- यसपटक नेपाली, भोजपुरी, थारूलगायतका भाषा बोल्नेको जनसंख्या अनुपात बढ्दा मैथिली, तामाङ, डोटेली भाषा बोल्ने जनसंख्या अनुपात घटेको छ
- क्रिस्चियन र मुस्लिम धर्म मान्नेको संख्या बढ्यो, हिन्दू र बौद्ध धर्म मान्नेको संख्या घट्यो
- वि.सं. २०६८ को जनगणनामा जातजाति १२५ रहेकामा हाल १७ थपिएर नेपालमा कूल जातजातिको संख्या १४२ पुगेको छ
काठमाडौं - नेपालमा पछिल्लो दशकमा नेपाली भाषा बोल्ने जनसंख्या बढेको छ । २०६८ मा कुल जनसंख्याको एक करोड १८ लाख २६ हजार ९५३ जना नेपाली भाषा बोल्ने रहेकोमा यसपटक यसको संख्या झण्डै १२ लाखले बढेको छ ।
जनगणना २०७८ अनुसार नेपाली मातृभाषा बोल्नेको संख्या एक करोड ३० लाख ८४ हजार ४५७ पुगेको छ । कूल दुई करोड ९१ लाख ६४ हजार ५७८ मातृभाषीमध्ये नेपाली भाषा बोल्नेको संख्या यसपटक ४४.८६ प्रतिशत पुगेको राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यसअघि यस्तो संख्या ४४.६ प्रतिशत रहेको थियो ।
नेपालीपछि नेपालमा सबैभन्दा धेरै बोलिने भाषा मैथिली हो । जनगणना २०७८ अनुसार मैथिली भाषा बोल्नेको संख्या ३२ लाख २२ हजार ३८९ पुगेको छ । अघिल्लो जनगणनाको तथ्यांक हेर्ने हो भने मैथिली भाषा बोल्नेको संख्या पनि बढेको छ । यसैगरी भोजपुरी भाषा बोल्नेको संख्या यसपटक १८ लाख २० हजार ७९५ पुगेको छ । यसअघि भोजपुरी भाषा बोल्नेको संख्या १५ लाख ८४ हजार ९५८ मात्र थियो ।
यसपटक थारु भाषा बोल्नेको संख्या १७ लाख १४ हजार ९१ पुगेको छ । जनगणना २०६८ अनुसार थारु भाषा बोल्नेको संख्या १५ लाख २९ हजार ८७५ थियो । यसैगरी तामाङ भाषा बोल्नेको संख्या १४ लाख २३ हजार ७५ पुगेको छ । अघिल्लो जनगणनामा तामाङ भाषा बोल्नेको संख्या १३ लाख ५३ हजार ३११ थियो ।
जनगणना २०७८ अनुसार बज्जिका, अवधी, नेपाल भाषा, मगर धुत र डोटेली सर्वाधिक बोलिने भाषाको ‘टप टेन’ सूचीमा परेका छन् । यसपटक नेपाली, भोजपुरी, थारूलगायतको भाषा बोल्नेको जनसंख्या अनुपात बढ्दा मैथिली, तामाङ, डोटेली भाषा बोल्नेको जनसंख्याको अनुपात घटेको छ । नेपालमा मातृभाषाको संख्या १२४ रहेको कार्यालयले उल्लेख गरेको छ ।
कार्यालयका अनुसार २०६८ को जनगणनाबाट १२३ वटा मातृभाषामध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिको संख्या न्यून भएकाले ‘अन्य भाषा’अन्तर्गत समावेश गरी हाल नयाँ थप भएका १३ वटासमेत गर्दा जम्मा १२४ वटा मातृभाषा कायम भएका छन् ।
भाषा २०७८ २०६८ २०५८
नेपाली १३०८४४५७ ११८२६९५३ ११०५३२५५
मैथिली ३२२२३८९ ३०९२५३० २७९७५८२
भोजपुरी १८२०७९५ १५८४९५८ १७१२५३६
थारु १७१४०९१ १५२९८७५ १३३१५४६
तामाङ १४२३०७५ १३५३३१ १ ११७९१४५
बज्जिका ११३३७६४ ७९३४१६ २३७९४७
अवधि ८६४२७६ ५०१७५२ २३७९४७
नेपालभाषा ८६३३८० ८४६५५७ ८२५४५८
मगर धुत ८१०३१५ ७८८५३० ७७०११६
डोटेली ४९४८६४ - ७८७८२७
क्रिस्चियन, मुस्लिम बढ्दा हिन्दू बौद्ध घट्यो
तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना, २०७८ को विवरणअनुसार नेपालमा हिन्दू धर्मावलम्बीको संख्या ८१.१९ प्रतिशत अर्थात् दुई करोड ३६ लाख ७७ हजार ७४४ रहेको छ । २०६८ को जनगणनाअनुसार नेपालमा हिन्दू धर्मावलम्बीको संख्या ८१.३ प्रतिशत थियो । यसपटक हिन्दू धर्म मान्नेको संख्यामात्र होइन, बौद्ध धर्म मान्नेको संख्या पनि घटेको छ ।
दोस्रो स्थानमा रहेको बौद्ध धर्मावलम्बीहरुको संख्या ८.२ प्रतिशत कायम भएको छ । अर्थात् नेपालमा २३ लाख ९३ हजार ५४९ बौद्धमार्गी रहेको उल्लेख छ । २०६८ मा बौद्ध धर्मावलम्बीको संख्या नौ प्रतिशत थियो । तेस्रो स्थानमा रहेको इस्लाम धर्मावलम्बीको संख्या ५.०८ प्रतिशत अर्थात् १४ लाख ८३ हजार ६६ रहेको छ । इस्लाम धर्मावलम्बी मान्ने जनसंख्या योपटक बढेको छ । २०६८ मा इस्लाम धर्मावलम्बीको संख्या ४.४ प्रतिशत रहेकोमा बढेर ५.०८ पुगेको हो ।
यसैगरी किरात धर्मावलम्बीको संख्या ३.१७ प्रतिशत रहेको छ । यस्तो जनसंख्या नौ लाख २४ हजार २०४ रहेको तथ्यांकमा उल्लेख छ । किरात धर्मावलम्बीको संख्यामा पनि वृद्धि देखिएको छ । २०६८ मा किरात धर्मावलम्बीको संख्या ३.१ प्रतिशत थियो ।
त्यसैगरी क्रिस्चियन धर्मावलम्बीको संख्या १.७५ प्रतिशत कायम भएको छ । जसअनुसार नेपालमा क्रिस्चियन धर्म मान्नेहरुको संख्या पाँच लाख १२ हजार ३१३ जना पुगेको छ । जनगणना २०६८ मा क्रिस्चियन धर्मावलम्बीको संख्या नेपालको कूल जनसंख्याको १.४ प्रतिशत रहेकोमा यसपटक बढेर १.७५ प्रतिशत पुगेको हो ।
प्रकृति धर्म मान्नेको संख्या ०.३४ प्रतिशत रहेको छ । यसैगरी बोन धर्म मान्नेहरु ०.२३ प्रतिशत रहेका छन् । जैन धर्मावलम्बीको संख्या दुई हजार ३९८ रहेको छ । शिख धर्मावलम्बीको संख्या एक हजार ४९६ रहेको छ । साथै, बहाई धर्म मान्नेहरु ५३७ जना छन् ।
थपिए १७ जाति
नेपालमा कूल जातजातिको संख्या १४२ पुगेको छ । २०६८ को जनगणनामा जातजाति १२५ रहेकामा हाल १७ थप भएको राष्ट्रिय तथ्यांक कार्यालयले उल्लेख गरेको छ । तथ्यांकमा कुन–कुन जाति थापिएकोबारे स्पष्ट खुलाइएको छैन ।
जातिगतरुपमा सबैभन्दा धेरै क्षेत्रीको संख्या ४३ लाख ९८ हजार अर्थात् १६.४५ प्रतिशत छ । पहाडी ब्राह्मण ११.२९, मगर ६.९, थारु ६.२ र तामाङ ५.६२ प्रतिशत पुगेको छ । यस्तै विश्वकर्मा ५.०४ प्रतिशत छ भने मुसलमान ४.८६ प्रतिशत । परियार, गुरुङ, ठकुरी, मिजार, तेली, लिम्बु, चमार, हरिजन, राम, कोइरी र कुशवाहा जाति एक प्रतिशतभन्दा बढी छन् भने बाँकी एक प्रतिशतभन्दा कम छन् । सबैभन्दा थोरै जनसंख्या भएको जाति नुराङ ३६ जनामात्र पहिचान भएका छन् ।
जात २०७८ २०६८
क्षेत्री ४७९६९९५ ४३,९८,१७९
ब्राह्मण पहाडी ३२९२३७३ ३२२६,९०३
मगर २०१३४९८ १८८७७३३
थारु १८०७१२४ १७३७४७०
तामाङ १६३९८६६ १५३९८३०
विश्वकर्मा १४७००१० १३२११३३
मुसालमान १४१८६७७ १२५८५५४
नेवा १३४१३६३ ११६४२२५
यादव १२२८५८१ १०५४४५८
राई ६४०६४७ ६२०००४
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० १०:५३