

काठमाडौं– सरकारले पूर्वउपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त गरेको छ । मन्त्री तुम्बाहाम्फेलाई सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपतिबाट नवनियुक्त मन्त्री तुम्वाहाङ्फेले शपथ लिएकी हुन् । नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनलाई मन्त्री पदमा सोमबार नै नियुक्त गरेकी हुन् । यसअघि समाजवादी फोरमका उपेन्द्र यादवले पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालयको कार्यभार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका थिए ।
डा तुम्वाहाङ्फेले एक महिनाअघि उपसभामुख पदबाट राजीनामा दिएकी थिइन् । सुरुमा पदबाट राजीनामा दिन आनाकानी गरेपछि सभामुख चयनमा समेत ढिलाइ भएको थियो । तर, नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहालको आग्रहपछि सभामुखको निर्वाचनका लागि मार्गप्रशस्त गर्ने भन्दै उनले गत ६ माघमा उपसभामुखबाट राजीनामा दिएकी थिइन् । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित सांसद हुन् । सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने प्रावधानअनुसार डा. तम्बाहाम्फेलाई पार्टीले राजीनामा गर्न लगाएको हो ।
नवनियुक्त मन्त्री तुमबाहाम्फेले सामबार नै सिंहदरबार पुगेर पदभार ग्रहण गरेकी छन् ।