काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेसको संरक्षण र प्रवर्द्धन अपरिहार्य रहेको बताएका छन्। स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने उनको भनाइ छ।
लोककल्याणकारी विज्ञापनको रकम कटौती, विज्ञापनसम्बन्धी नीतिगत व्यवस्था तथा छापा सञ्चारमाध्यमको अस्तित्वमा देखिएका चुनौतीलगायतका विषयमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित ‘छापा माध्यम बचाउ सुझाव कार्यदल’ले आइतबार बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै सभापति थापाले उक्त धारणा व्यक्त गरेका हुन्।
उनले स्वतन्त्र प्रेसमाथि संकुचन पत्रकारको पेसागत समस्या भए पनि आफ्नो पार्टीका लागि सो विषय लोकतन्त्रकै महŒवपूर्ण सवाल भएको बताए। पत्रकार र सञ्चारमाध्यमले उठाएका विषयलाई आफूले गम्भीररूपमा लिएको बताउँदै उनले भने, ‘यो तपाईंहरुको पेसागत समस्याको कुरा होला, तर कांग्रेसका लागि लोकतान्त्रिक प्रतिष्ठासँग जोडिएको विषय हो।’
प्रेस लोकतन्त्रको आधार स्तम्भ भएकाले त्यसको संरक्षण लोकतान्त्रिक दलको प्रमुख जिम्मेवारी भएको उनको भनाइ थियो। छापा माध्यमको समस्या केवल पत्रकारको पेसासँग जोडिएको विषयका रूपमा नहेरी लोकतन्त्रको आधारभूत पक्षसँग जोडेर हेर्नुपर्ने थापाले बताए। ‘प्रेसमाथि समस्या आउँदा त्यसको असर समग्र लोकतान्त्रिक प्रणालीमै पर्छ भन्ने कुरा बिर्सिनु हुँदैन,’ उनले भने।
नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयलाई पार्टीको महŒवपूर्ण एजेण्डाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। सञ्चारमाध्यमलाई कमजोर बनाउने वा पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि अवस्थाले लोकतान्त्रिक अभ्यासलाई समेत कमजोर बनाउने भएकाले यस विषयमा पार्टी गम्भीर भएर प्रस्तुत हुने उनको भनाइ थियो।
सरकारले पछिल्लो समय लोककल्याणकारी बिज्ञापनको रकम कटौती गर्ने गरी संशोधन गरिएको कार्यबिधि खारेज गर्नुपर्ने र निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारी निर्णय सर्बोच्च अदालतले खारेज गरिसकेको अवस्थामासमेत कार्यान्वयन नगरिएकोले त्यसलाई तुरुन्त कार्यान्वयनमा ल्याउनुपर्नेलगायतका माग कार्यदलले राख्दै आएको कार्यदल संयोजक दामोदरप्रसाद दवाडीले बताए।