काठमाडौं - नेपाल टेलिकम ले देशका दुर्गम तथा भौगोलिक रूपमा कठिन क्षेत्रमा सञ्चार पहुँच विस्तार गर्ने उद्देश्यले भिस्याट (VSAT) प्रविधिमार्फत सेवा विस्तार गरेको जनाएको छ।
कम्पनीले जारी गरेको जानकारीअनुसार स्याटेलाइटमा आधारित VSAT प्रविधि प्रयोग गरी दुर्गम बस्तीहरूमा मोबाइल, टेलिफोन तथा डाटा सेवा उपलब्ध गराइएको हो। चालु आर्थिक वर्षमा विशेषगरी हिमाली तथा पहाडी जिल्लाका विभिन्न स्थानहरूमा नयाँ साइट स्थापना गरेर सेवा विस्तार गरिएको उल्लेख छ।
हालसम्म देशभर करिब तीन दर्जनभन्दा बढी स्थानमा VSAT मार्फत सेवा सञ्चालनमा रहेको छ। तीमध्ये सबैभन्दा बढी साइटहरू डोल्पा जिल्लामा रहेका छन् भने मुगु, हुम्ला, मनाङ, ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, दार्चुला, बाजुरा लगायतका दुर्गम जिल्लाहरूमा पनि सेवा पुगेको टेलिकमले जनाएको छ।
दुर्गम क्षेत्रमा सडक तथा अन्य पूर्वाधारको अभावका कारण उपकरण ढुवानी गर्न कठिन हुने भए पनि हेलिकप्टरमार्फत सामग्री पुर्याई सेवा विस्तार गरिएको बताइएको छ। ती स्थानहरूमा लगानीबाट व्यावसायिक लाभ कम भए पनि सर्वसाधारणलाई सञ्चार पहुँचमा जोड्ने उद्देश्यले सेवा विस्तार गरिएको कम्पनीको भनाइ छ।
नेपाल टेलिकमले आगामी दिनमा यी साइटहरूलाई थप स्तरोन्नति गर्दै अन्य प्रविधिसँग पनि जोड्ने योजना बनाएको जनाएको छ। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई सञ्चार सेवामा पहुँच बढाउने लक्ष्यसहित यस्तो कार्यक्रम अघि बढाइएको हो।