

काठमाडौं(प्रस)– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता भए÷नभएको पुष्टि नभएसम्म आश्वस्त नहुने बताएको छ । प्रधानमन्त्री ओलीमाथि पनि शंका रहेको भन्दै कांग्रेसले त्यसको निवारण हुनुपर्ने जनाएको हो ।
सेक्युरिटी प्रिन्टिङ प्रकरणमा स्वीस कम्पनीका एजेन्टसँग मोलमोलाइको विषयमा गरेको संवाद बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि कांग्रेसको यस्तो धारणा आएको हो । संसदभवन बाहिर नेपाली कांग्रेसका नेता गगन थापाले सञ्चारमन्त्रीको बाँस्कोटाको राजीनामाले मात्रै नहुने बताए । उनले यो विषयमा प्रधानमन्त्रीको संलग्नता छैन भन्ने कुरा पुष्टि नभएसम्म देश आश्वस्त नहुने बताए ।
प्रधानमन्त्रीले बिहीबार सार्वजनिक भएको अडियो एक महिना अगाडि सुनेको कुरा बाहिर आएको भन्दै थापाले अडियो सुनेपछि प्रधानमन्त्रीले गोकुल बाँस्कोटा एकातिर अरु सबै एकातिर राख्दा पनि पुग्दैन भनेर दिएको अभिव्यक्ति के हो भन्दै प्रश्न गरेका थिए । थापाले प्रधानमन्त्रीले दिएका टिप्पणीका आधारमा प्रधानमन्त्रीको अभिभावकत्व, प्रधानमन्त्रीको संरक्षकत्वमा यी कुराहरू भइरहेका थिए वा प्रधानमन्त्रीलाई जानकारी थिएन भन्दै ? प्रश्न गरेका छन् ।
समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले यस्ता गम्भिर विषयमा संसदमा छलफल गरेर टुंग्याउनुपर्नेमा त्यसो हुन नसकेको भन्दै भने, ‘सत्तापक्षले छलफल गर्न नचाहने र प्रतिपक्ष अल्छि भएर जे कुरामा पनि संसद अवरुद्ध गर्ने राम्रो होइन । उनले संसदमा गम्भीर छलफल गरेर समाधान गर्नेतिर जानुपर्ने बताए । उसले प्रधानमन्त्री ओलीमाथि पनि शंका रहेको भन्दै त्यसको निवारण हुनुपर्ने जनाए ।