काठमाडौं– विद्युत विकास विभागमा महानिर्देशक बन्नका लागि सेटिङ शुरु भएको छ । यससँगै, दुई पटक महानिर्देशक बनिसकेका सहसचिव नवीनराज सिंह पुनः दोहोरिने सम्भावना बढेको छ ।
सिंह पहिलोपटक वर्षमान पुन ऊर्जामन्त्री हुँदा नियुक्ति भएका थिए र पछि जनार्दन शर्माको पालामा उनी महानिर्देशक बने । कांग्रेसनिकट सिंह गठबन्धन घटक कांग्रेसको शीर्ष नेताको दबाबमा वर्तमान ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतबाट तेस्रो पटक महानिर्देशक बन्ने दाउमा लागेको स्रोतले बताएको छ । उनी कोशी प्रदेशबाट ऊर्जा मन्त्रालय सरुवा भएर आएका छन् ।
मन्त्रालयको एक स्रोतका अनुसार ‘मन्त्रालयबाट लगभग उहाँलाई नै पठाउने तयारी छ । तर, उहाँले २ पटक महानिर्देशक हुँदा केही उल्लेखनीय काम गरेको जस्तो लाग्दैन । ’
ऊर्जामन्त्रीले चाहेको बेला विद्युत विभागको महानिर्देशक फेर्न सक्छन् । हालका महानिर्देशक चिरञ्जीवी चटौतको ठाउँमा सिंहलाई ल्याउन लागिएको हो ।सिंह दुई पटक महानिर्देशक हुँदा उल्लेखनीय केही गर्न नसकेको भन्दै मन्त्रालयका कर्मचारी नै असन्तुष्ट रहेको पाईएको छ ।
निर्णय क्षमता र सबैलाई रिझाउन सक्ने खुबीका कारण सिंह नै महानिर्देशकको बलियो दाबेदार देखिएको मन्त्रीनिकट स्रोतले जनाएको छ । माओवादी वृत्तमा उनी प्रभावशाली देखिएका छन् ।