

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक समृद्धिको यात्रामा रहेको भन्दै त्यसमा अवरोध पुर्याउनेलाई परास्त गर्ने बताएका छन् । उनले विकास निर्माण, वैदेशिक लगानीजस्ता समृद्धिको महाअभियानमा अवरोध पुग्ने काम भइरहेको बताउँदै त्यस्ता अवरोधले समृद्धिको यात्रा नरोकिने बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बुधबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक समृद्धिको दिशामा अघि बढिरहे पनि बाधा हाल्ने काम भइरहेको बताए । उनले भने, ‘सरकारको विकासको यात्रामा अवरोधको प्रयास भए पनि त्यसलाई परास्त गरेर अघि बढ्छौँ ।’
प्रधानमन्त्री ओलीले राष्ट्रको सम्पन्नताका लागि तय गर्नुपर्ने बाटो लामो भएको र त्यसतर्फ मुलुक यात्रारत रहेको बताए । यात्राको थालनीलाई औचित्यहिन र अनावश्यक ठान्ने प्रवृत्तितर्फ सरकार सचेत रहेको बताउँदै उनले संविधान जारी भएपछि आमनिर्वाचनद्वारा बनेको सरकारले भर्खरै दुई वर्षे कार्यकाल पूरा गरेको स्मरण गरे । उनले अहिले नयाँ संविधानबमोजिमका राज्य संरचना निर्माण, संघीयता कार्यान्वयन, वित्तीय व्यवस्थापन, कानून र जनशक्ति समायोजन गरेर सरकार अघि बढेको प्रष्ट्याए ।
‘त्यही आधारमा टेकेर मुलुकलाई समृद्ध बनाउने अभियानमा लागेका छौँ, प्रधानमन्त्री ओलीले भने, ‘यस अवधिमा सुशासन र विकासका नतिजा आउन थालेका छन्, केही सम्पन्न गरेका छौँ, केही निर्माणाधीन छन्, केही अगाडि बढ्दैछन् ।’ विसं २००७ को दिनलाई नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भको गौरवमय दिनका रूपमा स्मरण गर्दै उनले यस दिनको सम्झना र सम्मानमा सरकारले हरेक वर्ष प्रजातन्त्र दिवसका रूपमा मनाइँदै आएको छ । उनले देशभित्र र देशबाहिर रहेका आमनेपालीलाई दिवसको अबसरमा शुभकामना व्यक्त गरे ।
उनले ७ फागुनलाई समाजको राजनीति र शासन प्रणालीमा जहानीय निरंकुशता र बरबरताबाट मुक्ति पाएको तथा लामो अन्धकार चिरेर सुन्दर बिहानी प्राप्त भएको बिन्दुका रूपमा स्मरण गरे ।
वर्तमान समयमा मुलुक गरिबीबाट सम्पन्नतातर्फ, अविकासबाट विकासतर्फ र अव्व्यावस्थाबाट सुव्यावस्थातर्फ अगाडि बढिरहेको राज्यको यस अभियानको विजारोपण ७० वर्षअघि भएकाले यसबीचको गरिमालाई बचाइराख्नका लागि औपचारिकताबाट माथि उठ्न आम नेपालीलाई आह्वान गरे ।