

काठमाडौं– कोरोना भाइरस प्रभावित चीनको वुहानबाट आइतबार उद्दार गरिएका १७५ जनाकै स्वास्थ्य अवस्था ठीक रहेको जनाइएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुगेर उनीहरूको अवस्थाबारे जानकारी लिएका थिए ।
सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरूको अवस्थाबारे जानकारी लिँदै अवस्था ठीक रहेको बताएका हुन् । क्वारेन्टाइनबाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फत भित्र रहेका नेपालीसँग उनले सिसी क्यामराको माध्यमबाट भिडिओ कलमा कुराकानी गरेका थिए । सो अवसरमा मन्त्री ढकालले क्वारेन्टाइनमा रहेका नेपालीसँग सरकार उनीहरूसँगै रहेको र सबै सहयोग गर्न तयार रहेका भन्दै नआत्तिन आग्रह गरे ।
आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको पनि उनको भनाइ थियो । कन्ट्रोल कक्षबाट उनले भित्र रहेका नेपालीसँग सेवा, सुविधा र समस्याबारे जानकारी लिएका थिए । जवाफमा भित्र रहेका नेपालीले सरकारले पुर्याएको सहयोगबारे धन्यवाद व्यक्त गर्दै उनीहरूले पूर्ण रूपमा स्वस्थ्य र सरकारले गरेको व्यवस्थाप्रति आफूहरू खुसी रहेको प्रतिक्रिया दिएका थिए ।
मन्त्री ढकालले माइकमार्फत सम्बोधन गर्दै ढुक्क भएर रहन र कुनै चिन्ता नलिन आग्रह गर्दै सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताए । सरकारले उद्धार गरिएका नेपाली क्वारेन्टाइनमा बस्दा सन्तुष्ट रहेको प्रतिक्रिया पाएको बताउँदै क्वारेन्टाइनमा खटिएका चिकित्सक टोलीद्वारा उनीहरूको अवस्थाबारे थप जानकारी लिएका थिए ।
क्वारेन्टाइनस्थलमा खटिएका नेपाली सेनाका सेनानी डा. नवीन फुयाँलले चीनबाट फर्किएका नेपालीहरू शारीरिक, मानसिक सामाजिक रूपमा स्वस्थ्य रहेको आफूले पाएको मन्त्री ढकाललाई जानकारी गराएका थिए । कोरोना भाइरसको त्रासमा चीनमा कठिन दिन बिताएका नेपालीहरू आफ्नै देशमा फर्किएर क्वारेन्टाइन सरकारले व्यवस्था गरेको सुविधाबाट आफूहरू खुसी रहेको जानकारी दिएका थिए ।
सरकारले उद्धार गरेर ल्याएका १७५ मध्ये ४० जना महिला र दुई बालबालिका क्वारेन्टाइनमा छन् । आइतबार आएलगत्तै उनीहरूको स्वास्थ्य परीक्षण र्याल परीक्षणका लागि संकलन गरिएको थियो भने अहिले पनि नियमित रूपमा दिनको दुईपटक उनीहरूलाई दिएको थर्मोमिटरमार्फत आफैले ज्वरो नाप्ने र त्यसको रिपोर्ट लेखेर जानकारी दिने गरेका छन् ।
क्वारेन्टाइनमा मेडिकल डाक्टरसहित सातजना स्वास्थ्यकर्मीको टोलीले खटिएर काम गरिरहेको छ । जसमा एकजना मानसिक रोगका डाक्टरसमेत छन् । ज्वरो आएमा तत्कालै जानकारी गराउन आग्रह गरिएको र त्यस्तो अवस्था आएमा तत्कालै तयारी अवस्थमा रहेको एम्बुलेन्समा राखेर आइसोलेसन वार्डमा पुर्याउने तयारी अवस्था राखिएको छ ।