

काठमाडौं– करिब ६ महिना जेल जीवन विताएपछि पूर्वसभामुख कृष्णबहादुर महरा निर्दोष ठहरिएका छन् ।
प्रतिनिधिसभाका एक महिलामाथि जबरजस्ती बलात्कारको प्रयास गरेको अभियोगको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौंले निर्दोष ठहर गर्दै सफाइ दिएको छ । अदालतले सफाइ दिएलगत्तै डिल्लीबजार कारागारबाट उनी सोमबार नै रिहा भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले सोमबार महरालाई सफाइ दिने फैसला गरेको हो । जेलबाट छुटेपछि महराको निलम्बित सभासद पद पुर्नवहाली भएको छ । तर, सभामुख पदमा भने उनकै राजनीतिक सहकर्मी नेकपाका नेता अग्नि सापकोटा नियुक्त भइसकेका छन् ।
संसदकी एक महिलामाथि बलात्कार प्रयास गरेको आरोप लागेपछि उनले १४ असोजमा पदबाट राजीनामा दिएका थिए भने १९ असोजमा सभामुख निवासबाटै पक्राउ परेका थिए ।
महराले सफाइ पाएलगत्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ता र आफन्तले डिल्लीबजार कारगार पुगेर भव्य स्वागत गरेका थिए । काठमाडौं जिल्ला अदालतले महरालाई निर्दोष ठहर गरेपछि महरालाई स्वागतका लागि नेकपाका कार्यकर्ताहरू डिल्लीबजार कारागार पुगेका थिए । महरा रिहालगत्तै नेकपाका कार्यकर्ताले महरालाई माला र खादाले भव्य स्वागत गरेका छन् ।
यसअघि ३ पुसमा महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतले सदर गरेको थियो । तर, उच्च अदालतले एक महिनाभित्र मुद्दाको टुंगो लगाउन जिल्लालाई निर्देशनात्मक आदेशसमेत दिएको थियो ।
संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो । महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो ।
पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए । जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा राख्नेगरी भएको आदेश कानुन विपरित भन्दै महराले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
यसैबीच जिल्ला अदालत काठमाडौंबाट निर्दोष ठहरिएपछि महराले आफ्ना बारेमा चासो व्यक्त गर्नेप्रति आभार प्रकट गरेका छन् । डिल्लीबजार कारागारबाट रिहा भएलगत्तै सोमबार एक वक्तव्य जारी गर्दै उनले आफूमाथि लगाइएको आरोप गलत सावित भएको र अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएको भन्दै आभार व्यक्त गरेका छन् । ‘यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्य, मित्र, मेरो पक्षमा वकालत गर्ने कानून व्यवसायी र राजनीतिक व्यक्तित्वप्रति आभार प्रकट गर्दछु’, महराद्वारा जारी वक्तव्यमा भनिएको छ ।
एक देशभक्त नेपालीका रूपमा मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता गौरवपूर्ण रहिरहने प्रतिवद्दता जनाएका छन् ।