-पशुपतिको जलहरीमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि सुनको सट्ट पित्तल राखिएको आरोपपछि नक्कली भुटानी शरणार्थी प्रकरण छायामा पर्न सुरु
-यही बीचमा बजेट भाषण, प्रधानमन्त्रीको नेतृत्वमा भारत भ्रमणले चर्चा पाउँदा शरणार्थी प्रकरण थप छायामा
-राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विषयले विवाद चर्कंदा यो प्रकरण झनै छायामा
काठमाडौं - सदनमा सरकारको नीति तथा कार्यक्रम नै छायामा पर्ने गरी तात्तिएको नक्कली शरणार्थी प्रकरण अहिले सेलाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पशुपतिमा सुनको जलहरी लगाउँदा भ्रष्टाचार भएको आरोप लागेपछि यो प्रकरण छायामा परेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दलहरु एकले अर्कोलाई हिलो छ्यापछ्याप गरिरहेका थिए । कांग्रेसका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाण र आङटावा शेर्पा र एमालेसचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परिसकेका थिए । लहरो तान्दै जाँदा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय राजेश बज्राचार्यको नाम आइसकेको थियो ।
यसैगरी खाणपत्नी मञ्जु र पूर्वमन्त्री रामबहादुर थापाकी श्रीमती नैनकलाको नाम पनि मुछिएको थियो ।तर, जब जेठ १० गते सत्तापक्ष माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जलहरीको विषय उक्काए, सोही दिनबाट भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धानमा बिर्को लागेको छ । त्यतिबेला सांसद दाहालले भने, ‘सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्नुभयो । उहाँ (केपी ओली) सरकारमा बस्दा कति भ्रष्टाचारका काण्ड भए ? यती, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीमा दुई अर्बको भ्रष्टाचार । त्यतिमात्र होइन, पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाई गरेको हजारौं भ्रष्टाचार काण्ड छन् । आफू सरकारमा हुँदा गर्न नसकेको अहिलेको सरकारले गर्छ ।’
दाहालको भनाइलाई संसदको रेकर्ड हटाउन माग गर्दै एमालेले सदन अवरुद्ध पा¥यो । विवाद साम्य पार्न केही दिन लाग्यो । त्यतिबेलासम्ममा सुनले झरीझुत्त भएको ओलीको फोटो सामाजिक सञ्जालमा छायो । दाहालले बोलेको विषय संसद्को रेकर्डबाट हटाउने सहमतिसँगै शनिबार सरकारको नीति तथा कार्यक्रम पारित भयो ।
त्यसपछि १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले २०८०/८१ को बजेट प्रस्तुत गरे । बजेटमा संसद् विकास कोष ब्युँतिएपछि सांसदहरु बजेटको टिप्पणीमा उत्रिएनन् । आफ्नो क्षेत्रका लागि पाँच करोड पाउने भएपछि माननीयहरु रचनात्मक टिप्पणीमासमेत उत्रिएनन् । बजेट प्रस्तुत भएको दुई दिनपछि नै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरे । पौडेलको कदमका सर्वत्र विरोध भयो । यद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल भने १०० जनाभन्दा बढीको जम्बो टोली लिएर चारदिने भारत सयरमा निस्किए ।
यो मेसोमा प्रतिपक्षी दल एमाले प्रधानमन्त्रीलाई राज्यमन्त्रीले स्वागत गरेको, भारतीय संसद् भवनमा अखण्ड भारतको नक्सा राखेको, दाहालले गेरु वस्त्र लगाएको र राँगा उपहार दिएको विषयलाई उछालेर आलोचनामा उत्रिए । यसैगरी नागरिकता विधेयक प्रमाणीकरणमा संविधान मिचेको भन्दै विरोध जारी राखे । प्रधानमन्त्रीको टोली शनिबार स्वदेश फर्किएसँगै आइतबार सदन सुरु भयो । सदनको सुरुमै एमालेका प्रमुख सचेतक पदम गिरीले नागरिकता विधेयक प्रमाणीकरणमा गल्ती भएको उल्लेख गर्दै प्रधानमन्त्रीको जवाफ मागे ।
‘नागरिकता विधेयक संसद्मा प्रस्तुत गरी सात दिनभित्र छलफल गरेर प्रमाणीकरण गर्नुपर्छ,’ प्रमुख सचेतक गिरीले भने । एमालेलाई राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले साथ दिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री जवाफ दिन नआएसम्म सदन चल्न नदिने चेतावनीपछि एमाले, रास्वपा र राप्रपाका सांसदहरु उभिए । लगातार विरोधपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि स्थगित गरेको संसद् सोमबारसम्मका लागि स्थगित भएको छ ।
यिनै विभिन्न विवादका कारण अहिले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान रोकिएको बताइन्छ । ठूला दलका शीर्ष नेताहरु जोगाउन सत्तापक्ष र प्रतिपक्षको मिलेमतोमै नयाँ विवादहरु सिर्जना गरी शरणार्थी प्रकरण छायामा पारिएको कतिपयको दाबी छ ।