
१४ दिनसम्म भेटघाट नगर्न अभिभावकसँग अपिल
काठमाडौं– कोरोना भाइरस प्रभावित चीनको वुहानबाट पहिलो चरणमा १८५ जना नेपाली विद्यार्थी उद्दार गरिँदैछ । त्यहाँ रहेका नेपालीको उद्दारका लागि शनिबार नेपाल एयरलाइन्सको चार्टर विमान त्यसतर्फ उडेको थियो । उनीहरूलाई आइतबार बिहान २ बजे नेपाल ल्याइपुर्याउँदै छ ।
वुहानबाट उद्दार गरिएको विद्यार्थीहरूलाई राख्नका लागि सरकारले भक्तपुरको खरीपाटीमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । जहाँ उनीहरूलाई १४ दिनसम्म राखिनेछ ।
नेपाली विमान पुग्नुअघि नै चीनको वुहान अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार १८५ जना नेपाली स्वदेश फर्कन जम्मा भएका थिए । उनीहरूको विमानस्थलमा पहिलो चरणको स्वास्थ्य परीक्षणमा संक्रमण नदेखिएको बताइएको छ । १८५ विद्यार्थीमध्ये कसैलाई पनि संक्रमण नदेखिएपछि सबै स्वदेश फर्किन पाउने भएका छन् । स्वास्थ्य समस्या भए, त्यही राखेर उपचार हुनेछ ।
१८५ मध्ये १४३ छात्र छन् भने तीनजना बच्चासहितका ४२ छात्रा रहेका छन् । उनीहरू सबै वुहान आसपासका सहरमा बस्दै आएका हुन् । चीङचउ, चीङमन, वनसी, शयान, यिथाङलगायत सहरबाट उनीहरू बस चढेर विमानस्थलमा आइपुगेका हुन् । कतिपय विद्यार्थी विभिन्न ठाउँको परीक्षण पार गर्दै एयरपोर्ट आइपुगेका हुन् । कतिपयले एयरपोर्ट आइपुग्न १२ घण्टाको बस यात्रा गरेका थिए । १८५ नेपालीमध्ये १७९ जना विद्यार्थी हुन् । एकजना कामदार भिसामा चीन गएका नेपाली रहेका छन् भने अन्य चारजना चीन घुम्ने क्रममा वुहान पुगेका थिए । उनीहरूको साथमा तीनजना बालबच्चासमेत भएको पइचिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणको स्वास्थ्य परीक्षणमा समस्या देखिएको छ्रैन । लामो कष्टपूर्ण दैनिकीबाट छुटकारा पाउने र स्वदेश फर्किने दिन आइपुगेपछि विद्यार्थीमा उत्साह देखिएको उनले बताए । ‘ढिला भए पनि सरकारले अभिभावकत्व निर्वाह गरेको अनुभव गरेका छौँ’, वुहान विमानस्थलमा रहेकी नेपाली विद्यार्थी प्रमिला देवकोटाले भनेकी छन्, ‘हामी सरकारले अगाडि सारेको मापदण्ड अनुसार नै नेपाल पुगेर बस्नेछौँ ।’