- यही विषयलाई लिएर एमालेले सदन अवरुद्ध जारी राखेको छ
- सुन प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीको अनुसन्धान ब्युरोले हात हालेको छैन
- राजस्व अनुसन्धान विभाग छापा हानेर नै हिँडिरहेको छ भने अनुसन्धान कछुवाको गतिमा छ
काठमाडौं– सय किलो भनिएको सुन प्रकरणमा भरियादेखि भन्सारका कर्मचारीहरु पक्राउ परे पनि मुख्य दोषीतर्फ अनुसन्धानको सुई सोझिएकै छैन । यो प्रकरणमा १८ जना पक्राउ परिसके तर चुरो कुरा पत्ता नलागेपछि राजनीतिक मण्डलीहरुमा यही विषयलाई हाँसो र ठट्टाको विषय बनाइएको छ ।
बुधबारमात्र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कटाक्ष गरे । ‘म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई भन्न चाहन्छु– देउवाजी तपाईंले क्विन्टल क्विन्टल सुन तस्करी भएको सुन्नुभएको छ कि छैन ? के छ तपाईंको विचार ?,’ एक कार्यक्रममा ओलीले प्रश्न गरे । हुन पनि कांग्रेस सभापति देउवा अहिलेका सरकारका प्रमुख हिस्सेदार हुन् ।
देउवाले अहिलेसम्म सुन प्रकरणमा केही बोलेका छैनन् । त्यसो त साउन १० गते सम्पन्न कांग्रेस केन्द्रीय समितिले सुन तस्करीमा संलग्नलाई अविलम्ब कारबाही गर्न सरकारसँग माग गरेको छ । ‘हालसालै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिर निस्कँदै गर्दा पक्राउ परेको करिब १०० किलो सुनको सन्दर्भमा गम्भीरतापूर्वक गहिरो अनुसन्धान गरी सुन तस्करीमा संलग्न दोषीलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन यो बैठक सरकारसँग माग गर्दछ,’ कांग्रेसको निर्णयमा भनिएको छ ।
यो विषयलाई अहिले एमालेले आफ्नो मूल मुद्दासमेत बनाएको छ । एमालेले सुन प्रकरणको दोषी पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै दुईपटक संसद् अवरुद्ध पारिसकेको छ । यस प्रकरणमा नेपाल प्रहरीको अनुसन्धान ब्युरोले हात हालेको छैन । राजस्व अनुसन्धान विभाग छापा हानेर नै हिँडिरहेको छ । विभागले पछिल्ला दिनहरुमा अनुसन्धानलाई सुस्त गतिमा लगेको छ भने यता सदन अवरुद्ध जारी छ । यसले कतै सुन प्रकरणमा कतै शीर्ष नेताहरुको संलग्नता पो छ कि भन्ने शंका बढेको छ । नेताहरु भने एकले अर्कोतिर औंला ठड्याउन थालेका छन् ।
एमालेका नेताहरुले माओवादीतिर र माओवादीका नेताहरुले एमालेका नेतातिर औंला ठड्याउनु अनि अनुसन्धान सुस्त हुनु आशंकाकै विषय हो । ओली नेतृत्वको सरकारको पालामा ३३ किलो सुनकाण्डलाई कांग्रेसले मूल मुद्दा बनाएको थियो । ३३ किलो सुन न त फेला प¥यो न त मुख्य दोषी नै । यद्यपि, चुडामणि उप्रेती गोरेलाई सनम शाक्य हत्या प्रकरणमा दोष लगाई जन्मकैदको सजाय सुनाएर घटना सामसुम पारियो ।
सुनको अझै लागेन यकीन
सय किलो भनिएको सुनको मात्र कति हो ? तौल अझै पत्ता लागिसकेको छैन । राजस्व अनुसन्धान विभागले अझै सुन भेटिन्छ कि भन्दै छापा हानिरहेको छ । हङकङबाट ल्याएको सुनसहितको ‘ब्रेक प्याड’को तौल १५४ किलोग्राम रहेको विभागले जनाएको छ ।
यसमा सुनको मात्र कति भन्ने थाहा पाउन अझै समय लाग्ने देखिन्छ । साउन ३ गते राति समातिएको सुन साउन ४ गते नै नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा लगेर राखिएको छ । माहाशाखाले सुन गाल्दा लाइभ देखाउने निर्णय गरिसकेको छ ।
कहिले के भयो ?
असार ३०: हङकङबाट एयर कार्गोमार्फत सुन भित्रियो ।
साउन ३: राजस्व अनुसन्धानको टोलीले विमानस्थलको गेटबाट सय किलो सुन बरामद । दुई जना पक्राउ ।
साउन ४: बिहानदेखि साँझसम्म थप आठ जना पक्राउ ।
साउन ४: भन्सार अधिकृत सन्तोष चन्द र एक जना नायब सुब्बा निलम्बित ।
साउन ७: भन्सार अधिकृतसहित थप ६ जना पक्राउ ।
साउन १०: सुनबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेद्वारा संसद् अवरुद्ध
साउन १०: सुन व्यवस्थापनका सहयोगीको भूमिकामा देखिएका एक जना पक्राउ ।
साउन १४: तिब्बती मुलका बेल्जियन दावा छिरिङ ठमेलबाट पक्राउ ।
साउन १६: उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेद्वारा फेरि संसद अवरुद्ध ।