
काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको संक्रमण अहिलेसम्म नदेखिएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै उनले भने, ‘अहिलेसम्म कोरोना भाइरस नेपालमा देखिएको छैन । तैपनि सम्भावित खतरालाई मध्येनजर गर्दै सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको छ ।’
कोरोना भाइरसबाट बच्नका लागि सरकारले लिएको पहलकदमीबारे उनले नेपालमा चीनबाट फर्किएका १३ विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएपनि परीक्षणपछि नेगेटिभ नतिजा आएको बताए । उनले भने, ‘सन् २०२० जनवरी ९ मा चीनको वुहान प्रान्तबाट पढेर आएका १३ विद्यार्थीमा परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो, तर पछिल्लो समयमा परीक्षण गर्दा सबैमा नेगेटिभ देखिएको छ । नेपालमा अहिलेसम्म यो भाइरसको संक्रमण देखिएको छैन ।’
नेपालमा उक्त भाइरसलाई प्रवेश गर्नै नदिन प्रधानमन्त्री केपी शर्मा ओलीे नेतृत्वको मन्त्रिस्तरीयको बैठक दुईपटक बसिसकेको उनले जानकारी गराए । मन्त्री ढकालले उक्त भाइरसबाट सतर्क रहनका लागि विज्ञापन सामग्री बनाएको र प्रत्येक दिन बेलुका सञ्चारकर्मीसँग ब्रिफिङ गर्ने तयारीसमेत गरेको बताए ।
नेपालको मित्रराष्ट्र चीनको वुहान प्रान्तमा ३१ डिसेम्बरमा पहिलोपटक फैलिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्तमा तथा विश्वका २३ मुलुकमा फैलिएको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा अहिले १७ हजार ३५१ मा सो भाइरस देखिएको छ । त्यसमध्ये १७ हजार भाइरस चीनकै नागरिकमा देखिएको छ । सो भाइरसका कारण चीनमा ३६२ को मृत्यु भएको छ । मृत्यु हुनेमा ३६१ चीनमा र चीनबाटै गएका एक नागरिकको फिलिपिन्समा मृत्यु भएको हो ।
मन्त्री ढकालले सरकारले कोरोना भाइरसका बारेमा आम नागरिकलाई सचेतनाका लागि रुघाखोकी लागेको व्यक्तिसँग नजिक नजाने र साबुनपानीले हात धुनेबारेमा जानकारी दिए । उनले भने, ‘सरकारले कोरोना भाइरसबाट बच्ने तयारी गरिरहेको छ, सोमबारको मन्त्रिपरिषद्को बैठकले पनि त्यसकै विषयमा गम्भीर छलफल गर्याे । अरु रोगभन्दा फरक खालको छ, बिरामी सिकिस्त देखिँदैन ।’ उनले दुईदेखि १४ दिनसम्म संक्रमित हुनसक्ने भन्दै बिरामीका बारेमा समाजमा पत्ता नलाग्न पनि सक्ने हुनाले उच्च सावधानी अपाउनुपर्नेमा जोड दिए ।