काठमाडौं - नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले राजनीतिक गुटबन्दीका कारण घेदुङ कमजोर बनेको बताएका छन् । शनिबार घेदुङको केन्द्रीय कार्यालयमा आयोजित छलफल तथा स्मारिका विमोचन कार्यक्रममा बोल्दै उनले घेदुङमा पार्टीगतरुपमा हस्तक्षेप नगर्न सरोकारवालालाई आग्रह गरेका हुन् ।
उनले तामाङ समुदायको सामाजिक, आर्थिक तथा राजनीतिक उत्थानका लागि तामाङ राष्ट्रिय मुक्ति क्रान्तिको विकल्प नभएको बताए । अध्यक्ष गोलेले गाउँ–गाउँमा घेदुङ अभियान सञ्चालन गरी अगाडि बढ्नुपर्नेमा जोड दिँदै घेदुङले सोहीअनुसार कार्यक्रम अघि बढाएको जानकारी दिए । यस्तै घेदुङको पहलमा तामाङ मातृभाषा शिक्षा कार्यक्रम १० वटा पालिकाका केही सामुदायिक विद्यालयमा लागू भइसकेको र केही विद्यालयमा लागू गराउन पहल गरिरहेको बताए ।
घेदुङका पूर्वअध्यक्ष पर्शुराम तामाङले तामाङ समुदायको साझा मुद्दालाई निःस्वार्थ भएर घेदुङले उठाउनुपर्ने बताए । घेदुङ तामाङ समुदायको एकमात्र राष्ट्रिय साझा संस्था भएकाले दलीय भागबण्डा गर्न नहुनेमा उनले जोड दिए । उनले निःस्वार्थरुपमा तामाङ समुदायको साझा मुद्दामा केन्द्रित हुन आग्रह गरे ।
पूर्वमन्त्री दावा तामाङले घेदुङको ग्रेन गे दिम (केन्द्रीय भवन) खरिद अभियानलाई तीव्ररुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । उक्त अभियानमा सबै सल्लाहकार तथा कार्यसमितिले आ–आफ्नो दायित्व पूरा गरे अभियान सफल हुने उनको भनाइ छ । पूर्वराज्यमन्त्री पर्शुराम तामाङले यो खरिद अभियानमा आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए । भवन खरिदका लागि घेदुङले हालसम्म ५७ लाख ६१ हजार रुपैयाँ आर्थिक संकलन भएको जनाएको छ ।
घेदुङकी सल्लाहकार एवं पूर्वसांसद शान्ती पाख्रिनले तामाङ जातिको यकीन तथ्यांक संकलनका लागि नामको पछाडि तामाङ अनिवार्य लेख्ने लेखाउने अभियान तामाङ घेदुङले चलाउनुपर्ने सुझाव दिइन् । तामाङ समुदायको साँस्कृतिक तथा सामाजिक कार्यहरुमा महिलाको सहभागिता न्यून रहेको भन्दै उनले समान सहभागिताका लागि सिर्जनात्मक अभियान चलाउन घेदुङलाई आग्रह गरिन् ।
कार्यक्रममा सल्लाहकारद्वय जयप्रसाद गोले र अधिवक्ता डा. कुन्साङ योञ्जनले पनि आ–आफ्नो धारणा राखेका थिए ।सोही कार्यक्रममा घेदुङको प्रकाशन ‘छार म्हेदो’को नयाँ अंकसमेत सार्वजनिक गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० ११:४४