
काठमाडौं– भोली शुक्रबार महाशिवरात्रि । यसवर्ष महाशिवरात्रिका लागि सम्पूर्ण तयारी भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले बुधबार पत्रकार सम्मलेन गरी जानकारी गराएको हो ।
विकास कोषका अनुसार यसपटक पशुपतिमा दर्शनका लागि पाँचवटा लाइनको व्यवस्था गरिएको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगंगा हुँदै पिङगलास्थान–सुमार्गी भवन चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक÷एक लाम गरी बाहिरीरूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्य सचिव डा. प्रदीप ढकालले जनाए ।
यस्तै, तिलगंगा राममन्दिरतर्फसमेत आवश्यकताअनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको जनाइएको छ । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । महाशिवरात्रिमा लाखौँको संख्यामा आउने दर्शनार्थी, भक्तजन र समग्र व्यस्थापनलाई मध्यनजर गरी कोषले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष योगेशकुमार भट्टराईको संयोजकत्वमा १११ सदस्यीय मूल समिति –२०७६ गठन गरेको छ ।
यस्तै, सुरक्षा व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार, प्रचारप्रसार, साधुसन्त तथा धार्मिक, वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था, स्वास्थ्य सेवा व्यवस्था, मेला बजार तथा साज सजावट, स्वयंसेवा, दर्शन, चन्दन तथा मन्दिर एवं रात्रिकालीन व्यवस्था, स्वयंसेवा परिचालन एवं अनुगमन, सरकारी निकाय समन्वय, अनुगमन, मूल्यांकन तथा तथ्यांक संकलन उपसमिति गठन गरिएको छ । नेपाल प्रहरीको अगुवाइमा सशस्त्र तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी, जनशक्ति मेला अवधिभर ५ हजार सुरक्षाकर्मी परिचालन गरिने छ । जसमा सादा पोशाकमा प्रहरी परिचालन गरी मेला क्षेत्रको विशेष अनुगमन गरिने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए ।
यस्तै, नेपाल स्काउट समेतका गरी करिब पाँच हजार स्वयंसेवक परिचालन गरिने कोषले जनाएको छ । दर्शन लाइनको सहजीकरणका लागि मुख्य क्षेत्र बाहिरमात्र स्वयसेवक परिचालित हुनेछन् । पशुपतिनाथको मन्दिर नजिक हुनेगरी मुख्य क्षेत्रमा डाक्टर, नर्स, औषधि र शय्या सहितको नेपाली सेनाको मूल स्वास्थ्यशिविर रहनेछ । महाशिवरात्रिमा ३३ वटा स्वास्थ्यसँग सम्बन्धित संस्थाले सेवा प्रदान गर्नेछन् ।
पार्किङ तथा ट्राफिक व्यवस्थापन
तिलगंगा क्षेत्र, कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त÷ट्राफिक प्रहरी प्रभाग, गौशाला, सिफलचौर, गुह्येश्वरी पारी गरी पाँच स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ । एअरपोर्ट, गौशाला, चावहिल चक्रपथमा दर्शनार्थीको चापलाई ध्यानमा राखी आधा सडकमा मात्र सवारी गुड्न दिने वा डाइभर्सन गरी सवारी सञ्चालन गर्ने व्यवस्था समेत मिलाइने छ ।
हंशमण्डप वनकालीमा नेपाल तथा भारतका ख्याति प्राप्त कलाकारद्वारा धार्मिक गतिविधिसहित भक्तिसंगीत प्रस्तुति रहनेछ । पशुपति क्षेत्र कानूनद्वारा मांस, मदिरा तथा कुनैपनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्वमा समेत गाँजा–भाङ, जाँडरक्सीजस्ता नशालु पदार्थको बिक्री वितरण, ओसारपसार, भण्डारण एवं प्रयोगमा प्रतिबन्ध गरिएको छ र पशुपति क्षेत्र प्लाष्टिक निषेधित क्षेत्र भएकाले मेला क्षेत्रमा सेवा प्रदान गर्ने सबै संस्थालाई भोजन, पानी, चिया वितरण गर्दा प्लास्टिकका कप प्रयोग नगर्न कोषले आह्वान गरेको छ ।