

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार मुटुको ‘एन्जीओग्राफी’ गरिएको छ । उनी नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार साँझ अस्पताल पुगेका थिए । प्रधानमन्त्री ओलीको मुटुको एन्जीओग्राफीपछि मंंगलबार नै निवास फर्किएका छन् ।
मंगलबार साँझ महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको मुटुको एन्जीओग्राफी गरिएको हो । सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमीका अनुसार नियमित स्वास्थ्य जाँचअन्तर्गत उनको मुटुको परीक्षण गरिएको हो । डा. सायमीले भने, ‘प्रधानमन्त्री स्वस्थ्यमा ठूलो समस्या छैन । उहाँ परीक्षणपछि बालुवाटार फर्किनु भएको छ ।’ उनले मुटु र नशाको अवस्था पत्ता लगाउन एन्जीओग्राफी गरिएको बताए । मुटुजन्य समस्या पत्ता लगाउन एन्जीओग्राफी गरिने चिकित्सकको भनाइ छ ।
सेन्टरमा नियमित डायलासिका लागि जाने प्रधानमन्त्री ओली डायलासिस नभएर अन्य उपचारका लागि भर्ना भएका थिए । प्रधानमन्त्री ओली मिर्गौलाको खराबीका कारण केही समययता नियमित डायलासिस गराउँदै आएका छन् ।
प्रधानमन्त्री ओलीको गत १३ कात्तिकमा पहिलोपटक डायलायसिस भएको थियो । उनको दुवै मिर्गौला फेल हुँदा सातामा दुई वा तीनपटक डायलासिस गर्नुपर्ने भएको छ । तर, प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआइसकेका कारण असहज महसुस भएमात्र डायलासिस गर्ने गरिएको चिकित्सकले जनाएको छ । गत १३ र १४ मा प्रधानमन्त्री ओलीको २४सैं घण्टामा दुईपटक डायलसिस गरिएको थियो । तर, पछिल्लो केही साता यता उनको स्वास्थ्य अवस्था ठीक रहेको छ । ०६४ सालमा ओलीको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि ओलीले नियमित औषधि सेवन गर्दै आएका छन् । प्रधानमन्त्री ओली केही साता अघिमात्र डायलसिसको सट्टा एउटा मिर्गौला प्रत्यारोपण गर्ने बताएका थिए । अझै ती वर्ष आफ््नै नेतृत्वमा सरकार चल्ने भन्दै उनले यस्तो बताएका हुन् । तर, अहिलेसम्म प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणबारे निर्णय गरिएको छ्रैन ।
गत १८ साउन र ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको थियो । प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो । त्यसयता उनले नियमित डायलसिस गराउँदै आएका हुन् ।