
चितवन– प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई सरकारले प्रभावित बनाएको आरोप लगाएका छन् ।
भरतपुर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै ललितानिवास जग्गा प्रकरणको मुख्य नाइकेलाई छाडेर राजनैतिक पूर्वाग्रहले छानी छानी मुद्धा दायर गरेको आरोप लगाएका हुन् । नेता सिंहले अख्तियारले निष्पक्ष र स्वतन्त्र तवरले काम गर्न नसकेको बताए । आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारलाई राजनैतिक प्रतिशोधले मुद्धा चलाएको आरोप लगाए ।
उनले भने, ‘सुन्दै अचम्म लाग्ने कुरा क्याबिनेटको चिफ प्रधानमन्त्रीलाई केही नगर्ने, एउटाले फिर्ता गरे भनेर उन्मुक्ति पाउने अरुलाई छानीछानी मुद्धा लगाउने ? मुख्य नाइकेलाई केही नगर्ने अरुलाई छान्दै मुद्धा लगाउने गरेको देखियो , अख्तियारलाई सरकारले प्रभावित बनाएको छ ।’
जग्गा प्रकरणमा निर्णय गर्ने मन्त्रिपरिषदका प्रमुख प्रधानमन्त्रीलाई जोगाएर अरुलाई मुद्धा चलाउनु बदनियतपूर्ण काम रहेको उनले उल्लेख गरेका छन् । सिंहले अख्तियारको काम निश्पक्ष नभएको कारण आफूहरूले गर्नुपरेको पनि बताए । उनले गच्छादारलाई फसाउन खोजेको आरोप लगाए । सिंहले पार्टीको चौधौँ महाधिवेशनको तयारी सुरु गरिएको जानकारी दिए ।