

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै मिर्गौला फेर्न लागेको बताएका छन् । लामो समयदेखि मिर्गौलापीडित प्रधानमन्त्री ओली भने, ‘निकट भविष्यमै एउटा मिर्गौला प्रत्यारोपण गर्न गइरहेको छु ।’
प्रधानमन्त्री ओलीले विभिन्न मिडियाका सम्पादकहरूसँगको छलफलमा यस्तो बताएका हुन् । त्यसो त यसअघि नै उनलाई चिकित्सकले मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिइसकेका छन् । करिब १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले हाल नियमित डायलासिस गर्दै आएका छन् ।
केही सयमअघि मात्र उनले सिंगापुरमा उपचार गराएका थिए । त्यसपछि काठमाडौंकै ग्राण्डी इन्टरनेशनल अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जमा पटक–पटक उपचार गरिसकेका छन् । तर, अब डायलसिसले मात्र काम नदिने उनी निष्कर्षमा पुगको छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरूसँग कुराकानी गर्दै प्रधानमन्त्रीले निकट भविष्यमै आफ्नो एउटा मिर्गौला फर्ने बताएका थिए । यसको मतलव अब उनले मिर्गौला प्रत्यारोपण गर्नै पर्नेछ ।
प्रधानमन्त्री ओली पहिला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र आफूले आलो–पालो सरकारको नेतृत्व गर्ने सहमति भएको भए पनि दाहालकै प्रस्तावमा राजनीतिक स्थायित्वका लागि आफूले ५ वर्ष सरकार चलाउने सहमति भएको जानकारी गराएका थिए । उनले भने, ‘अझै तीन वर्ष खटिएर काम गर्नका लागि मैले डायलासिस गरिरहनुको साटो एउटा मिगौला नै फेर्न लागेको हुँ ।’
सम्पादकहरूसँगको छलफलमा उनी निकै गम्भीर देखिएका थिए । प्रधानमन्त्री ओलीले सम्पादकहरूको एक प्रश्नमा भने, ‘बलिङ गरिसकेपछि ब्याटिङ त गर्नै पर्याे ।’ मिर्गौलाको नियमित उपचार गर्दै आए पनि उनी सरकारको कामकाजमा सक्रिय हुँदै आएका छन् । प्रधानमन्त्री ओलीले आफू सधैं देशका लागि चिन्ता गर्ने बताउँदै भने, ‘म समृद्ध नेपालका लागि डटिरहेको छु । यसका लागि मिडियाका साथीहरूको समर्थन आवश्यक छ ।’