

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अब शहर कुरूप नभएर चिटिक्क हुने बताएका छन् ।
काठमाडौं उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकांक्षी परियोजनाको सोमबार महाराजगञ्जबाट शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘यो योजना सम्पन्न भएपछि गुजुल्टिएको तार हट्छ । अब शहर कुरूप हुँदैन, चिटिक्कको शहर बन्छ ।’
प्रधानमन्त्री ओलीले विद्युत टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि शहरको सौन्दर्य बढ्ने मात्र नभएर अहिले देखिएको कुरूपताको पनि अन्त्य हुने विश्वास व्यक्त गरे । साथै प्रधानमन्त्री ओलीले यो योजनाबाट आम जनतालाई समेत सहज हुने र सेवा पनि सरलरूपमा प्राप्त गर्न सकिने दाबी गरेका छन् ।
पहिलो चरणमा काठमाडौंको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिने भएको छ । त्यसलाई क्रमशः अन्यत्र पनि विस्तार गरिँदै लैजाने सरकारको योजना छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको तारलाई भूमिगत बनाउने कार्यक्रमको शिलान्याशपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यस योजनासँगै विकासको पनि नयाँ अध्याय शुरु भएको छ ।’
प्रधानमन्त्री ओलीले गुजुल्टिएको तार हटेपछि शहर चिटिक्कको हुने बताउँदै भने, ‘पोलभरि गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम भइरहेको छ ।’ उनले यस योजनालाई देशका प्रमुख शहरमा विस्तार गरिने पनि बताए ।
यस्तै सरकारले विकास निर्माणको कामलाई प्रभावकारी रूपमा अगाडि बढाएको बताउँदै उनले केही मान्छेलाई वर्तमान सरकारले गरेको विकास देखेर पीर परेको बताए । ‘सरकारले धेरै राम्रा काम गरिरहेपनि समाचार भने मैले बाँसुरी बजाएको मात्र आउने गरेको छ’ प्रधानमन्त्री ओलीले ब्यंग्य गर्दै भने, ‘सरकारले विकास र सुशासनको काम अघि बढाउँदा कोही–कोहीलाई किन पीर परेको हो ?’
प्रधानमन्त्री ओलीले विकास सबैको साझा नारा र कर्तव्य भएको स्पष्ट पार्दै त्यसलाई मजाक नठान्नसमेत आग्रह गरे । उनले देशभर नै तुइन विस्थापनको काम अगाडि बढेको भएपनि एकाधस्थानमा रहेको तुइन देखाएर सरकारको आलोचना गर्ने गरिएको बताए । दार्चुलामा मात्र दुईवटा तुइन बाँकी रहेको भन्दै प्रधानकमन्त्री ओलीले भने, ‘त्यही दुईटा तुइनलाई देखाएर आलोचना गर्नुको कुनै अर्थ छैन ।’
प्रधानमन्त्रीले आगामी दुई वर्षभित्र देशका सबै स्थानमा विद्युत् सेवा पुर्याउन सरकार लागिपरेको बताउँदै सोही अवधिमा नेपालले विद्युत् निर्यातसमेत गर्ने जानकारी दिए ।