
नुवाकोट– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकासका लागि नेपाल, चीन र भारतबीचको त्रिदेशीय साझेदारी रणनीतिमा जानुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले सोमबार विदुर नपा–७ तुप्चेमा आयोजित पोष्टबहादुर बोगटीको सालिक अनावरण तथा चण्डेश्वरी माविको ६१औँ अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममाउक्त भनाइ राखेका हुन् ।
अध्यक्ष दाहालले रेलमार्ग, हवाइमार्ग वा सडक मार्ग जे बनाएपनि नेपालको आर्थिक ‘कनेक्टिभिटी’का लागि त्रिदेशीय साझेदारीको आवश्यक रहेको बताए । उनले भने, ‘केरुङ नाका यता रहेकाले त्रिदेशीय कनेक्टभिटीबाट नुवाकोटले बढी लाभ लिन सक्छ ।’
अध्यक्ष दाहालले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा लुम्बिनी–ल्हासा रेलमार्गको कुरा चीनका तत्कालीन राष्ट्रपति हु जिन्ताओसँग राखेको स्मरण गर्दै अहिले रेलमार्गको कुरा धेरै अघि बढिसकेको बताए । उनले भने, ‘रेलसँगै केरुङ–ठोरी राजमार्गका विषयमा कुरा अघि बढिरहेको छ ।’
अध्यक्ष दाहालले नुवाकोटमा विकास पूर्वाधारको काम धेरै अघि बढिरहेको र आगामी दिनमा त्यसले अझै गति लिने विश्वास व्यक्त गरे । चण्डेश्वर माविको परिसरमा विद्यालयले निर्माण गरेको आफ्ना सहकर्मी नेता पोष्टबहादुर बोगटीको सालिक अनावरणमा निकै भावुक देखिएका अध्यक्ष दाहालले बोगटीको अभाव पार्टीलाई खड्किरहेको र त्योभन्दा बढी आफूलाई अभाव खड्किएको बताए । उनले भने, ‘पार्टीको उच्च नैतिकवान् नेताको परिचय बनाउनुभएको थियो बोगटीले । उहाँको अभाव पार्टीमा खड्किरहेको छ । पार्टीलाई भन्दा बढी मलाई अभाव खड्किएको छ । उहाँको अभावमा आफूले चाहेजस्तो कतिपय काम गर्न सकेको छैन ।’
उनले अन्य कमरेड पनि भएको बताउँदै उनको बेग्लै क्षमता भएको बताए । जहाँ पार्टीमा समस्या, विवाद र अप्ठ्यारो परिस्थिति आउने पनि बताए ।