हामीलाई स्पष्टीकरण होइन, प्रधानमन्त्रीको राजीनामा चाहिन्छ ।-केपी शर्मा ओली,अध्यक्ष, नेकपा एमाले
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल गैरजिम्मेवार अभिव्यक्तिले चौतर्फी आलोचित भएका छन् । उनी आलोचित भएको आफूलाई प्रधानमन्त्री बनाउन एक जना भारतीय यातायात व्यवसायी प्रितम सिंहको दिल्ली दौड पटकपटक भएको भन्ने अभिव्यक्तिले हो । उनले सोमबार सिंहको जीवनमा आधारित एउटा पुस्तकको विमोचन कार्यक्रममा भनेका थिए, ‘उहाँ (प्रितम)ले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहेनत गर्नुभयो । धेरैचोटी दिल्ली जानुभयो ।’ यही गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिले प्रधानमन्त्री दाहाल निकै अप्ठेरोमा परेका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको राजीनामा नै मागेका छन् । संसद् भवनबाहिर बुधबार दिउँसो पत्रकारहरूसँग ओलीले भने, ‘हामीलाई स्पष्टीकरण होइन, प्रधानमन्त्रीको राजीनामा चाहिन्छ ।’ ओलीका अनुसार प्रधानमन्त्री दाहालको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान, स्वाधीनता, संविधान र संसद्माथि घोर अपमान गरेको छ । एमाले सांसद रघुजी पन्तले संसद् बैठकमै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै राजीनामा अनिवार्य भएको औंल्याए । ‘प्रधानमन्त्रीले जे भन्नुभएको छ, नैतिकताको आधारमा राजीनामा दिनुपर्छ,’ पन्तले संसद् बैठकमा भने, ‘दिल्लीले बनाउने प्रधानमन्त्री चाहिँदैन । प्रधानमन्त्रीको राजीनामा नआएसम्म यो संसद् अघि बढ्न सक्दैन ।’
हाम्रा विपक्षीहरूमा कति धेरै विक्षिप्तता छ ? कति धेरै पूर्वाग्रह छ भन्ने देखियो ।-पुष्पकमल दाहाल,प्रधानमन्त्री
सांसद पन्तले यसो भनेपछि एमाले, रास्वपा र राप्रपाका सांसदहरू बेलअघि भेला भएका थिए । संसद् बैठक अवरोध गरे । यसपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरे । अन्ततः बैठक नै बस्न सकेन । बैठक भोलि दिउँसो ३ बजे बस्ने भएको छ । राष्ट्रिय सभामा पनि एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रलाई कमजोर पार्ने खालको भन्दै राजीनामाको माग गरे । ‘हाम्रो देशको प्रधानमन्त्री कसले बनाउँछ ? कसको इशारामा नियुक्ति हुन्छ ? प्रधानमन्त्रीलाई सार्वभौम संसद्ले बनाउँछ कि भारतले बनाउँछ,’ उनले थप आक्रोशित हुँदै भने, ‘दिल्लीको इशारामा प्रधानमन्त्री बन्नुभएको हो भने स्वीकार्य छैन । उहाँले राजीनामा दिनुपर्छ ।’ दाहालको अभिव्यक्तिलाई लिएर सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस पनि सन्तुष्ट छैन । कांग्रेस दाहालको अभिव्यक्तिको विरुद्धमा छ । महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले बुधबार कांग्रेसको स्पष्टरूपमा विमति रहेको बताए । ‘प्रधानमन्त्रीको संसद्प्रति राख्ने गरिमालाई बढाउने कुरा, राष्ट्रिय सम्मानलाई अभिवृद्धि गर्ने कुरामा ध्यान हुनुपर्छ,’ शर्माले भने, ‘यसमा मेरो विमति छ ।’ प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई संसद्का अन्य विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि विरोध गरे । नेपालमा पहिलोपटक छ चक्के ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली ः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले विवादास्पद अभिव्यक्ति दिएका हुन् । आफ्नै अभिव्यक्तिले दाहाल यतिबेला निकै अप्ठ्यारोमा छन् । तर, दाहालले भने विपक्षी दलहरूले विक्षिप्त र पूर्वाग्रही भएर प्रधानमन्त्रीको विवादास्पद बबण्डर मच्चाउन खोजेको बताए ।‘फेरि एकचोटी बबण्डर गर्न खोजिएको छ, मलाई लाग्छ त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ,’ उनले भने, ‘हाम्रा विपक्षीहरूमा कति धेरै विक्षिप्तता छ ? कति धेरै पूर्वाग्रह छ भन्ने देखाउँछ ।’ यसअघि तत्कालीन प्रधानमन्त्री ओलीलाई सरकारबाट हटाएर कांग्रेससहितको सरकार बनाउँदा भारतका लागि ‘कम्फर्टेबल’ हुने अभिव्यक्तिले पनि दाहाल विवादमा आएका थिए । त्यसले भारतले चाहेको जसरी सरकार चलाउन आफूहरू तयार रहेको सन्देश दिएको भन्दै चर्को आलोचना भयो । अहिले पनि एमालेले दाहाल नेतृत्वको सरकारलाई भारतको ‘कम्फर्टेबल’ भन्ने गरेको छ । त्यसअघि १ माघ २०७६ मा टुँडिखेलमा पनि दाहालले सशस्त्र द्वन्द्वमा मारिएका पाँच हजार व्यक्तिको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए । तत्कालीन नेकपाका अध्यक्षसमेत रहेका दाहालले भनेका थिए, ‘मलाई भन्ने गरिन्छ, १७ हजार मारेर आएको । यो सत्य होइन । हिजोका सामन्त राजाहरूले १२ हजार मारेका हुन् । मलाई पाँच हजारको म जिम्मा दिनुहुन्छ भने म लिन्छु ।’ उनको यही अभिव्यक्तिलाई प्रतिवादीको बयान भन्दै सर्वोच्च अदालतमा अधिवक्ता ज्ञानेन्द्र आरणसहितले मुद्दा दायर गरेका छन् । हाल मुद्दा विचाराधीन छ । त्यसअघि माओवादी लडाकुको चितवनस्थित अस्थायी शिविर शक्तिखोरमा उनले दिएको अभिव्यक्ति पनि विवादमा परेको थियो । गोप्य प्रशिक्षणका क्रममा दाहालले ‘जनमुक्ति सेना’ सात– आठ हजार भए पनि ३१ हजार देखाएर प्रमाणीकरण गरिएको बताएका थिए । प्रमाणीकरण भएका १९ हजार लडाकुमध्ये तीन हजारमात्र सेनामा समायोजनगर्न सके नेपाली सेना कब्जा गर्ने उनको अभिव्यक्ति थियो । दाहालको यही अभिव्यक्तिका कारण नक्कली लडाकु देखाएर अस्थायी शिविरमा व्यापक भ्रष्टाचार गरेको आरोप अहिलेसम्म झेलिरहनुपरेको छ । सोही विवादास्पद भिडियोलाई देखाएर तत्कालीन प्रधानसेनापति रुक्मांगत कटुवालले २०६५ मा माओवादी नेतृत्वको सरकारका निर्देशनको अवज्ञा गरेका थिए । विवाद चर्किंदै जाँदा दाहालले प्रधानसेनापति कटुवाललाई बर्खास्त गरे । तर, तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले थमौती गरिदिए । कार्यकारी मन्त्रिपरिषद्को निर्णय राष्ट्रपतिले उल्ट्याइदिएपछि प्रधानमन्त्री दाहाल नैतिक संकटमा परे । त्यसपछि नागरिक सर्वोच्चताका लागि भन्दै दाहालले राजीनामा दिएका थिए ।