्री धामीले परराष्ट्रमन्त्री साउदसँग शनिबार बिहानैबाट बेपत्ताहरुको खोजीका लागि सुरक्षाकर्मी र अन्य निकायहरु खटाइएको जानकारी दिएका थिए । धामीले रुद्रप्रयागको खराब मौसमका कारण आफ्नो गौरीकुण्ड जाने कार्यक्रम रद्द भए पनि बेपत्ताहरुको खोजीका लागि आफूले स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको जनाएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
राजदूत शर्माले दुई पक्षबीच कुराकानी भएको पुष्टि गरेका छन् । ‘माननीय परराष्ट्रमन्त्रीज्यूद्वारा उत्तराखण्डको मुख्यमन्त्रीज्यूसँग आज बिहान टेलीफोनमा कुरा गरी उद्धार कार्यलाई तीव्र बनाउन आग्रह गर्नुभएको छ,’ उनले शनिबार भने ।
नेपाली कांग्रेसले पहिरोमा परी बेपत्ता भएकाहरुको तत्काल खोजी गर्न सरकारसँग माग गरेको छ । ‘बेपत्ता नेपाली नागरिकको हरतरहले खोजी गर्न, उद्धार गरिएकाहरुको स्वास्थ्योपचारको व्यवस्था मिलाउन र तत्पश्चात् स्वदेश फिर्ता ल्याउनका लागि भारत सरकारसँग अविलम्ब पहल गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ,’ शनिबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले भनेको छ ।
त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले पहिरोमा परी मृत्यु भएको र बेपत्ता भएको खबरले आफू मर्माहत भएको बताएका छन् । दाहालले दुखद् घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । बेपत्ता नागरिकहरुको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरिएको उनले जानकारी गराएका छन् ।