नारायणगढ (चितवन)– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि निर्माण गरिएको नयाँ सडक ट्र्याकको आइतबार सफल परीक्षण गरिएको छ ।
नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि पहिलो चरणमा खाली ग्यास बुलेट सञ्चालन गरेर परीक्षण गरिएको थियो । परीक्षण सफल भएपछि क्रमशः अन्य सवारीसाधन सञ्चालन गराइएको उनले जानकारी दिए । उनले निरन्तर काम गरेर आज नयाँ ट्र्याकबाट सवारीसाधन सञ्चालन गराउन सफल भएको बताए ।
कार्यस्थलमा खटिएका सहायक आवासीय इञ्जिनियर अशोक देवकोटाले सुरुमा खाली ग्यास बुलेट दुवैतर्फ पठाएर परीक्षण गरिएको र सफल भएपछि पालैपालो अन्य सवारीसाधन पास गराइएको जानकारी दिए । उनले भने, ‘सुरुमा खाली ग्यास बुलेट पठायौं । त्यो परीक्षण सफल भएपछि क्रमशः पालैपालो दुवैतर्फ सवारीसाधन पास गराएका हौं ।’
उनले नयाँ ट्र्याकबाट करिब ५० वटा सवारीसाधन सञ्चालन गराइसकिएको जानकारी दिए । उनका अनुसार आइतबार परीक्षणका लागिमात्रै नयाँ ट्र्याकबाट सवारीसाधन सञ्चालन गरिएको हो । निरन्तर भित्ता काटेर निर्माण गरिएको नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि परीक्षण गरिएको उनले बताए । इञ्जिनियर देवकोटाका अनुसार आज (सोमबार)देखि उक्त स्थानमा ग्राभेल बिछ्याउने काम सुरु गरिने छ । त्यससँगै नाली निर्माण, पानी सोस्ने तथा तर्काउने व्यवस्था मिलाउने र सडकमाथि देखिएका चिरा पुर्ने काम पनि अघि बढाइने छ । उनले थपे, ‘थप समस्या नआएमा तीन दिनभित्र यी काम सकाएर नियमितरूपमा सवारीसाधन सञ्चालन गर्ने लक्ष्य छ ।’
सूचना अधिकारी मिश्रका अनुसार नयाँ ट्र्याक करिब २५२ मिटर लामो छ । सडकको चौडाइ सात मिटर र नाली एक मिटर चौडा रहेको छ । पुरानो भासिएको सडक भएको स्थानबाट नयाँ ट्र्याक पाँचदेखि १० मिटरसम्मको उचाइमा छ ।
उनले भने, ‘अहिलेसम्म कामका क्रममा थप समस्या देखिएको छैन । मौसमले साथ दिएमा र थप समस्या केही नआएमा तीन–चार दिनभित्र आवश्यक काम सम्पन्न गरेर नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने योजना छ ।’