

नैतिकताका आधारमा राजीनामा दिएँः बाँस्कोटा
स्विस एम्बेसीको खण्डनः मिश्र
स्वीस कम्पनीको प्रतिनिधि होइनन्, बाँस्कोटासँग पनि कुरा भएको छैन ।
काठमाडौं– सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिशन माग गरेको अडियो सञ्चारमाध्यममा सार्वजनिक भएसँगै विवादमा आएपछि बाँस्कोटाले पदबाट राजीनामा दिएका हुन् ।
बाँस्कोटा उपत्यका बाहिर रहेकै बेला आफूलाई स्वीस कम्पनीका एजेन्ट दाबी गर्दै आएका विजय प्रकाश मिश्रबीच भएको कमिशनबारे फोन वार्ता सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । सो प्रकरणपछि राजधानी फर्कनेवित्तकै बाँस्कोटाले बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका थिए । ‘छानविनमा सहज होस्’ भन्दै आफूले पदबाट राजीनामा दिएको बाँस्कोटाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।
प्रधानमन्त्री समक्ष बुझाएको राजीनामा पनि उनले ‘नैतिकताको आधारमा राजीनामा दिएको’ बताएका छन् । ‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु’, बाँस्कोटाले फेसबुकमा लेखेका छन्, ‘धन्यवाद ।’
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चारमन्त्री बाँस्कोटा र स्वीस कम्पनीका नेपाल एजेण्ट मिश्रबीच भएको ‘कमिसन डिलिङ’को करिब दुई मिनेटको अडियो बिहीबार बिहान मात्र सार्वजनिक भएको थियो । उक्त अडियो सार्वजनिक भएलगत्तै भाइरल बनेको छ । सरकारले सुरुमा स्वीस कम्पनीलाई दिने भनिएपनि पछिल्लो समयमा जर्मनी कम्पनीलाई दिन लागिएपछि अडियो सार्वजनिक भएको हो ।
बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिइएको उक्त अडियोमा मन्त्री बाँस्कोटाले केही अश्लिल शब्द समेत बोलेका छन् । उक्त अडियोमा बाँस्कोटाले सोधेका छन् ‘सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाएहुन्थ्यो । मानौँ २५ निस्कियो भने कति हुन्छ ?’ मिश्रले जवाफ दिएका छन् ‘७० जति आउला कि । आउट अफ ट्रयाक नजाँदा ७० जति आउला कि ।’ त्यति भनेपछि बाँस्कोटाले सोधे ‘तपाईंलाई के गर्छन् ? छुट्टै गर्छने ?’ मिश्रले भनेका छन्, ‘टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ । यसमा ७० प्रतिशत तपाईँहरूलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो । यो एकदमै ट्रान्सपरेन्ट हुन्छ ।’
यो फोन वार्तापछि बाँस्कोटाले फेरि सोधे ‘त्यो भनेको कति हुन्छ ? मिश्रले भने, ५४ देखि ५५ करोड तपाईँहरूलाई दिने १५ देखि १६ हामीले राख्ने । हामीले पनि त अलिअलि राख्नुपर्याे नि । आउट अफ ट्रयाक गइयो भने ।’
उक्त अडियो स्वीस कम्पनीको प्रतिनिधि बताउने मिश्रले अडियो सार्वजनिक गरेको बताइएको छ । तर, उता स्वीस दूतावासले बिज्ञप्ती जारी गरी मिश्र आफ्नो कम्पनीको प्रतिनिधि नरहेको र यो प्रकरण मन्त्रीसँग समेत आफुहरूले कुनै कुराकानी नगरेको स्पष्ट पारेको छ । बिहीबार नै स्वीस एम्बेसीले विज्ञप्ति जारी गर्दै यस्तो खण्डन गरेको हो । उनले बाँस्कोटासँग मात्र नभएर आफूलाई स्वीस कम्पनीको एजेन्ट बताउने मिश्रसँग समेत कुनै सम्बन्ध नरहेको जनाएका छन् ।