
काठमाडौं(प्रस)– बुधबार ७ फागुन अर्थात प्रजान्त्र दिवस । सो अवसरमा मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी सन्देशमा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक–सामाजिक रूपान्तरण नेपाली जनताको चाहना भएको र जनताका ती चाहना सम्बोधन गर्न आजको दिनले प्रेरित गर्ने बताएकी छन् । उनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अघि बढ्ने प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले प्रजातन्त्र दिवसले सबैलाई प्रजातन्त्रको आधारभूत मूल्य र मान्यता आत्मसात गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भनी कामनासमेत गरेकी छन् । राष्ट्रपतिले सन्देशमा प्रजातन्त्रका लागि भएको संघर्षमा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।
नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अंगीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दैै राष्ट्रपतिले यसलाई प्रजातन्त्रको ठूलो उपलब्धिका रूपमा लिन सकिने बताएकी छन् ।